मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कविता : लभ यू जिन्दगी

शनिबार, १७ वैशाख २०७९, ०७ : १८
शनिबार, १७ वैशाख २०७९

एक जुनीमा पाइने मनुष्यको यो जिन्दगी
कति रमाइलो हुने बालापनमा
न कुनै कुराको भय
न कुनै चिन्ता, न कुनै सुर्ता,
बाबा आमाको काख,
भाइबहिनीको साथ,
सधैं यस्तै रमाइलोसँग बित्दै 
जान्छ होला, जस्तो लाग्दा लाग्दै 
बिस्तारै समयअनुसार परिवर्तनशील
हुँदै जाने रहेछ यो जिन्दगी ।
समय अनुसारका चिन्ताका विषय बढ्दै,
सुरूमा पढाइको चिन्तन,
पढाइपछि जागिरको सुर्ता
जागिर पछि बिहेवारीको पीर
बिहेवारीपछि घरव्यवहार मिलाउँदा मिलाउँदै
आफ्ना खुशी लुकाउनुको पीडा
अनि परिवार बढाउनुको सुर्ता,
छोराछोरीहरू र उनीहरूमाथिको आफ्नो कर्तव्य,
अनि बल्ल सुरू हुँदोरहेछ असलमा जिन्दगी
अनि सम्झिदो रहेछ बाबुआमाको त्याग ।

अनि लाग्दो रहेछ जिन्दगी त 
सफा, राम्रो तर पुरानो लुगाजस्तै
यता मिलायो उता बिग्रला भन्ने डर
यता तान्दा यता च्यातिएला भन्ने डर
यिनै मिश्रित अनुभवहरूको 
सम्मिश्रण रहेछ जिन्दगी
ओहो मनुष्यको जिन्दगी ।
घर, परिवार, जागिर, धन, सम्पत्तिको
बिचमा रूमल्लिएको जिन्दगी,
व्यवहारमा रूमल्लिदा रूमल्लिदा
आफ्ना खुशी र रहरहरू कता अल्झिन्छन्
पत्तै नदिने यो जिन्दगी ।
अनि समय ढल्केपछि झल्याँस्स 
सपनाबाट बिउझाइ दिएजस्तो गरी 
तैँले आफ्नो इच्छा अनुसारको जीवन 
जिउन नै बिर्सिन भनेर सम्झाईदिने पनि 
यही जिन्दगी ।
ए प्रिय जिन्दगी सबै कुराहरू 
समयमै समानान्तर चलाउन सिकाइ दे न
आफ्ना कर्तव्य, इच्छा र रहरहरू 
सँगसँगै पुरा गर्न सिकाइ दे न,
अनि म पनि भन्ने छु वाह, जिन्दगी,
मनुष्यको जिन्दगी
प्रिय जिन्दगी ।
कति भाग्यमानी 
मनुष्यको जीवन पाएका हामी
जे जस्तो आफूसँग छ 
त्यसमै रमाउन नसकेर 
दुःखी हुने पनि हामी,
कतिपय कुराहरू भाग्यमै लेखिएअनुसार 
हुन्छ भनेर बुझ्न नखोज्ने हामी 
कहिलेकाहीँ मेहेनत नै नगरी 
सबै कुरा यो जिन्दगीले पुर्याउनु पर्छ 
भन्न पछाडि नपर्ने पनि हामी 
अनि एकबार मनुष्यको रूपमा 
पाएको सुवर्ण अवसर
यही जिन्दगीलाई दोष लगाउन 
पछि नपर्ने पनि हामी ।
तर पनि सकि नसकि 
समयको माग अनुसार 
आफ्नै रफ्तारमा डोर्याउने,
आफ्नो झोलीमा परेको 
सुख, खुशी दिने पनि यही जिन्दगी ।
त्यसैले त भन्न मन लाग्छ 
वाह, मनुष्यको जिन्दगी
एकबारको जिन्दगी, 
प्रिय जिन्दगी, डियर जिन्दगी
लभ यू जिन्दगी ।
धापासी, काठमाडौं
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप