आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उम्मेदवार छनोटको रस्साकस्सी : कस्ता कस्ता व्यक्ति खोज्दैछन् दलहरु ?

शनिबार, १० वैशाख २०७९, १२ : ५७
शनिबार, १० वैशाख २०७९

उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिनसम्म पनि धेरैजसो राजनीतिक दलहरुले आफ्नो उम्मेदवार छान्न सकेका छैनन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सवै राजनीतिक दलहरु निर्वाचन घोषणा भएदेखि नै आ–आफ्नो पार्टीका उम्मेदवारको खोजीमा जुटेपनि आकांक्षीहरुको व्यवस्थापन र विपक्षीले बनाउने रणनीतिलाई मध्यनजर गर्दै अन्तिम समयमा मात्रै निर्णयमा पुग्ने भएका हुन् ।

निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवार मनोनयन गर्ने समयसीमा तोकेको र समय नजिकिएका कारण पनि दलहरु आफ्नो पार्टीभित्र उक्त समय सीमाभित्र उम्मेदवार बन्ने व्यक्ति छनोट गर्नैपर्ने दवावमा छन् । प्रमुख पार्टीहरुले महानगर र उपमहानगरको उम्मेदवार केन्द्रीयस्तरबाटै छनोट गर्ने नीति बनाएका छन् । तर नगर र गाउँपालिकाको हकमा सम्बन्धित पार्टी कमिटीको सिफारिसमा जिल्ला र प्रदेश कमिटीलाई उम्मेदवार छान्न अधिकार प्रत्यायोजन गरेका छन् । कतिपय पार्टीले जिल्ला र प्रदेशमा सहमति जुट्न नसके अन्तिम विकल्पका रुपमा नगर र गाउँपालिकाका प्रमुख उपप्रमुख केन्द्रबाटै तोक्ने पनि बताएका छन् । यो निर्वाचनमा सत्तारुढ पाँच दल र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने विश्लेषकहरू बताउँछन् ।

सत्तारुढ दलले गठबन्धनका उम्मेदवारलाई पहिलो प्राथमिकतामा राख्ने सैद्धान्तिक सहमति गरेपनि धेरैजसो स्थानमा गठबन्धनबीच नै कुरा नमिल्दा कतिपय पालिकामा गठबन्धनभित्रै स्वच्छ प्रतिस्पर्धा गर्ने दलहरुको तयारी छ । गठबन्धनको रणनीति बुझेको एमालेले पनि साना दलको सहयोग लिएर चुनावी प्रतिस्पर्धा गर्ने तयारी थालेको छ । काँग्रेस एमालेले महानगर र उपमहानगरको हकमा केन्द्रबाटै शनिबार सम्म उम्मेदवार टुङ्ग्याउने गृहकार्य गरिरहेका छन् । त्यसका लागि दुवै दलको आज बैठक बस्दै छ ।

गठबन्धनको भागबण्डा

६ महानगर र ११ उपमहानगरमा पाँच दलीय गठबन्धनले यसअघि नै भागबण्डाका आधारमा प्रमुख र उपप्रमुखको साझा उम्मेदवार बनाउने सहमति गरिसकेका छन् । दलहरुले महानगर र उपमहानगरको भागबण्डा गरेपनि उम्मेदवार छनोट गर्न भने सकिरहेका छैनन् । ६ महानगरमध्ये काँग्रेसको भागमा परेका तीन महानगर काठमाडौ, ललितपुर र विराटनगरमध्ये काठमाडौमा काँग्रेस नेता प्रकाशमान सिहंपत्नी सिर्जना सिंहलाई अघि सारेको छ भने ललितपुरमा चिरिबाबु महर्जनसहित सिफारिस भएका अन्य नामहरूका बारेमा छलफल गरिरहेको छ ।

त्यस्तै विराटनगर महानगरको मेयरका लागि पनि झण्डै दुई दर्जन नाम सिफारिस भएपनि काँग्रेसले टुङ्गो लगाइसकेको छैन । विराटनगरमा काँग्रेसका तर्फबाट डीला संग्रैला, भीम पराजुली र नागेश कोइरालालगायत सिफारिस भएपनि निर्णय भैसकेको छैन । यता गठबन्धन अन्य दलको भागमा परेका चितवनमा माओवादीबाट रेनु दाहाल र पोखरामा धनराज आचार्य नेकपा समाजवादीले अघि सारेको छ भने जसपाको भागमा परेको वीरगञ्जमा राजेन्द्रमान सिंहलाई अघि सार्ने तयारी छ । उपमेयरको हकमा भने गठबन्धनको क्लियर पिक्चर आइसकेको छैन । त्यस्तै ११ उपमहानगरका मेयर उपमेयरबारे पनि गठबन्धनमा टुंगो लागिसकेको छैन ।

यी हुन् एमालेका सम्भावित उम्मेदवार

नेकपा एमालेले महानगर र उपमहानगरको मेयर उपमेयरको टुङ्गो शनिबार बेलुकासम्म टुंगो लगाउने दावी गरेको छ । त्यसका लागि शनिबार दिउसो ३ बजे सचिवालय बैठक बोलाएको छ । एमाले नेताहरुका अनुसार शनिबार ६ महानगर र ११ वटा उपमहानगरसहित प्राय सवै स्थानीय तहका उम्मेदवार तय भइसक्नेछन् ।

 एमालेले चितवनमा विजय सुवेदी, वीरगञ्जमा विजय सरावगी र ललितपुरमा हरिकृष्ण व्याञ्जनकारलाई अघि सारेको छ ।काठमाडौ, पोखरा र विराटनगरमा मेयर उपमेयरका आकाक्षी धेरै भएकाले एमालेलाई निर्णयमा पुग्न केही कठिन भएको छ । साझा विवेकशील साझा पार्टी, लोसपा, राप्रपा लगायतका दलहरु पनि उम्मेद्वार छनोटमा व्यस्त छन् । विवेकशीलले काठमाडौ र ललितपुरमा आफ्नो पार्टीका उम्मेदवार घोषणा गरिसकेको छ । यो पार्टीले काठमाडौको मेयर र उपमेयरमा क्रमश समिक्षा बास्कोटा र कीति तुलाधरलाई उम्मेदवार घोषणा गरिसकेको छ । त्यस्तै ललितपरको मेयरमा उज्जलकृष्ण श्रेष्ठलाई उम्मेदवार घोषणा गरिसकेको छ । विवेकशीलले अन्य नगरहरुमा पनि धमाधम उम्मेदवार तय गर्दैछ ।

कस्ता उम्मेदवार खोज्दैछन् दलहरु ?

राजनीतिक दलहरुले उम्मेदवारको टुंगो लगाउदै गर्दा मतदाताहरु भने कुन दलले कस्ता उम्मेदवार उठाउँछन् भनेर नियालिरहेका छन् । सुशासन, विकास र जनताका काम गर्नसक्ने उम्मेदवार भैदिएहुन्थ्यो भन्ने जनताको चाहाना प्रकट भैरहेपनि दलहरुले सुशासन र विकास भन्दा पनि जसरी पनि चुनाव जित्नसक्ने व्यक्तिलाई उम्मेदवार बनाउन खोजिरहेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेता विष्णु पौडेल आफ्नो पार्टीले उम्मेदवारका लागि बनाएको मापदण्डअनुसार नै उम्मेदवारहरू छनोट गर्ने काम भैरहेको बताउँछन् । ‘जित्ने र टिक्ने उम्मेदवार एमालेका हुन्छन्’,पौडेलको भनाइ छ । त्यस्तै काँग्रेसका नेता तथा सत्ता गठबन्धनको वागमती प्रदेश संयन्त्रका संयोजकसमेत रहेका इन्द्र बानियाँ आफ्नो पार्टीले उम्मेदवारका लागि तीनवटा मापदण्ड बनाएको बताउछन् । ‘व्यक्ति आफ्नो लोकप्रियता, पार्टीभित्रको सक्रियता, निरन्तरताभित्र गरेको धैर्यताको मूल्याङ्कनका आधारमा काँग्रेसले उम्मेदवार छान्छ’, बानियाँको भनाइ छ । माओवादी केन्द्रका नेता देव गुरुङले पनि उम्मेदवार बन्ने मापदण्ड पार्टीले किटान गरेको र सोहीअनुसार छनोटको काम भइरहेको बताए ।

माओवादी केन्द्रले उम्मेदवार छनोटको ६ मापदण्ड बनाएको भन्दै उनले ‘विशेष परिस्थितिबाहेक सामान्यतया विगतका जनप्रतिनिधिलाई नदोहोर्‍याउने, देश जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको,स्वच्छ छवि भएको, विजयको सम्भावना भएको, पार्टी अनुशासनप्रति निष्ठावान भएको र समानुपातिक समावेशी प्रतिनिधित्वको आधारमा’, उम्मेदवार छनोट गर्ने बताए । त्यसैगरी लोसपाका नेता लक्ष्मणलाल कर्णले जनताकाबीचमा लोकप्रिय र चुनाव पनि जित्नसक्ने व्यक्तिलाई उम्मेदवार बनाउने आफ्नो पार्टीको नीति रहेको बताए । ‘लोकप्रियता पनि हेरिन्छ र चुनाव पनि जित्ने व्यक्ति हुन्छन्’, कर्णको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप