सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धर्तीको त्यो खजाना जसका लागि भविष्यमा सुरु हुनसक्छ युद्ध

शनिबार, १० वैशाख २०७९, १४ : ३०
शनिबार, १० वैशाख २०७९

तेल र ग्यास यतिबेला संसारभरी विभिन्न विवादको कारण बनेको छ तर भविष्यमा यो होड केही अन्य खनिजका लागि पनि हुनसक्छ ।

कुरा आठ मार्चको हो । बिहान ५ बजेर ४२ मिनेटमा निकलको मूल्य यति तीब्र गतिमा बढ्न सुरु भयो कि लण्डन मेटल एक्सचेन्जमा हलचल मच्चियो ।

१८ मिनेट भित्रै निकलको मूल्य एक लाख डलर प्रति टन पुगेको थियो । यसका कारण निकलको काम रोक्नुसमेत पर्यो ।

यस्तै, यो रेकर्ड तोड्नु अघि नै निकलको मूल्यमा पछिल्लो २४ घण्टामा २५० प्रतिशतको वृद्धि भएको थियो ।

रुसले युक्रेनमाथि हमला गरेपछि बजारमा धातुको ठूलो संकट पैदा भएको थियो ।

आकासिएको मूल्यवृद्धिका कारण भनेको पश्चिमी देशले रुसामथि लगाएको प्रतिबन्ध मानिएको छ । यसले स्पष्ट पारेको छ कि निकलजस्तो धातु संसारमा महत्वपूर्ण भएको छ । यो कम प्रदुषणयुक्त अर्थव्यवस्थातर्फ बढ्नका लागि महत्वपूर्ण छ ।

रुस ग्यास र तेलको एउटा ठूलो आपूर्तिकर्ता हो । रुस–युक्रेन युद्धका बेला युरोपेली देशको ग्यास र तेलका लागि रुसमाथि निर्भरताले देखाउँछ कि इन्धन पनि एउटा हतियारको रुपमा प्रयोग हुनसक्छ ।

युक्रेनमाथि हमला रोक्नका लागि अमेरिका र उसको सहयोगी देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएको छ । तर यति हुँदाहुँदै पनि युरोप रुसबाट तेल र ग्यास खरिद गर्नका लागि बाध्य छ ।

राष्ट्रपति जो बाइडेनले ३१ मार्चमा भनेका थिए, ‘अमेरिकामा बनेको स्वच्छ ऊर्जाले हाम्रो राष्ट्रिय सुरक्षालाई सुरक्षित राख्न मद्दत मिल्नेछ ।’

उनले भने, ‘हामीले भविष्य निश्चित गर्ने चिजका लागि चीन र अन्य देशमाथि लामो समयदेखि चल्दै आइरहेको निर्भरता समाप्त गर्न आवश्यक छ ।’

जो बाइडेनले यसअघि इलेक्ट्रिकल ब्याट्रीको निर्माण र नविकरणीय ऊर्जा भंडारणका लागि प्रयोग हुने खनिजको स्थानीय उत्पादन र प्रशोधनमा सहयोगका लागि रक्षा उत्पादन कानून लागू गर्नेबारे घोषणा गरेका थिए ।

ह्वाइट हाउसले दिएको जानकारी अनुसार खनिजमा लिथियम, निकल, ग्रेफाइट, म्यागनिज र कोबाल्ट समावेश छ ।

रुसको ऊर्जा हतियारः

तर आफ्नो आवश्यकताको हिसाबले हरेक देशका लागि भिन्न भिन्न खालका खनिजको महत्व छ ।

तेल, ग्यास र कोइलाको आपूर्तिमा महत्वपूर्ण भूमिका निभाउने देशका लागि भोलि गएर प्रतिस्पर्धामा पछाडि रहने खतरा छ ।

उदाहरणका लागि रुस जसको आर्थिक शक्ति मुख्यरुपमा जिवाश्म इन्धनमा निर्भर हुन्छ, त्यो संसारको सबैभन्दा दोस्रो ठूलो ग्यास उत्पादक हो र तेस्रो सबैभन्दा ठूलो तेल उत्पादक ।

यद्यपि, भविष्यमा खनिजका लागि हुने होडमा रुसलाई फाइदा मिल्नसक्छ । किनभने रुस कोबाल्ट र प्लेटिनमको विश्वको दोस्रो ठूलो र निकलको तेस्रो ठूलो आपूर्तिकर्ता हो ।

भलै रुससँग केही खनिज धेरै होला तर विशेषज्ञका अनुसार यी महत्वपूर्ण खनिज अन्य देशमा पनि पाइन्छन् । विश्वमा रहेका कोबाल्टको सबैभन्दा धेरै हिस्सा रिपब्लिक अफ कङ्गो, निकलको इन्डोनेशिया, लिथियमको अष्ट्रेलिया, तामाको चिले र दुर्लभ खनिज चीनबाट निकालिन्छ ।

विशेषज्ञ संसारमा ऊर्जा परिवर्तनका लागि कम्तीमा १७ खनिजलाई महत्वपूर्ण मान्छ । त्यसैले जुन देशले यी खनिजलाई निकाल्न र प्रशोधित गर्ने क्षमता राख्छ, उनीहरुलाई बढी फाइदा हुनेछ ।

अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीको अनुमान अनुसार यी १७ खनिजमा सबैभन्दा धेरै महत्वपूर्ण भनेको लिथियम, निकल, कोबाल्ट, तामा, ग्रेफाइट र रेयर अर्थ हो ।

यसको उत्पादनमा कुन–कुन देश अघि ?

अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीमा विशेषज्ञ ताए–युन–किमका अनुसार सन् २०४० सम्म यी खनिजको माग तीब्र रुपमा बढ््नेछ ।

ऊर्जा परिवर्तनले कुन देशलाई सबैभन्दा हुन्छ भनेर ताए–युन–किम दुई हिस्सामा बाँड्छन् । एक त त्यो देश जहाँ यी खनिज प्रचुर मात्रामा पाइन्छन् र दोस्रो भनेको यसलाई प्रशोधन गर्न सबैभन्दा अघि ।

जहाँसम्म खनिजको प्रचुरता र त्यसलाई निकाल्ने कुरा आउँछ तब त्यसमा थुप्र्रै देश अघि छन् । तर खनिजलाई प्रशोधन गर्नमा चीनको वर्चस्व छ ।

विशेषज्ञले बीबीसीसँगको कुराकानीमा भने, ‘ऊर्जा परिवर्तनले कुन देशलाई सबैभन्दा बढी फाइदा हुन्छ, यो भन्न मुश्किल छ । उनीहरु उत्पादन श्रृङ्खलामा कुन स्थितिमा छन् भन्ने कुरामा यो निर्भर हुन्छ ।’

तर एउटा कुरा स्पष्ट छ कि हामी एक महत्वपूर्ण मोडमा छौँ । जहाँ तेलले २० औँ शताब्दिको इतिहासमा सबैभन्दा महत्वपूर्ण निभाएको छ,  त्यहाँ ऊर्जा परिवर्तनको खनिज २१ औँ शताब्दिको इतिहासमा महत्वपूर्ण भूमिका निभाउनेछन् ।

त्यसैले विशेषज्ञका भन्छन्, ‘यो भविष्यको खनिज हो ।’

चार सबैभन्दा महत्वपूर्ण धातुः

भलै इलेक्ट्रिक ब्याट्रीमा धातुको आवश्यकता हुन्छ तर ती औद्योगिक गतिविधिका लागि विभिन्न खालका ऊर्जालाई संग्रहित गर्नमा पनि महत्वपूर्ण हुन्छन् ।

जर्मन इन्स्टिच्युट फर इकोनोमिक रिसर्चका अनुसन्धानकर्ता लुकास बोअर भन्छन्, ‘यदि यी धातुको माग अनुसार आपूर्ति भएन भने त्यसको मूल्यले आकाश छुन थाल्छ ।’

लुकास बोअर एन्डिया पेसकातोरी र मार्टिन स्टरमरसँग अघिल्लो वर्षको अन्तमा एक शोध प्रकाशित भएको थियो – ‘द मेटल्स अफ द एनर्जी ट्रान्जिसन’ अध्ययन ।

बोअरका अनुसार यस मामलामा एक महत्वपूर्ण कारक यी धातुहरुको निकासीको प्रक्रिया हो । वास्तवमा, यी धातु निकाल्नका लागि सुरु हुने उत्खनन परियोजना पूर्ण रुपमा सञ्चालन हुन एक दशक (औसतमा १६ वर्ष) सम्मको समय लाग्छ । त्यसैले भविष्यमा यी धातुको थप कमी हुनसक्छ ।

शोध अनुसार रेयर अर्थका साथै चार सबैभन्दा महत्वपूर्ण धातु निकल, कोबाल्ट, लिथियम र तामा हो । यसको मूल्य लामो समयसम्म ऐतिहासिक रुपमा बढिरहेको छ । अन्तरराष्ट्रिय बजारमा केही दिनका लागि बढ्ने र त्यसपछि फेरि घट्ने खालको सामान्य वृद्धि यो होइन ।

यी चार धातुको उत्पादकले अबको २० वर्षका लागि तेल क्षेत्रको बराबर कमाई गर्न सक्छ ।

बोअर भन्छन्, ‘यी धातु नयाँ तेल हुनसक्छ र चीन कोबाल्टको उत्पादन भएको कंगोमा लगानी गरेर सबैभन्दा ठूलो खेलाडी बनेको छ ।’

पश्चिमी देश पछि पर्ने डरः

युद्धको नयाँ परिस्थितिमा जब पश्चिमी देशहरुले आफ्नो ऊर्जा निर्भरतालाई कम गर्न आवश्यक छ, त्यहाँ यस्ता देशहरु पनि छन् जसले यस बढ्दो आवश्यकताको केही अंश आपूर्ति गर्न सक्छ ।

ब्लूमबर्गएनईएफ रिसर्च सेन्टरमा धातु र उत्खनन प्रमुख क्वासी एमपोफोका अनुसार चीनले यो परिवर्तनबाट फाइदा लिएर सबैभन्दा राम्रो स्थितिमा छ ।

उनले भने, ‘यदि चीन रुसको धातु उत्पादनलाई आफ्नो रिफाइनरीमा ल्याएर अन्य देशलाई बेच्न सफल हुन्छ भने ऊ यो परिवर्तनको बिजेता बन्न सक्छ ।’

यद्यपि, यो मामिलामा अन्य देश पनि मैदानमा छन् । निकलको कुरा गर्ने हो भने इन्डोनेशिया पछिल्लो दुई वर्षदेखि आफ्नो उत्पादन क्षमता बढाइरहेको छ । रुसबाट हुने कमीलाई पूरा गर्नका लागि पछि पनि यसलाई बढाइनेछ ।

निकल यस्तो धातु हो जो रुस–युक्रेन युद्धबाट सबैभन्दा बढी प्रभावित भएको छ । रुस यस्तो देश हो जुसले यसको विश्वव्यापी उत्पादनको ९ प्रतिशत उत्पन्न गर्छ ।

यस्तै अर्कोतर्फ, यदि प्लेटिनम समूहको धातुको कमी हुन्छ भने दक्षिण अफ्रिकी उत्पादकले त्यो कामीलाई पूरा गर्न सक्छ ।

भविष्यमा धातुको नियन्त्रण गर्ने लडाईंमा यस्ता पक्ष छन् जसमा चीन अघि छ ।

यस्तो स्थितिमा यदि पश्चिमी देश तीब्र रुपमा अघि बढ्न सकेन भने उनीहरु पछि पर्ने खतरा निम्तिन सक्छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप