सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मकवानपुरमा बागीले बबाल : तालमेल भएकामध्ये पाँच स्थानीय तहमा विद्रोह !

बुधबार, १४ वैशाख २०७९, २१ : ४६
बुधबार, १४ वैशाख २०७९

आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुबीच भागबण्डामा सहमति जुट्न नसकेपछि हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरका अधिकांश पालिकामा तनावपूर्ण स्थिति बनेको छ । गठबन्धनको केन्द्रीय संयन्त्रले निर्धारण गरेको आधार र मापदण्ड अनुसार दलहरुबीच तल्लो तहसम्म चुनावी तालमेलका लागि भागबण्डाको सहमती हुन नसक्दा स्थिति तनावपूर्ण बनेको हो ।

सत्तारुढ गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आगामी निर्वाचनमा वडा तहदेखि नै चुनावी तालमेल गर्ने निर्णय अनुसार छलफल भएको थियो । तर, मकवानपुरमा तिनै दलका कार्यकर्ताहरु सो निर्णयको विरुद्धमा देखिए ।

तीनै दलका जिल्लास्तरका नेतासहित वडा र टोल तहका कार्यकर्ताहरु आगामी निर्वाचनमा एकल रुपमा जानुपर्ने माग गर्दै गठबन्धनको विरुद्धमा देखिए । गत वैशाख ११ र १२ गते सञ्चालन भएको निर्वाचन कार्यक्रम अन्तर्गतको उम्मेदवारी मनोनयन दर्ताका क्रममा सो कुरा प्रष्ट देखाएको थियो ।

मनोनयन दिने दिनमा गठबन्धनका तर्फबाट दलले दिएको टिकटका आधारमा नेताहरुले उम्मेदवारी दर्ता गराएका थिए । तर, गठबन्धनको विरुद्धमा रहेका र दलको टिकट नपाएकाहरुले स्वतन्त्र (बागी)का रुपमा उम्मेदवारी दर्ता गराए ।

बागी उम्मेदवारका कारण समस्या

गठबन्धनको विरुद्धमा गएर उम्मेदवारी दर्ता गराउनेहरूमा सबैभन्दा बढी काँग्रेसका उम्मेदवार रहेका छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादी तुलनात्मक रुपमा कम छन् । जिल्लाका १० वटै पालिका र १०२ वटा वडा तहमा बागी उम्मेदवारको संख्या सबैभन्दा बढी काँग्रेसका रहेका छन् । जिल्लामा एमाले पहिलो शक्तिको रुपमा रहेको छ भने काँग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो वरियतामा रहेको छ ।

मकवानपुरको १० पालिकामध्ये ५ वटामा प्रमुख र ५ वटामा उपप्रमुख पदको भाग काँग्रेसले लिएको थियो । प्रदेश तहबाट गठबन्धन टुंगो लगेको मकवानपुरको गठबन्धनको भागबण्डा स्थानीय तहमा दलहरूको सहमति अनुसार उम्मेदवारी दर्ता नहुँदा बागी उम्मेदवार बढी देखिएका हुन् ।

आगामी निर्वाचनमा एमाले विरुद्ध गठबन्धन गरेर निर्वाचनमा होमिएका दलका कार्यकर्ताहरु भागबण्डाका बारेमा चित्त नबुझेपछि बागी उम्मेदवारी दिएका हुन् । मकवानपुरको १० वटै स्थानीय तहमा गठबन्धन भएपनि पाँच स्थानीय तहको प्रमुख र उपप्रमुख दुबैमा गठबन्धन विपरित उम्मेदवारी दर्ता भएको छ ।

हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, भीमफेदी, बागमती गाउँपालिकामा भने, गठबन्धनमा भएको तालमेल अनुसारनै उम्मेदवारी दर्ता गरिएको छ । तर, बकैया, कैलाश, मनहरी, राक्सिराङ र इन्द्रसरोवर गाउँपालिकामा गठबन्धनको विरुद्धमा गएर बागी उम्मेदवार खडा गरेर उम्मेदवारी दिइएको छ ।

प्रदेश तहमा गठबन्धनको सहमति अनुसार बकैयामा नेपाली काँग्रेस प्रमुख, नेकपा माओवादी केन्द्र उपप्रमुख, कैलाशमा प्रमुख काँग्रेस, उपप्रमुख नेकपा माओवादी केन्द्र, मनहरीमा काँग्रेस प्रमुख, नेकपा माओवादी केन्द्र उपप्रमुख र इन्द्रसरोवर गाउँपालिकामा नेकपा एकीकृत समाजवादीलाई प्रमुख र उपप्रमुख काँग्रेसको भागमा पारिएको थियो । तर, बकैयामा तीन दलले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

बकैया गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट धर्मराज लामिछाने प्रमुख र उपाध्यक्षमा छायाँ अधिकारीले उम्मेदवारी दिएका छन् भने माओवादी केन्द्रबाट लक्ष्मीमाया माझी, उपप्रमुखमा भक्तबहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।

बकैयाको अध्यक्षमा एकीकृत समाजवादीबाट प्रमुखमा नारायण तिमल्सिना, उपाध्यक्षमा उर्मिला राईले उम्मेदवारी दिएका छन् । सो गाउँपालिकाको अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको थियो ।

यता कैलाशमा पनि गठबन्धनको विरुद्धमा गएर उम्मेदवारी दर्ता भएको छ । कैलाशको अध्यक्षमा काँग्रेसबाट लोकबहादुर मोक्तान, एकीकृत समाजवादीबाट टेकबहदुर मोक्तानले उम्मेदवारी दिएका छन् । सो गाउँपालिकाको अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको थियो ।

मनहरी गाउँपालिकामा गठबन्धनका तीनवटै दल र काँग्रेसबाट बागी उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मनहरीको अध्यक्षमा काँग्रेसबाट रञ्जन कालाखेती, एकीकृत समाजवादीबाट नारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् । काँग्रेसका शंकर न्यौपानेले काँग्रेस (बीपी)बाट बागी उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रबाट रेखा पुलामी, एकीकृत समाजवादीबाट मनिला बिष्ट र काँग्रेस (बीपी)बाट जानकी लामाले बागी उम्मेदवारी दिएकी छन् । सो गाउँपालिकाको अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको थियो ।

त्यसैगरी राक्सिराङमा पनि गठबन्धन तोडेर उम्मेदवारी दर्ता गरिएको छ । पालिका अध्यक्षमा काँग्रेसबाट राजकुमार मल्ल र एकीकृत समाजवादीको तर्फबाट कृष्णबहादुर प्रजाले उम्मेदवारी दर्ता गराएका छन् ।

उपप्रमुखमा नेकपा एमालेबाट सुन्तलीमाया प्रजा, माओवादी केन्द्रबाट वनस्तम थिङ र एकीकृत समाजवादीका तर्फबाट मिलनकुमारी तामाङले उम्मेदवारी दिएका छन् । काँग्रेसकी निर्मला हिम्डुङले स्वतन्त्रबाट पालिका उपाध्यक्षमा उम्मेदवारी दिएकी छिन् ।

इन्द्रसरोवर गाउँपालिकामा गठबन्धन विरुद्धमा गएर उम्मेदवारी दर्ता भएको छ । इन्द्रसरोवरको अध्यक्षमा एकीकृत समाजवादीबाट जीवन लामा, जनता समाजवादी पार्टीबाट देवकुमार लामा, काँग्रेसबाट विश्व लामाले उम्मेदवारी दर्ता गराएका छन् ।  पालिका उपाध्यक्षमा काँग्रेसबाट निर्मला रुम्बा र जसपाबाट रस्मिला घिसिङले मनोनयन दर्ता गराएका छन् ।

हेटौंडा उपमहानगरपालिकामा भने वडा तहमा गठबन्धन विरुद्ध गएर काँग्रेसबाट बागी उम्मेदवारी परेको छ । हेटौंडा–२ को वडा अध्यक्षमा सुदीप राजवाहक र रविन्द्र घिमिरेले बागी उम्मेदवारी दिएका छन् । राजवाहक अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । हेटौंडा–९ अध्यक्षमा सुशील सिग्देलले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । सिग्देल तरुण दल नगरका पूर्वसचिव हुन् ।

गठबन्धनमा भएको भागबण्डालाई स्वीकार्दै हेटौंडा उपमहानगरको प्रमुखमा एकीकृत समाजवादीबाट मीना लामा, काँग्रेसबाट राजेश बानियाँले उम्मेदवारी दिएका छन् । थाहा नगरको प्रमुखमा माओवादी केन्द्रबाट विष्णु बिष्ट, उपप्रमुख काँग्रेसबाट भरत गोपालीले उम्मेदवारी दर्ता गराएका छन् भने भीमफेदीको प्रमुखमा माओवादी केन्द्रबाट बद्री स्याङतान, उपप्रमुखमा काँग्रेसबाट संजीव श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

बागमती गाउँपालिकामा माओवादी केन्द्रबाट सर्केश घलान र काँग्रेसबाट फाणिन्द्र तिमल्सिनाले उम्मेदवारी दिएका छन् भने मकवानपुरगढीमा काँग्रेसबाट प्रमुखमा दोर्जे लामा र माओवादी केन्द्रबाट मानकुमारी नेपाली उम्मेदवार बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप