आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागीमाथि ब्याक हुन दबाब : कहाँ–कहाँ छन् उम्मेदवार ?

शुक्रबार, १६ वैशाख २०७९, १२ : ३७
शुक्रबार, १६ वैशाख २०७९

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी फिर्ताको समय नजिकिँदै गर्दा बागी उम्मेदवार बनेकाहरुलाई उम्मेदवारी फिर्ता लिन दवाव बढेको छ । पार्टीले तय गरेका उम्मेदवारप्रति असन्तुष्ट जनाउँदै पाँच दलीय सत्ता गठबन्धनदेखि प्रमुख प्रतिपक्ष दल एमालेसहितका स्थानीय नेता कार्यकर्ताहरूले आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दर्ता गराएका थिए ।

नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताले बागी उम्मेदवार बनेकाहरुलाई नाम फिर्ता लिन सार्वजनिक अपील गरिसकेका छन् । खासगरी महानगर र उपमहानगरमै प्रमुख पार्टीका आधिकारिक उमेदवारविरुद्ध बागी दर्ता गरेकाहरूले फिर्ता लिन पार्टीले दिएको निर्देशनको बेवास्ता गरिरहेका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज शुक्रबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन भएकाले सबैजसो दलहरूको ध्यान बागी फिर्ता गर्नेमा केन्द्रीत भएको छ ।  उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन चाहनेहरूले आज शुक्रबार बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमार्फत फिर्ता गर्न सक्नेछन् । बेलुका ५ बजेसम्म फिर्ता नलिए आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले  बिहीबार एक अपिल जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बागी उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई निर्वाचनमा जिताउन आग्रह गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि ललितपुरलगायत जिल्लाका नेताहरूलाई बागी उम्मेदवारी फिर्ता गर्न अपिल गरेका छन् ।

६ महानगरमध्ये सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविद्ध नै चितवन, पोखरामा काँग्रेसबाट र  विराटनगरमा जसपाबाट आधिकारिक उम्मेदवारविरुद्ध वागी उठेका छन् । चितवनमा जगन्नाथ पौडेल, पोखरामा काँग्रेस नेताहरु विमलबहादुर कार्की, नन्दूप्रसाद तिवारी र ऋषि सापकोटाले बागी उम्मेदवारी दिएका छन् । विराटनगरमा भने गठबन्धनका उम्मेदवारविरुद्ध जसपाबाट उमेश यादवले बागी दिएका छन् भने ललितपुरको गठबन्धनको उपमेयरकाविरुद्ध काँग्रेसका सुविन शाक्यले बागी दर्ता गराएका छन् । महानगरमा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध कतैपनि बागी परेको छैन । यद्यपी एमाले र लोसपाबीच तालमेल भएको वीरगञ्जमा लोसपाका उपमेयर पुरुषोत्तमलाल झाविरुद्ध लोसपाबाटै बागी उम्मेदवारी परेको छ ।

त्यस्तै ११ महानगरपालिकामध्ये सत्ता गठबन्धनकै आधिकारिक उम्मेदवार विरुद्ध ५ ठाउमा जसपाले दलगत रुपमै बागी उम्मेदवारी दिएकोक छ । जसपाले गठबन्धनका साझा उम्मेदवारविरुद्ध बुटवल, हेटौडा, धनगढी,तुलसीपुर र घोराहीमा बागी उम्मेदवार उठाएको छ । त्यस्तै काँग्रेसले जनकपुर, माओवादीले इटहरी उपमहानगरमा बागी उठाएको छ । महानगरमा बागी नभएपनि उपमहानगरमा भने एमाले अछुतो रहेको छैन । जनकपुरमा एमालेका आधिकारिक उपमेयरका उम्मेदवार विरुद्ध एमालेकै जानकीराम साहले उम्मेदवारी दिएका छन् ।

नगर तथा गाउँपालिकामा पनि एमाले, काँग्रेस, माओवादीलगायतका आधिकारिक उम्मेदवार विरुद्ध प्रशस्तै बागी उम्मेदवारी परेका छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप