सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडामा स्वतन्त्र उम्मेदवारी राजनीतिक दलको विकल्प कि चर्चाका लागिमात्र ?

बुधबार, १४ वैशाख २०७९, २० : ००
बुधबार, १४ वैशाख २०७९

आसन्न स्थानीय तहको निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा ३२ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयर पदका लागि २१ जना र उपमेयरमा ११ जनाको उम्मेदवारी परेको छ ।

मेयर पदमा विभिन्न राजनीतिक दलहरूबाट १२ जना र स्वतन्त्र ९ जनाको उम्मेदवारी परेको छ भने उपमेयर पदमा दुई स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेको छ । मेयर पदका लागि स्वतन्त्रबाट कविराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य, देवराज पौडेल, सञ्जय खरेल, सुरक्षा रिजाल, विश्वनाथ पाण्डे र प्रदिप ढकालले उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयर पदमा सुरज पाण्डे र ध्रुवप्रसाद दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

स्वतन्त्र उम्मेदवारी किन ?

हेटौंडा उपमहानगरको मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनले साझा उम्मेदवारी दिएका छन् । यसअघि नेकपा एमालेले जितेको यो पालिकामा एमालेविरुद्ध सत्तारुढ गठबन्धनबीच तालमेलका आधारमा उम्मेदवारी दिइएको छ । उता, राप्रपा नेपालले यहाँ नेकपा एमालेलाई समर्थन जनाएको छ ।

प्रमुख राजनीतिक दलहरुले हेटौंडाको मेयर र उपमेयर पदलाई प्रतिष्ठाको विषय बनाएको अवस्थामा स्वतन्त्र उम्मेदवारहरूले पनि दलहरूलाई चुनौती दिएका छन् । हेटौंडाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी लिलाकुमारी आचार्य दलहरूको विकल्पका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछिन् । पेसाले व्यवसायी रहेकी उनी युवा पुस्ताको अवस्था सुधार्ने प्रयत्नका साथ हेटौंडालाई देशकै नमुना उपमहानगरपालिका बनाउने अठोट बोकेर चुनावमा जान लागेको तर्क गर्छिन् ।

‘दलहरुको झण्डा बोकेर युवाको अवस्था कहिलै सुध्रिएन । दलहरूको विकल्पमा मेरो उम्मेदवारी हो,’ उनले रातोपाटीसँग भनिन्, ‘हेटौंडाको मुहार फेर्न र हेटौंडालाई देशकै उत्कृष्ट सहर बनाउने मेरो सपना हो । त्यसैका लागि मैले मेयर पदमा उम्मेदवारी दिएको हुँ ।’

हेटौंडाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएकी २४ वर्षीय सुरक्षा रिजाल राजनीतिक दलहरूको प्रतिनिधिबाट परिवर्तन हुन नसक्ने बताउँछिन् । उनले युवा पुस्ताको विचार र नेतृत्व नै स्वीकार गर्न नसक्ने दलहरुबाट विकास र समृद्धि सम्भव नरहेको बताइन् ।

‘राजनीतिक दलहरुलाई हामीले विगतदेखि हेरेकै हो । खै त परिवर्तन ? खै त विकास ?,’ उनले भनिन्, ‘दलहरु युवाको नेतृत्व स्वीकार गर्नै सक्दैनन् । उनीहरु युवाको विचारलाई सम्बोधन गर्नै चाहँदैनन् । अनि कसरी परिवर्तन आउँछ ? मेरो उम्मेदवारी यिनै राजनीतिक दलहरूको विकल्पमा हो ।’ 

विगत १० वर्षसम्म राप्रपाको राजनीतिमा सक्रिय रहेका देवराज पौडेल पनि हेटौंडाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार बनेका छन् । दलहरुको विकल्पको रुपमा आफूलाई अब्बल साबित गर्न उनी हेटौंडाका ४० हजार घरधुरीमा आफ्नो अभियान लैजाने योजनामा छन् । अन्य स्वतन्त्र उम्मेदवारभन्दा आफू फरक रहेको दाबी गर्दै उनले ४० हजार घरपरिवारमा पुगेर मत माग्ने अभियान सुरु गरेको बताए ।

हेटौंडाको विकासमा दलहरुले खेलेको भूमिका उचित नभएकाले त्यसको विरुद्धमा आफू लागेको उनको भनाइ छ ।

हेटौंडाको उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका सुरज पाण्डे दलहरूको अक्षमताले गर्दा आफू उम्मेदवार बनाएको बताउँछन् । दलहरुले युवा पुस्ताको प्रतिनिधित्वमाथि नै हस्तक्षेप गरिरहेको बेला आफू विकल्पको रुपमा अघि बढेको उनको भनाइ छ ।

हेटौंडाको विकासका लागि कुनै पनि दलले योग्य उम्मेदवार नै दिन नसकेको र जनतालाई सधैँ दुःख दिने मनसायले विभिन्न तालमेल र गठबन्धन गरेर चुनाव जित्ने तर काम नगर्ने पक्षमा रहेकाले त्यसको विरुद्धमा आफूले उम्मेदवारी दिएको उनले बताए ।

स्थानीय तह निर्वाचनमा दलहरूको संगठित मतभन्दा पनि उम्मेदवारको विचार, एजेण्डा र लोकप्रियताले महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् । उनले आम युवा र हेटौंडाको विकासको एजेण्डा आफूसँग भएको दाबीसमेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप