आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कलैयामा प्रमुख/उपप्रमुखसहित सम्पूर्ण जनप्रतिनिधिले दिए राजीनामा

शनिबार, १० वैशाख २०७९, १० : ३६
शनिबार, १० वैशाख २०७९

कलैया उपमहानगरमा नगरप्रमुख/उपप्रमुख सहित सम्पूर्ण नगरसभा सदस्यले एकमुष्ट राजीनामा दिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दिनका लागि नगरप्रमुख राजेश राय यादव, उपप्रमुख रहीमा खातुन सहित २७ ओटा वडाका १ सय ३६ जना जनप्रतिनिधिले एकमुष्ट राजीनामा बुझाएका हुन् ।

कलैया उपमहानगरको १ सय ३९ जना नगरसभा सदस्यहरू मध्ये  छुटेका ३ जनाले शनिबार राजीनामा बुझाउने जनाएको प्रमुख प्रशासकीय अधिकृत नाथु साहले जनाएका छन् । जनप्रतिनिधिहरूले आज प्रशासकीय प्रमुख साहलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । अधिकृत साहले पुनः निर्वाचनमा उठ्न इच्छुक जनप्रतिनिधिहरूले आफ्नो सवारी साधन सहित राजीनामा बुझाएको बताए । 

केन्द्रमा सत्ता गठबन्धनको निर्णय बाट कलैया उपमहानगर काँग्रेसको भागमा परेपछि हालमा नगरप्रमुख रायले पुनः नगरप्रमुखको दाबी गर्दै  आएका छन् । नगरप्रमुख रायले टिकटको निश्चित नभए पनि सबै वडाध्यक्ष र वडा सदस्यले राजीनामा दिएकोले आफूले पनि दिएको बताए  । ‘पार्टीको नेता कार्यकर्ताले बस्न खान दिएको छैन, अव पार्टीले कसलाई प्रमुखमा टिकट दिन्छ हेरौँ म पनि एउटा दाबेदार त हुँ,’ नगरप्रमुख रायले भने, ‘नगरप्रमुखमा टिकट पाए लड्छु नपाए पार्टी सभापति मै बस्छु’ । २०७४ को निर्वाचनमा कलैया उपमहानगर प्रमुख/उपप्रमुख दुवै काँग्रेसले जितेको थियो । यसपटक सत्तारुढ गठबन्धनको तर्फबाट प्रमुख काँग्रेसको भागमा र उपप्रमुख जनता समाजवादी पार्टी (जसपा) को भागमा परेको छ । 

जीतपुर सिमरामा २० जना जनप्रतिनिधिले दिए राजीनामा

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जीतपुर सिमरा उपमहानगर २ जना वडाध्यक्ष सहित २० जना जनप्रतिनिधिले मात्रै राजीनामा दिएका छन् । उम्मेदवारी दर्ताका लागि सोमवार सम्म समय  रहेको भन्दै अधिकांश जनप्रतिनिधिले आइतबार मात्रै राजीनामा दिने जनाएका छन् । जीतपुर सिमरा वडा नं १० का वडाध्यक्ष सरोज यादव र वडा नं २० का वडाध्यक्ष रसुल मियाँ अन्सारी सहित २० जना जनप्रतिनिधिले मात्रै आज राजीनामा दिएको उपमहानगरपालिकाले जनाएको छ ।अगामी निर्वाचनमा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको दाबेदार रहेकी उपप्रमुख सरस्वती चौधरीले भने आइतबार मात्रै राजीनामा दिने बताएकी छिन् । हालका  नगरप्रमुख डा. कृष्ण पौडेल भने स्वास्थ्य समस्या कारण अव कुनै पनि निर्वाचनमा भाग नलिने जनाएका छन् । जीतपुर सिमरा उपमहानगरमा  प्रमुख/उपप्रमुख सहित २४ ओटा वडामा १ सय ३० जना जनप्रतिनिधि रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप