सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचन : हेटौंडाको मेयरमा एमाले र एमाले छाडेकाबीच भिडन्त

सोमबार, १२ वैशाख २०७९, ०९ : ३५
सोमबार, १२ वैशाख २०७९

 वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमाले र सत्तारुढ गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित भएको छ । हेटौंडाको मेयर पदमा एमालेले ‘हेभी वेट’ नेता संविधानसभा सदस्य अनन्त पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने सत्तारुढ गठबन्धनले बहालवाला उपमेयर मीनाकुमारी लामालाई उम्मेदवार बनाएको छ ।

२०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सदस्य पौडेल एमालेभित्र बौद्धिक नेताको रुपमा चिनिन्छन् । यता सत्तारुढ ५ दलीय गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको तर्फबाट साझा उम्मेदवारको रुपमा हेटौंडाको मेयर पदमा बहालवाला उपमेयर लामा चुनाव लड्ने तयारीमा छिन् ।

५ वर्ष उपमेयर चलाएको अनुभव र हेटौंडाको विकासमा बहालवाला मेयर हरिबहादुर महतको भिजन, योजना र कार्यशैलीलाई नजिकबाट नियाल्ने अवसर पाएकी लामाले आगामी निर्वाचनमा हेटौंडालाई आर्थिक उन्नतीको बाटोमा डो-याउँदै स्मार्ट सिटीको रुपमा विकास गर्ने उद्देश्य अनुसार मेयर पदमा उम्मेदवारी दर्ता गराउँदैछिन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयर/उपमेयरसहित १९ वटा वडामध्ये १२ वटामा एमालेले जितेको थियो । अन्य ७ वटामध्ये ५ वटामा काँग्रेस र २ वटामा माओवादी केन्द्रले जितेको थियो ।

माओवादी केन्द्रले जितेको २ वटा वडामध्ये एउटा वडाको वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् भने एमालेका एक वडाध्यक्ष नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् ।

२०७० को स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयर र उपमेयर पदमा एमालेविरुद्ध काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । सो निर्वाचनमा काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर चुनावी तालमेल गरेको थियो ।

निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले जित हात पारेको थियो । हेटौंडाको मेयरमा एमालेका हरिबहादुर महतले जितेका थिए । महतले २३ हजार १२४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत ल्याएका थिए ।

यता हेटौंडाको उपमेयर पदमा एमालेकी मीनाकुमार लामाले माओवादी केन्द्रका बलराम बललाई हराएकी थिइन् । लामाले २३ हजार ४३७ मत ल्याउँदा बलले १७ हजार ११ मत ल्याए । हाल लामा एकीकृत समाजवादीमा आवद्ध छन् भने बल नेकपा एमाले प्रवेश गरेका छन् ।

उनै लामालाई आगामी निर्वाचनमा एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनको तर्फबाट मेयर पदको टिकट दिएको छ । एमाले छाडेर एकीकृत समाजवादीमा आवद्ध हुनेमा हेटौंडामा कयौं चर्चित नेता छन् । बहालवाला स्वास्थ्य मन्त्री विरोध खतिवडा, प्रदेशसभा सदस्य मुनु सिग्देल पनि एमाले विभाजनपछि एकीकृत समाजवादीमा आएका हुन् । मन्त्री खतिवडा तत्कालीन एमालेमा केन्द्रीय सदस्य थिए भने सिग्देल मकवानपुर जिल्ला अध्यक्ष थिइन् । त्यस्तै एमाले मकवानपुरका तत्कालीन सचिव श्रीधर पोखरेल पनि एकीकृत समाजवादीमा आएका छन् ।

योसँगै हेटौंडामा एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीमा एमाले पृष्ठभूमिका नेता तथा कार्यकर्ताको उपस्थिति राम्रो छ । आसन्न निर्वाचनमा हेटौंडा उपमहानगरमा एमालेका पौडेल र एमालेबाट एकीकृत समाजवादीमा गएकी लामाबीच प्रतिस्पर्धा हुने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप