ब्याटल ग्राउन्ड सप्तरी : उपेन्द्रको अनुहारमा गजेन्द्रको ‘विरासत’
नेत्र पन्थी र एसके यादव
राजविराज, सप्तरी– राजविराज बजारको मुख्य भागमा गजेन्द्र नारायण चोक छ र चोकमा गजेन्द्रको शालिक । शालिकको वरिपरि गोलो पर्खाल छ । यो पर्खालमा टाँसिएको छ– उपेन्द्र यादवको तस्बिर । न गजेन्द्रका शालिक बोल्छ न त उपेन्द्रको तस्बिर नै । तर, यी दुवै एकै ठाउँ देखिनुको निकै ठूलो सन्देश छ ।
यहाँका स्थानीय बुद्धिजीवी, राजनीतिकर्मी र सचेत मतदाता गजेन्द्रका शालिक र उपेन्द्रको तस्बिरमा गजेन्द्रको राजनीतिक अनुहार देख्न थालेका छन् । सप्तरीका पत्रकार श्याम सुन्दर यादव भन्छन्– ‘उपेन्द्र यादव चुनाव लड्न सप्तरी आएपछि यहाँका जनताले गजेन्द्र नारायण सम्झेका छन् ।’
गजेन्द्रनारायण सम्झनुको पछाडि दुईवटा कारण छन्, पहिलो गजेन्द्रले जस्तै उपेन्द्रले मधेसको अधिकारको मुद्दा निकै जोडले उठाएका थिए र दोस्रो एक पटक गजेन्द्रलाई हराउँदा यहाँका मतदाताले गल्ती भएको महसुस गरेका थिए । त्यसैले यहाँका मतदाताले उपेन्द्रको अनुहारमा गजेन्द्रको ‘विरासत’ देख्न थालेका छन् ।
सप्तरी–२ को चुनावी दौडधूपमा उपेन्द्र र उनका प्रतिस्पर्धी वाम गठबन्धनका उमेश यादव र राजपाका बागी उम्मेदवार जेपी ठाकुरको अवस्थावारे जान्नु अगाडि गजेन्द्र र उपेन्द्रको राजनीतिक पृष्ठभूमि, मधेसमा सङ्घर्षको कथा बुझ्न आवश्यक छ ।
गजेन्द्रनारयण सिंह र उपेन्द्र यादवले राजनीतिक रूपमा जसरी मधेसको मुद्दा राष्ट्रिय बनाए, यसमा धेरै कुरा मेल खान्छन् । धेरै वर्ष सप्तरी र मधेसको राजनीतिको विरासत धानेका गजेन्द्रनारयण सिंहको मृत्युपछि राष्ट्रिय राजनीतिमा अर्थपूर्ण उपस्थिति जनाउने नेतृत्व सप्तरीले पाएको थिएन् । तर, गजेन्द्रको निधनको झण्डै १४ वर्षपछि राष्ट्रिय राजनीतिका एक खेलाडी उपेन्द्र यादव सप्तरी प्रवेश गरे । यसैलाई यहाँका मतदाताले उपेन्द्रको अनुहारमा गजेन्द्रको विरासत देखेको बताएका छन् । तर, अहिलेसम्म उपेन्द्र आफैले चाहिँ यस्तो विषयमा सार्वजनिक रूपमा केही बोलेका छैनन् ।
गजेन्द्रनारायण सिंह सङ्गठित रूपमा राजनीति रूपमा मधेसको मुद्दा उठाउने पहिलो नेता हुन् । नेपालमा बहुदल आउनुपूर्व नै उनले नेपाल सद्भावना परिषद् बनाएर मधेसको विषयमा राजनीतिक रूपमा मुद्दा उठाउन सुरु गरेका थिए ।
२०४६ को आन्दोलनपछि गजेन्द्रले परिषदलाई नेपाल सद्भावना पार्टीका रूपमा दर्ता गराए र उनी त्यसको संस्थापक अध्यक्ष बने । त्यसपछि उनी यहाँबाट २०४८ संसदीय चुनाव लडे र जिते । त्यसपछि मधेसको पक्षमा उनले संसददेखि सडकसम्म आन्दोलन गरे । उनको त्यतिबेला मुख्य मुद्दा नागरिकता, पहिचान र भाषा थिए । उनी पटक पटक आपूर्ति मन्त्री भएर सिंहदरबार पनि पसे ।
सप्तरीमा अर्का ठूला नेता थिए, रामराजाप्रसाद सिंह । गणतन्त्रवादी नेताका रूपमा चिनिएका उनले आफूलाई मधेसको नेताका रूपमा सीमित गरेनन् ।
सप्तरीमा अर्का नेता थिए माओवादीबाट उदाएका जयकृष्ण गोइत । उनी जनयुद्धकालमै माओवादीसँग अलग भएर मधेसमा सशस्त्र आन्दोलनका सुरुवात गरे । उनको माग स्वतन्त्र मधेस छ र अहिले पनि आन्दोलन जारी राखेका छन् । उनी मधेसका मूलधारको राजनीतिबाट अलग भए ।
गजेन्द्रको निधनपछि सप्तरीमा उनको विरासत समाल्ने नेताको अभाव भइरहेको थियो । त्यहीँ पूर्ति गर्ने सोचसहित यसपालि उपेन्द्र यादव सप्तरीबाट प्रतिनिधिसभाका लागि चुनाव लड्न आए । उनको जन्म सप्तरी भए पनि उनको राजनीतिक करियर सुनसरीबाट सुरु भएको थियो ।
गजेन्द्रले जस्तै सुरुमा उनले मधेसी जनअधिकार फोरमलाई सामाजिक संस्थाका रूपमा दर्ता गराएका थिए । २०६४ सालको मधेस आन्दोलनका मुख्य नेतृत्वकर्ता थिए– उपेन्द्र यादव । त्यति बेला पार्टी थिएन, मधेसी जनअधिकार फोरमको ब्यानरमै आन्दोलनको अगुवा गरेका थिए ।
०४६ को आन्दोलनपछि गजेन्द्रले परिषदलाई पार्टी बनाएजस्तै उपेन्द्रले पनि ०६४ को मधेस आन्दोलनपछि पहिलो संविधानसभाको चुनावमा भाग लिन संस्थालाई पार्टीका रूपमा दर्ता गरे ।
त्यसबेला आन्दोलनको मुख्य मुद्दा गजेन्द्रलै उठाएजस्तै भाषा, नागरिकता र पहिचान थियो नै यसबाहेक सङ्घीयता, समानुपातिक समावेशी र धर्मनिरपेक्षताको माग थपिएको थियो ।
सप्तरीमा जन्मे पनि २०६४ को चुनावमा यादव मोरङ–५ र सुनसरी–४ बाट लडे । दुवै ठाउँ जिते । २०७० मा पनि उनी तिनैै दुई ठाउँबाट लडे । तर, मोरङमा चुनाव हारे उनी ।
२०६४ देखि ०७० को बीचमा यादव दुई पटक मन्त्री भए ।
पहिलो संविधानसभामा सानदार जित निकालेका फोरमले दोस्रो संविधानसभामा ठूलो हार खानुपर्यो । त्योबीचमा गजेन्द्रको पालामा सद्भावना फुटेजस्तै उपेन्द्रको फोरम पनि फुट्टयो ।
२०७० देखि २०७४ सम्म उनी आन्दोलनमै समय खर्चे ।
पछिल्लो आन्दोलन मधेस आन्दोलनमा उठाइएका र सहमति मुद्दा संविधानमा समावेश गराउने मुद्दा थियो ।
तिनै उपेन्द्र अहिले सिरहा र मोरङ छाडेर सप्तरीबाट चुनाव लड्न आएका छन् । उनले सप्तरी–२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । उपेन्द्रका सप्तरी आगमनलाई यहाँका बासिन्दा अर्का गजेन्द्रको दोस्रो रूपमा लिएका छन् ।
सप्तरी–२ मा एक पटक चुनाव जितेको व्यक्तिले अर्को पटक चुनाव जितेको इतिहास छैन । वाम गठबन्धनका उम्मेदवार उमेश यादवलाई यो भयले सताइरहेको हुन सक्छ । जस्तो कि, यहाँबाट २०४८ मा काङ्ग्रेसका हरिराय अमात्य, २०५१ मा सद्भावनाका अनिस अन्सारी, २०५६ मा राप्रपाकी रेणु यादव, २०६४ मा सद्भावनाकै महेश यादव र २०७० मा माओवादका उमेश यादवले चुनाव जितेका थिए ।
दुई पटक कसैले नजित्ने यो राजनीति इतिहास उपेन्द्रले बचाइराख्न सक्छन कि सक्दैनन् ? यो प्रश्न मात्रै होइन । सप्तरीको राजनीतिमा यो अर्थपूर्ण पनि छ ।
केही कठिनाइ र केही चुनौती भए पनि जित आफूहरूको हुने मधेसी जनअधिकार फोरम र राजपाका नेताहरूको भनाइ छ । उपेन्द्रलाई यहाँ काङ्ग्रेसको पनि समर्थन छ । काङ्ग्रेसले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएको छैन ।
सङ्घीय समाजवादी फोरम, नेपालका सप्तरी अध्यक्ष दिनेशकुमार यादव उपेन्द्रको जितको सूत्र यस्तो देखेका छन्– ‘स्थानीय तहमा सङ्घीय समाजवादी र राजपाले पाएको मत अरू गठबन्धनभन्दा धेरै छ ।
यसमा यहाँ तेस्रो शक्ति बनेको काङ्ग्रेसको पनि हामीलाई समर्थन छ । अङ्कगणितबाहेक मुद्दामा पनि हामीलाई भोट आउँछ । संविधान संशोधन र पुनर्लेखनको मागसहितको आन्दोलन सप्तरीबाट सुरु भएको हो । सामाथ्र्य, पहिचान र सङ्घीयताको मुद्दा यहीँबाट उठेको हो । आफैले उठाएको मुद्दामा सप्तरीका मतदाताले अनुमोदन गर्दैछन् ।’
सङ्घीय समाजवादी पार्टीले उपेन्द्र सप्तरीमा चुनाव लड्न आएपछि यसलाई पोलिटिकल मार्केटिङ पनि गरेको छ । जस्तो कि, फोरम, नेपालका सप्तरी अध्यक्ष दिनेशकुमार यादवले रातोपाटीसँगको अन्तर्वार्तामा भने्– ‘स्थानीयस्तरमा धेरै मुद्दा छन् । यहाँ अहिले राष्ट्रिय नेता आएका छन् । सप्तरीको समग्र विकासका लागि उनको खाँचो ।
अध्यक्षज्यूको आगमनले मधेसको अधिकार र सप्तरीको विकासमा सहयोग गर्छ भन्ने यहाँका मतदाताको बुझाइ छ ।’
तर विपक्षीहरूले उपेन्द्र सप्तरी र सुनसरीमा जस्तै चुनाव जितेपछि सप्तरी छाड्छन् भन्ने प्रचार गरिरहेका छन् ।
यहाँका कुनै पनि दलका नेताहरूसँग वाम गठबन्धन अथवा आफूसँग लड्ने तागत नभएको कारण उपेन्द्र यादवलाई बोलाउनुपरेको उमेश यादवले बताए । उनले रातोपाटीसँगको अन्तरवार्तामा भने– ‘उपेन्द्र यादवको भगौडा चरित्र छ । उहाँ जनयुद्धबाट भाग्नुभयो– मोरङबाट भाग्नुभयो– सुनसरीबाट भाग्नुभयो । उहाँ कम्फर्टेबल हेरेर आउनुभयो कि के हेरेर आउनुभयो थाह छैन तर यहाँबाट पनि उहाँ भाग्नुहुन्छ ।’
तर फोरम नेपालका सप्तरी अध्यक्ष दिनेशकुमार यादवको भनाइ चाहिँ यस्तो छ– ‘मोरङ र सुनसरीजस्तै सप्तरीबाट पनि भाग्छन् कि भन्ने चिन्ता सुरुमा मतदातामा थियो । तर अहिले हटेको छ । उपेन्द्रको जन्मभूमि यही हो । स्कुल जीवन यही बितेको हो । यसलाई मतदाताले उपेन्द्र जन्मभूमिलाई कर्मभूमि बनाउन फर्केको रूपमा हेरेका छन् ।’
उपेन्द्रका अगाडि केही चुनौती छन् । सङ्घीय समाजवादी फोरमका नेता उपेन्द्रका प्रतिस्पर्धी उमेश यादव र जेपी ठाकुरले धेरै पैसा खर्च गरेको आरोप लगाउँछन् । ‘स्थानीय तहको चुनावमा जस्तै यसपालि पनि पैसाको चलखेल भएको छ । यो हाम्रो लागि चुनौती हो ।’ फोरम, नेपालका सप्तरी अध्यक्ष दिनेशकुमार यादवले भने ।
यहाँको चुनावमा जातीय समीकरणले केही न केही असर गर्छ । वाम गठबन्धन र मधेसी दलबाट दुवै जना यादव समुदायका उम्मेदवार छन् । यसले यादव समुदायको भोट बाँडिन सक्छ, यसको असर उपेन्द्रमाथि पर्नेछ ।
काङ्ग्रेसले उपेन्द्रको क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार रामलाल सुतियारलाई उम्मेदवारी फिर्ता लिन लगाएका छन् तर प्रदेशमासभामा काङ्ग्रेस र फोरम नेपाल दुवैको उम्मेदावर कायम रहेकाले उपेन्द्रको प्रचारमा काङ्ग्रेसका नेता तथा कार्यकर्ता हिँडेको छैनन् । रामलाल सुतियारले भने– हामीले प्रतिनिधिसभाका लागि छाडिदिएपछि फोरम नेपालले प्रदेशसभामा सघाउनुपर्ने हो तर फोरमले पनि आफ्नो उम्मेदवारी कायम राखेका छन्, यसले फोरमलाई नै घाटा रहेको देखिन्छ ।
काङ्ग्रेसले उपेन्द्र यादवलाई सघाए पनि प्रचारमा कतै सहभागी भएको पाइको छैन । काङ्ग्रेसका नेताहरू आआफ्नै उम्मेदवारको प्रचारमा लागेका छन् । यसको पनि केही न केही असर देखिनेछ ।
उपेन्द्रसँग चुनावी मैदानमा उत्रेका राजपाका बागी उम्मेदवार जेपी ठाकुर पनि कमजोर छैनन् । राजपाले उनलाई कारवाही गरेको छ । तर, व्यापारिक पृष्ठभूमिका ठाकुरले सम्मानजनक मत ल्याउने सङ्घीय समाजवादी र राजपाका जिल्लातहका नेताहरू नै स्वीकार गर्छन् ।
सप्तरी–२ का प्रदेशसभा सदस्यका उम्मेदवार मनिष सुमन भन्छन्– ‘जेपी ठाकुरको उम्मेदवारीले मधेस गठबन्धनका उम्मेदवारलाई केही विगार्न सक्दैन ।’ उनले जेपी ठाकुर बागी बन्नुलाई राजनीतिको साइड इफेक्ट भनेका छन् । जेपी ठाकुरलाई दुई वर्षका लागि पार्टीले कारवाही गरिसकेको पनि उनले जानकारी गराए ।
राजापामा रहेका पूर्व तमलोपाका पृष्ठभूमिका नेता कार्यकर्ता यो गठबन्धनबाट त्यति खुसी छैनन् । किनभने सप्तरीबाट तमलोपाका पृष्ठभूमिका कोही नेता पनि उम्मेदवार भएनन् । राजपाबाट टिकट नपाएपछि तमलोपा पृष्ठभूमि जेपी ठाकुर बागी उम्मेदवार भए । तमलोपाका पृष्ठभूमिका नेता कार्यकर्ताको यो असन्तुष्टि बागी उम्मेदवारको पक्षमा सद्भाव रहने सम्भावना छ, जुन उपेन्द्रका लागि चिन्ताको विषय बन्न सक्छ ।
तर, फोरम, नेपालका सप्तरी अध्यक्ष दिनेशकुमार यादव भन्छन्, ‘पार्टी प्रणालीमा व्यक्तिको महत्व हुँदैन । जे वागी छन्, उनी व्यापारी मानिस हुन् । सिरहाबाट आएर व्यापार गरेका हुन् । वागीको भोटको कुनै असर हुँदैन ।’
यहाँ राजपा र सङ्घीय समाजवादी फोरमको संयुक्त चुनावी प्रचार छ । तर, मनमा केही न केही मनमुटाव पनि छ । उपेन्द्रको प्रचारमा फोरमका कार्यकर्ता धेरै देखिन्छन् । राजपाका महामन्त्री जो सप्तरीको प्रतिनिधिसभा–२ बाट प्रदेशसभा–२ लागि चुनावी दौडमा छन् ।
रातोपाटीको टिमले राजविराज नगरपालिका १६ बोडिया धरदैलोमा व्यस्त मनिष सुमनलाई भेट्यो । उनले पार्टीका स्थानीय कार्यकर्ता भन्दा पनि चर्चित अनुहार लिएर घरदैलो गरिरहका थिए । उनले आफ्नो चुनावी घरदैलोमा राजविराज नगरपालिकाका मेयर शम्भु यादव, उपमेयर साधना झा, उपमेयर साधना झाकी निकटम प्रतिद्वन्द्वी किरण साह, उच्च शिक्षा परिषद्का पूर्वअध्यक्ष देवकुमार मिश्र, वडा नम्बर १६ का वडा अध्यक्ष बुचाई दास, ९ का अध्यक्ष शम्भु यादव, उदयपुर सिमेन्ट कारखानाका पूर्वजीएम तेजकान्त झालगायतलाई साथमा लिएका थिए ।
लामो समय काठमाडौँ बसेर राजनीति गरेका सुमन पहिलो पटक चुनाव लड्दैछन् । उनले राजपा र सङ्घीय समाजवादी फोरमवीको तालमेल आफूहरूको जित सुनिश्चत गराएको बताए । रातोपाटीसँग अन्तर्वार्तामा उनले भने– ‘चुनाव आन्दोलनको दोस्रो मोर्चा हो, मधेसी जनताले जसरी आन्दोलनमा साथ दिएका थिए, त्यसरी नै चुनावमा साथ दिने विश्वास छ ।’ आफ्नो जित सुनिश्चित रहेको उनले दाबी गरे ।
राजपाका केन्द्रीय सदस्य बीपी यादवको मत पनि चुनाव आफूहरूकै पक्षमा आउने छ । उनी सप्तरी–२ बाट चुनाव लडन चाहन्थे । पार्टीले सिफारिस गरेर पनि पठाएको थियो । तर अन्तिम समयमा यहाँ उपेन्द्रले दाबी गरे ।
उनले खुलेर त यसको विरोध गरेनन्, तर राजापका केही कार्यकर्ता मान्छन् कि उपेन्द्रको आगमनमा बीपी असन्तुष्ट छन् । तर, रातापाटीसँगको कुराकानीमा उनले चुनावमा मधेसवादी दलहरूको पोल्टामा आउने बताए । सप्तरीमा भेट भएका बीपी यादवले भने– ‘राजविराजमा चारवटै सिट मधेसवादी दलले जित्छ, प्रदेशसभामा राम्रोसँग समीकरण नमिलएको कारणले केही तलमाथि हुनसक्छ नभए बहुमत मधेसवादी दलको नै आउनेछ ।
विश्लेषकको भनाइ यस्तो–
मधेसी राजनीतिबाट सन्न्यास लिएका उपेन्द्र झा जसलाई पछिल्लो समय मधेस मामलाका विश्लेषकका रूपमा चिनिदै आएको छ, उनीसँग सप्तरी उच्च अदालत चौकमा भेटभयो । उनले मधेसका राजनीतिमा अहिले मौन अवधि रहेको र पराजय भोगेको मधेसको मनोविज्ञानले कस्तो नतिजा दिन्छ भनेर यकिन गर्न कठिन भएको बताए ।
‘जब कसैले पराजय भोग्नुपर्छ, नेता समेतले गलत निर्णय लिने परिस्थिति आउँछ । त्यसकारण यहाँका जनताले गलत निर्णय लिनुलाई म अन्यथा ठान्दिनँ’– उनले रातोपाटीसँगको कुराकानीमा भने– ‘मुख्य कुरा मधेसको पराजय हो । मधेसका राष्ट्रियस्तरका नेताहरू सुरक्षा खोज्दै कहाँ कहाँ पुगे, सबैले देखेका छन् । अझै मधेसको मुद्दा सम्बोधन नहुनु र मधेसबाट नेता पलायन हुनु मधेसको दुर्भाग्य हो । यो दुर्भाग्य भोग्दा के–के निर्णय आउँछन्, ठेगान हुँदैन ।’
उनले मधेसको चुनावमा पैसाको खेलले काम गर्न सक्ने पनि बताए । ‘आन्दोलनमा कहिल्यै पनि सहभागीको गल्ती हुँदैन । गल्ती अगुवाले गर्छन् । त्यो गद्दारी हो ।’ उनले भने– ‘पराजय भोगेका यहाँका मतदाता अराजक मानसिकतामा छन् । यस्तो मानसिकता भोगेका जनतालाई तान्न पैसा खर्च गरिरहेको छ । यहाँ स्थानीय तहको चुनावबाट किनबेचको राजनीतिक सुरु भयो । यो चुनावमा पनि कायम रहन्छ ।’
विश्लेषक उपेन्द्र झाले अरू पाटा पनि खोले । यो चुनावपछि पनि देशले निकास नपाउने बताए । ‘अहिलेको चुनाव असल प्रतिनिधि छान्ने चुनाव होइन । नाम चुनाव हो तर ठेकदारहरूको टेन्डर हो । बोल कबोलमा हुन्छ । त्यसैले अब चुनावपछि जनप्रतिनिधिका होइन ठेकदार र तस्करको सरकार बन्छ । यसले लुटछ मात्र ।’ उनले भने– ‘यस्तो सरकारले धरातलीय यर्थातको सम्बोधन गर्ने, देशलाई विकास र समृद्धिको बाटोमा लैजाने र द्वन्द्वको अन्त्य गर्ने कुरामा अग्रसर हुँदैन ।’
उनले वाम गठबन्धनले देशको राजीतिक शक्ति सन्तुलन भत्काएको विश्लेषण सुनाउँदै उनले यसले नयाँ द्वन्द्व सिर्जना गर्न सक्ने बताए । ‘वाम गठबन्धन नयाँ द्वन्द्व खडा गर्ने हिसाबले भएको छ । राजनीतिमा सन्तुलन आवश्यक छ । वाम गठबन्धनले असन्तुलन बनायो । प्रजातान्त्रिक शक्तिलाई पाखा लगाएको छ । वाम गठबन्धले बहुमतको सरकार बनाउँछ ।’ झाले भने– ‘वाम गठबन्धनले सरकार बनाएर मनोपोली गर्छ । अरू शक्तिकेन्द्रहरू भड्किन सक्छन् ।’
वाम गठबन्धनको सरकार हुँदा मधेसको मुद्दामा के फरक पर्छ ? झाले तर्क राखे– ‘मधेस यति बेला न क्रिया न प्रतिक्रियामा छ । विनाशर्त उपेन्द्रले चुनावमा भाग लिएर गल्ती गरे । राजपाले पनि विनाशर्त भाग लिएर गल्ती गर्यो । उनीहरू दुवै चुनावमा आएपछि मधेसको मुद्दा उनीहरूको हातबाट फुत्क्यो । उनीहरू अलोकप्रिय भए । जनाधार गुमाए र भागीभागी चुनाव लडे । अब फेरि मधेसमा सङ्गठित हुनका लागि समय लाग्छ ।’