मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

परदेशबाट आमालाई पत्र : आँखाबाट आँशु र रगत दुवै बराबरी बग्छ

शनिबार, १७ वैशाख २०७९, १० : ५९
शनिबार, १७ वैशाख २०७९

प्यारी आमा,
साष्टाङ्ग दण्डवत 

मातातीर्थ औँसी अर्थात् मातृसम्मान दिवस अथवा आमाको मुख हेर्ने दिन हो आज । कैयौँ अरु नेपालीजस्तै म पनि परदेशमा रहेकाले आमाको मुख हेर्नबाट बन्चित भएको छु । त्यसमाथि पल्ला घर कान्छा भाइको फेसबुकमा आमालाई ओखरेनीका काइँला काकाले फुक्दै गरेको र महिला स्वास्थ्य कार्यकर्ता सुन्तली भाउजुले डोर्याउँदै स्वास्थ्य केन्द्र लगेको फोटो देखेँ, मन बेस्सरी भक्कानिएको छ । मेरा यी अक्षर मसीले होइन, आँशुले लेखिरहेको छु । 

आमा विरामी हुँदा संसार अँध्यारो लाग्छ । हरेक दिन गाउँ, देश दुनियाँको दुःखद खबर सुन्दा, हेर्दा, मन, मस्तिष्क ठिक ठाउँमा छैन ।  हिजो आज दुःखद समाचार सुन्न कुनै न्युज च्यानल खोलिरहनु पर्दैन, केवल गाउँले भाइबैनी र देश देशावारका साथीहरूको सामाजिक सन्जाल हेरे पुग्छ । औपचारिकताको लागि सन्चै छु भने पनि, हर परदेशवासी शारीरिक रुपमा सन्चो भए पनि मानसिक र भावनात्मक रुपमा कहिल्यै आरामदायी अवस्थामा हुन्नन्, यो नियति नै बनेको छ । 

आमाको माया, देशको बिग्रदो हालत र आफू परदेशी हुनुको विवशताले सधैं सधैं पिरोलिएका हुन्छौं परदेशिएका हामी । तन यता भए पनि मन आफ्नै देशको कुना, कन्दरा, सहर, बजार, पाखा, पखेरा, लेकबेंसी, हिमाल, पहाड, तराईतिर कुदिरहेको हुन्छ । नारायण गोपालले गाएको गीत झैँ ‘म जन्मे जहाँ, म हुर्के जहाँ त्यहीँ आँगन प्यारो छ, यो छातीभरि मुरीका मुरी नेपालको माया छ ।’

आफ्नो देश र परिवेश प्रिय छ, अविष्मरणीय छ । देशमा चाडपर्व, उत्सव र मेला हुँदा यहाँ हाम्रो मन खपी नसक्नु गरेर दुख्छ । झन चुनावजस्तो महत्वपूर्ण चिज आफ्नो भाग्य र भविष्य रोज्ने व्यवस्थामा सामेल हुन नसक्ने बाध्यताको विकराल पर्खाल सामु कठोर मुटु पारेर सहनुको विकल्प छैन । 

परदेशिएका ७० लाख मान्छेले रोज्न नपाएको जनप्रतिनिधि वास्तवमै जनअनुमोदित मान्छे होइनन् । यद्यपि देशले अवलम्बन गरेको चुनाव प्रणाली भएको कारण यो नमान्नुको विकल्प छैन । तथापि विदेशमा बस्ने नेपालीले पनि आफ्नो प्रतिनिधि रोज्न पाउने व्यवस्थाको पक्षमा राजनीतिक दलबाट कुरा उठेको र अदालतसम्म यो विषय पुगेकोले कुनै दिन पूरा हुनेछ भन्ने विश्वास छ ।

विदेशमा बस्ने नेपालीहरूलाई पनि भोटिङ राइट दिने सम्बन्धमा कतिपय प्राविधिक जटिलता होलान्, व्यवस्थापकीय अप्ठ्यारा होलान् ? त्यसबारे धेरै जानकारी त छैन तर आजको प्रविधिको दुनियाँमा यो असम्भव होला जस्तो चैं लाग्दैन । त्यसैले आम नेपाली जो जतासुकै बसेको भए पनि आफ्ना प्रतिनिधि झन स्थानीय सरकारका प्रतिनिधि रोज्ने अवसरबाट वन्चित हुन नपरे हुन्थ्यो भन्ने लाग्छ । धेरै भन्दा धेरै नागरिक सहभागिताको चुनाव नै ज्यादा वैधानिक हुन्छ ।

चुनावको बेला मानवीय सरोकार र सामाजिक समस्या सभ्यता र देशकै समस्या, महिला, दलित र निमुखाको समस्याबारे पार्टीहरूले आफ्नो ध्यान खिच्नु जरुरी छ । यी र यस्ता समस्याको पक्षमा जो बढी संवेदनशील र जिम्मेवार छन्, तिनीहरू नै जनताका सच्चा हिमायती हुन, जनप्रतिनिधि बन्न लायक हुन्छन् । त्यस्ता प्रतिनिधि र मान्छे खोजी खोजी जिताउन सबैले पहल गर्नुपर्छ । म आफै चुनावमा उठ्ने र गाउँको सेवा गर्ने रहर नभएको कहाँ हो र ? म यता भए पनि घरका मान्छेले मेरो र हाम्रो मान्छे होइन, लायक र इमान भएको मान्छेलाई जिताउनु पर्छ है ।

हत्तेरी, म त बहकिएर चुनावतिर पो मोडिएछु ।

प्यारी आमा,

तपाईंकोे स्वास्थ्य कस्तो भयो अहिले ? कतै झारफुकको भर मात्रै पर्नु भएको त छैन ? काकीले स्वास्थ्य चौकीतिर डोर्याएको फोटोले औषधि खाएर आमा पक्कै ठिक हुनु भयो होला भन्ने आशामा छु । औषधि खानु विज्ञान हो भने झारफूक मात्रै चै मनोविज्ञान हो । तसर्थ पहिलो प्राथमिकता औषधिलाई दिनुहोला । त्यसपछि मात्रै हाम्रो चलनको मनोविज्ञानलाई ? म झारफुक गर्दै नगर्नुस् भन्दिन । यो अन्धविश्वास नै हो तर पनि हाम्रो सामाजिक मनोविज्ञान पनि भएकोले यसलाई पूर्णतया अहिल्यै निषेध गर्न हुन्न । तर अनावश्यक खर्च गरेर फुकफाकमा मात्रै भर परियो भने ज्यान जान सक्छ नि । 

बोक्सीको नाममा अनेक यातना दिएको र मान्छे समेत मारिएको घटना प्रायः बारम्बार सुनिरहेका छौं । त्यसैले यसमा होशियारी भने अपनाउनु पर्छ । जानेबुझेकाले सम्झाउनु पर्छ । छाउ, नछुनी, दहेज, जातीय छुवाछुत जस्ता कतिपय अत्यन्तै आपत्तिजनक कुप्रथा र परम्परा हाम्रो समाजमा छन्, तीबारे रहेका अनावश्यक भ्रम, अन्धविश्वास र खराव मनोविज्ञानलाई हटाउनुपर्ने दायित्व हाम्रो पनि हो । 

प्यारी आमा,

बुबाको चुरोट खाने बानी पहिले झैं छ कि छाड्नु भयो ? सानाकान्छा बाजेको मदिराको लत उस्तै छ कि छाड्नु भयो ? बुबा अलि अलि काममा पनि सघाउनु हुन्छ कि वृद्ध भत्ताको धाक दिएर बस्नु हुन्छ ? जलबिरे काकाले तास खेल्न पक्कै छोड्नु भयो होला ? गरिब र दलित नै भए पनि सामाजिक काम गर्ने तुला काकाको योगदान गाउँलेको लागि धेरै छ । धन भएका मन नभएकाहरूको दाँजोमा मन भएकी तर धन नभएकी उजेली काकीको मर्दा पर्दा दिलोज्यानले सघाउने बानीले आज पनि काकीलाई सम्झन मन लाग्छ । गाउँका सबै आफन्त इष्टमित्रलाई साइनोअनुसार सेवा ढोग, सम्झना र आशिर्वाद सुनाइ दिनुहोला है आमा ।

देश छाडेर आउँदा नै हामी अभागीहरूले मुटु कठोर बनाउने अभ्यास गरेका हुन्छांै । एक गाँस खान र एक आङ् ढाक्न अनि श्रीमती छोराछोरीको भविष्य बनाउन सकिन्छ कि भनेर यो म?भूमिमा कठोर मुटु पारेर पसिना बगाउन आएका छौं । आफ्नै देशमा आयआर्जन र रोजगारी मिल्थ्यो भने यति टाढा बसेर आफ्नो भाग्यलाई धिक्कार्दै यहाँ बस्नु पर्दैनथ्यो । आँटो पिठो खाएर आफ्नै बुढा बाबुआमा, छोराछोरी र जीवन संगिनीसँग बसेर खाइन्थ्यो । घरका जहान परिवार विरामी हुँदा सहज उपचार, छोराछोरी पढाउन सर्वसुलभ शिक्षा र भैपरी आउँदा केही खर्च जोहो गर्ने पैसा कमाउने स्थिति आफ्नै गाउँ घरमा हुन्थ्यो भने यो विरानो ठाउँमा रगत पसिना बगाएर घोटिनु पर्दैनथ्यो । बाबु आमाको अन्तिम समयसम्म सँगै रहने अवसरबाट टाढा हुने स्थिति हुँदैनथ्यो । हामी रहरले परदेशिएका होइनौ । खुशी आफ्नै ठाउँमा छाडेर रहर र सपना देखेर मात्र यो विरानो मुलुकमा दश नङ्ग्रा खियाउन आएका हौं ।

आजभोलि दिनदिन कुनै न कुनै घटना र दुर्घटनामा नेपालीले ज्यान गुमाएको खबर पाइन्छ । अनि रातो बाकसमा आफ्नै सहकर्मी, छिमेकी र नेपालीको लाश देश फर्काउन अनेक ठाउँमा हारगुहार गर्दा, दुतावास धाउँदा आफ्नै पनि कुन दिन यस्तै नियति हुने हो कि भनेर मन अतासिन्छ । मुटु काँप्छ, भक्कानिन्छ छाती, झर्छ आँशु, वैरागिन्छ मन अनि फतक्क गल्छ शरीर र लोलाउँछ नयन । आफ्ना लालाबालाको कहालीलाग्दो भविष्य सम्झेर कता कता पुग्छ मन ? 

यो विरानो मुलुक छाडेर आफ्नै आमाको काख जाउँ जाउँ पनि लाग्छ । अर्काको देशमा श्रम, पसिना, आँशु र रगतले सिँचन गरेर मलिलो बनाउन, बालुवामा फसल फलाउन लाग्नु भन्दा एक थोपा पसिना भए पनि आफ्नै देशमा पोख्न मन नलाग्ने त होइन ? तर, गाउँ फर्केर पनि के गर्ने, कसो गर्ने ? उचित अवसर र वातावरण छैन । खेद लाग्छ ।

हुन त प्रवासमा बसेर पनि देश थेग्ने हामी नै हौँ । देश चलाउन चाहिने विदेशी मुद्राको मुख्य श्रोत हामीले पठाएको रेमिट्यान्स त हो । हामीले रगत पसिना बगाएर रेमिट्यान्स पठाएका छौं र धनीमानी व्यक्तिले महँगा गाडी चढ्न र विलासिताका वस्तु प्रयोग गर्न पाएका छन् । महँगो संघीयता चलाउन चाहिने खर्च पनि हाम्रै रगत पसिनाको आर्जन हो । हाम्रै रगत पसिनाको आर्जन नेताहरूले आफ्नै माइती, मावली, ससुरालीको पेवापात दाइजो र दान झैँ खर्च गरिरहेका छन्, उपचार गर्न विदेश पुगेका छन् ।  आफू र आफ्ना जहान परिवार, छोराछोरीलाई सिटामोल र जीवनजल खुवाउन सकेका छैनौं, भोकै नांगै राखेका छौं । तर नेताहरू पाल्ने हैसियत अनि विश्वका महँगा र उच्चस्तरीय अस्पतालमा उपचार गरेर चोला फेर्ने अवस्था हामी विदेसिएकैे कारण सम्भव भएको छ । यस अर्थमा एक मन त गर्व पनि लाग्छ ।

स्थानीय निकायदेखि प्रदेश र संघीय सरकारका कर्मचारी, मन्त्रीहरू हाम्रा आर्जनमा सेवा र सुविधाको नाममा देशमा ब्रम्हलुट मच्चाइ रहेका छन् । परदेश भूमिमा मरौ परौ हुन्छ, आपतविपद पर्छ, भवितव्य हुन्छ, अनाहकमा साथीभाइ जेल पर्छन्, चेलीबेटी बिचल्ली र बलात्कारको शिकार बन्छन् । त्यो बेला उद्दार गर्न हाम्रो प्रयत्न र जोड हमेशा रहन्छ । त्यो बेला गरिने सहयोग कुन नेपालीको समाजसेवा भन्दा घटी हुन्छ र ? तसर्थ हाम्रो सामाजिक योगदान र सेवामा देश बाहिर बस्दा पनि कटौती भएको छैन । घरदेश परदेश जहाँ रहे पनि नेपाली मन उस्तै हो, कोमल छ, सहयोगी छ । सेवाभावामा सदैव तत्पर र क्रियाशील रहन्छ । आखिर नेपाली रगत न हो, सहयोग सेवा, सत्कार र मानवीय धर्म, हाम्रो पहिचान, कर्तव्य र अमूल्य निधि बनेको छ । 

नेपालीहरूको सेवाभाव, सहयोग गर्ने बानी, परिश्रम, जोखिम मोलेर काम फत्ते गराई छोड्ने आँटप्रति विदेशी रोजगारदाताहरू पनि यदाकदा प्रशंसा गर्छन् । त्यतिबेला संसार नै जितेको अनुभूति हुन्छ । तर विदेश भनेको परदेश नै हो । उनीहरू ज्याला दिएपछि यन्त्रवत काममा जोत्छन्, पुच्छर निमोठी रहन्छन् । ज्यानको सुख सुविस्ता, सन्चो विरामको ख्याल राख्दैनन् । ज्यानलाई सन्चो नभए पनि नाइँनास्ती गर्न मिल्दैन, बिरामी भएको छुट मिल्दैन । त्यस्तो बेला देश छोडेर आउनुको पीडाले नमज्जाले सताउँछ । आफ्नो देशमा यति दुःख गरियो भने के असम्भव छ र जस्तो लाग्छ । तर, फेरि आफ्नै सुदूर अतीतले दुखाउँछ, भत्भती पोल्छ । 

तपाईंलाई थाहै छ आमा, गाउँ उसै छोडिएको थिएन । गाउँमै केही गर्छु भनेर ऋण खोज्न जाँदा साहुको दैलो सैयौ चोटी चहार्दा ऋण नपत्याएका साहु विदेश जाने हल्ला सुनेर घरमै ऋण दिन आएका हैनन् र ? म त सामान्य मान्छे, मेरो हकमा मलाई गाउँले साहुले खेती गर्छु भन्दा ऋण नपत्याउनु स्वाभाविकै हो । मलाई चित्त बुझाउने ठाउँ छ तर मास्टर डिग्री सकेर पनि गाउँमा केही गर्छु, रोजगारी सिर्जना गर्छु भनेर कृषि प्रोजेक्ट सम्बन्धी अवधारणा लिएर रकमको जोहो गर्न साहुहरूको ढोका चाहर्दै हिँड्ने भीमसेन दाइको कथा व्यथा कम दुःखद छैन । 

सस्तो र सहुलियत दरमा ऋण दिने सरकारी प्रतिवद्धता र बैंकहरूको रवैया काम गरेर खाने र उद्योग धन्दा सञ्चालन गर्नेको हितमा छैन । आफ्नो आयवृद्धि गर्नु मात्रै बैंकको उद्देश्य हो, ऊ ग्राहक मैत्री छैन । बैंक आफू धनी हुने, ऋणी गरिब बनाउने लक्ष्यमा छ । गाडी किन्न सहज ऋण दिने बैंक तरकारी, फलफुल, पशुपालन लगायत कृषिजन्य उत्पादनका लागि लोन पत्याउँदैन । आत्मनिर्भर र रोजगारीको बाटोमा लाग्न खोज्नेलाई बैंक रित्तो हात फर्काउँछ । बैंक कृषकलाई उद्यमी मान्दैन । यस्तो नीति रहेसम्म देशमा युवा फर्कने, उद्यम गर्ने र गाउँ बनाउने वातावरण कसरी बन्छ ?

त्यत्रो पढे, लेखेका देश विदेश घुमेका, प्रविधि र ज्ञान सीप भएका, भीमसेन दाइको योजना, कार्यक्रम र उद्देश्यलाई बैंकले सघाएन ।  उनको उद्देश्य थियो, गाउँमै रमाउने कमाउने र गाउँ जमाउने । युवा पुस्तालाई स्वरोजगार बन्न अभिप्रेरित गर्ने, अर्ग्यानिक खेती गर्ने, हरियाली वृद्धि गर्ने, वनजंगल जोगाउने, सुख्खा जमिनमा हरियाली बनाउने, जडिबुटी खेती गर्ने, प्रशोधन गर्ने र निर्यात गर्ने, पशुपंक्षी पालन गर्ने लगायत यावत योजना उदेश्य र रहर थिए । तर शैक्षिक प्रमाण पात्र धितो राखेर दिने लोनको घोषणा समेत गाउँको हकमा लागू भएन ।

गाउँमा राजनीति गर्ने दलका कार्यकर्ताले भीमसेन दाइको यो विचारलाई समर्थन गर्नुको बदला उनलाई गाउँ छोडाउन वातावरण निर्माण गरे । काम गर्ने मान्छेको जोश जाँगर र इच्छा मार्ने प्रपञ्च गर्दै हतोत्साहित गरेर हेप्ने, उडाउनेमा लागे । अन्ततः भीमसेन दाइले समेत पलायनको बाटो रोजे । यसरी हाम्रा गाउँहरू युवाविहीन भएका हुन् । जहाँ बसे पनि देशको माया छ । आँखाभरी देश बनाउने सपना छ । तर, देशले हामी जस्ता युवा स्वदेशमै राख्ने नीति बनाएको छैन । त्यसैले विदेशिनुको विकल्प छैन ।

विदेशी भूमिबाट हेर्दा हामी गरिब छैनौ, हामी निर्धन होइनौ । हामी धन चिन्न नसकेर र यसको सदुपयोग गर्न नजानेर, नसकेर गरिब भएका हौ । हाम्रो ठुलो धन हाम्रो मेहनत गर्ने स्वभाव पनि हो । तर त्यो स्वभाव र त्यो शक्ति विदेशी भूमिको लागि भएको छ । यता विदेशमा गर्ने कर्म स्वदेशमा गर्न नलजाउने हो भने मात्रै पनि हामी नेपालमा नै असहजताका बाबजुद अलि धेरै गर्न सक्छौ । नेपालमा बस्दा उत्पादनमुखी काम नगर्ने र काम गर्दा आर्जित रकम फुर्मासी गर्ने बानीले हामीलाई अभावमा बाँच्न अभिशप्त गराएको हो । पाएको काम सानो भन्ने र काम गरे बापतको रकम जोगाउन नजान्ने प्रवृत्तिले हामीलाई विपन्न बन्न सघाएको तथ्य घाम जत्तिकै छर्लंग छ । 

सरकारले आफ्नो मलिलो जग्गा बाँझो र सुख्खा राखेर बालुवामा तेल निकाल्न युवा निर्यात गर्ने नीति अख्तियार गरेको देख्दा दिक्क लाग्छ । हाम्रो श्रम शक्ति र ऊर्जा देशले सदुपयोग गरे हामी हाम्रा कलिला नानी बाबुको तोते बोली र आमा बाको न्यानो काख र जीवन संगिनीको न्यानो अँगालोबाट विमुख हुनु पर्दैनथ्यो । 

प्यारी आमा,

परदेशमा धेरै थोक छ तर देश छैन । सबैभन्दा मुख्य कुरा आमा तिमी छैनौ । बुबाको अभिभावकीय हप्की छैन । काकाको साथीत्व सहितको स्नेह छैन । अहिले वनमा कराउने कोइलीको कुहु कुहु छैन । घाँस, दाउरा र गोठालो जाँदा साइँली दिदीले ल्याइदिने चुत्रो छैन । केवल यहाँ छ साहु र उसका चम्चाहरूको निर्दयी आदेश निर्देश र कठोर कर्कश आवाज । यहाँ हामी मान्छे भएर बसेका छैनौं, यन्त्र मानव भएका छौं । पचास डिग्रीको गर्मीमा खलखली पसिना बगाएर काममा जोतिनु र शुन्य डिग्री भन्दा तल रगत जम्ने चिसोमा काम गरेर बस्नु हामी नेपालीको कुनै सुख र रहर होइन बाध्यता हो । यो मेरो व्यक्तिगत गन्थन मात्रै होइन आमा, बाध्यताले प्रवासमा बसेका आम नेपालीको पीडा हो । 

आमा तपाईंको आशीर्वाद सधैँ सधैँ पाइरहने अपेक्षा र विश्वासका साथ आजलाई बिदा हुन्छु । 

उही तपाईंको

परदेशी छोरा

(नोटः यहाँ उल्लेखित आमा सम्बोधन देशरूपी आमा र जन्म दिने दुवै आमा भएको बुझ्न अनुरोध छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप