मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मातातीर्थ औँशीः खुसी हराएका आमाहरूको मुख हेर्ने दिन

शनिबार, १७ वैशाख २०७९, १४ : ३६
शनिबार, १७ वैशाख २०७९

आज मातातीर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिन । आजभोलि अङ्ग्रेजी भाषा धेरै प्रयोग हुने भएकाले धेरैले आजको दिनलाई ‘मदर्स डे’ भनेर पनि मनाउने गरेका छन् । आजको दिन जन्म दिने आमाप्रति श्रद्धा, सम्मान र आदर गरी मीठा–मीठा मिष्ठान्नहरू खुवाएर मातातीर्थ औँशी मनाउने परम्परा छ । 

आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँशीका दिन मनाइन्छ तर म भने आजको दिन आमाको काखबाट टाढा रहेर मातातीर्थ औँशी मनाइरहेको छु । प्वाख पलाएको चराझैँ खुट्टा लागेपछि आफ्नो पढाइ, भविष्य र परिवारले मप्रति देखेका केही सपनाको खोजीमा । 

‘आमा’ एउटा यस्तो शब्द हो; जो उच्चारण गर्दा नै उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । आमा भगवान्को अर्को रूप हो । जसलाई पुज्न हामी एक दिनलाई पर्खेर बस्छौँ । अझ भनौँ अहिलेको हाम्रो समाज यति व्यस्त भयो कि एउटै भूगोलमा रहेर पनि भेट्न जान नभ्याउने भइसकेका छौँ अनि सामाजिक सञ्जालका भित्ताहरूमा आमाका तस्बिरहरू पोस्ट्याउँदै अनेक गुणगानसहित आज मातातीर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिन भन्दै स्टाटस लेख्छौँ ।

शास्त्रमा आमालाई पिताभन्दा पनि माथिको ओहोदामा राखिएको छ । आमालाई पृथ्वी र धरातलसँग दाँजिएको छ । संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा नै भनेर उल्लेख गरिएको छ । तिनै आमा जसले हामीलाई यो संसार देखाइन्, नौ महिना गर्भमा राखेर अनेक पीडा सहिन् र काखमा राखेर पालनपोषण गरिन् । प्रेम सबैले गर्छन् तर निःस्वार्थ कस्तो हुन्छ त्यो आमाबाटै सिकिन्छ । गहिरो प्रेमको औचित्य पनि आमाबाट नै थाहा हुन्छ । 

आफू भोकै बसेर पनि पसिनाको धारा बगाउँदै सन्तानको पेट भर्छिन् आमा र अकालबाट बचाउँदै जवान बनाउँछिन् । संसारको हरेक चिज चिनाउँछिन् जानेजति सबै सिकाउँछिन् र सहारा दिन्छिन् । यो के हो ? त्यो के हो ? किन यस्तो भयो ? कहाँ, किन ? कसरी ? कस्तो ? कति ? कहिले ? पत्रकारितामा प्रयोग गरिने ५ डब्ले १ एच हामीले सानैमा आमासँग प्रयोग गरिसकेका हुन्छौँ । आमाको सन्तानप्रति असीमित चाहना हुँदैन । केवल मेरो सन्तान सही बाटोमा लागोस्, नाम राखोस्, ठूलो मान्छे बनोस् र जुन ठाउँमा पुगे पनि आमा, बुवा, घरपरिवारलाई सम्झिएर फर्कियोस् । बस यति चाहना हामीले कहिल्यै बुझ्न खोज्दैनौँ । आफू बलियो भएपछि त्यही सहारालाई बेसहारा बनाउन तत्पर हुन्छौँ हामी । टाढिएर परिवारबाट यतिसम्म गर्छौँ कि चाडबाडको बेला आउने पाहुना जस्तो मात्र हैन, चिनजान नभएको परदेशी जस्तो बनिदिन्छौँ । 

बूढापाकाले गाउँघरमा प्रचलित एउटा उखान छ, “बुवा नभए टुहुरो हुँदैन तर आमा छैन भने त्यो बच्चा टुहुरो हुन्छ ।” आज मलाई यो उखान बुढापाकाहरूले भोगेर अनि बुझेर राखेका रहेछन् । हरेक प्राणीका लागि आमा के हो भन्ने यही उखानले बोल्छ । त्यसैले जन्म दिने आमाको तुलना कसैसँग हुन सक्दैन । 

अहिलेको हाम्रो समाजमा धेरैका सन्तानले आफैँ आमाबुवालाई आश्रममा लगेर राखिदिने गरेका छन् त कोही सन्तानको अपहेलनाले गर्दा आफैँ गएर आश्रममा शरण लिएर बसेका छन् । के ती आमाहरू सन्तानको माया पाएर आश्रम पुगेका हुन त ? मैले मेरो जीवनकालमा जन्म दिने आमाको भन्दा कर्म दिने आमाको बढी माया पाएको छुु । मलाई जिम्मेवारी बनाउन मेरी जन्मदिने आमा मात्र हैन, कर्म दिने आमा पनि उत्तिकै भनौँ या अझ बढी भूमिका रह्यो र त आज कसैको अगाडि शिर झुकाउनुपरेको छैन । 

मैले मेरो अध्ययन र कार्य सिलसिलामा धेरै आमाको माया र साथ पाएँ । भन्छन् नि जन्म दिने आमाभन्दा कर्म दिने आमा महान् हुन् तर मेरो लागि सबै उत्तिकै महान हुन् । जन्म दिने आमाले मलाई यो भर्तीमा जन्म नदिनु भएको भए कर्म दिने आमाले कर्म दिने जिम्मेवारी नै कसरी पाउनु हुन्थ्यो ? मैले जीवनमा धेरै धेरै आमाहरूको माया पाएको छु । यस अर्थ म गर्व गर्छु, किनकि उनीहरूले ६०–७० दशक काटेका आमाहरूले यो मनलाई विश्वास गर्नुहुन्छ । मप्रति केही आशा राख्नु हुन्छ । 

आमाको स्वरूप धेरै छन् आमा, ममी, हजुरआमा, बज्यै, ठुलीआमा, सानीआम, मुन्नी रगतको नाता र भावनाको भएका आमा, मितिनी आमा, सासू आमा, साथीको आमा पनि सबै आमा नै हुन् । यी सबै आमाहरूको माया, ममता, सहयोग र आशीर्वादले नै सन्तानको जीवन सफल र सुखी हुन्छ । आज मातातीर्थ औँशी मनाइरहँदा मलाई चित्त नबुझेको कुरा आमालाई एक दिन मात्र सम्झने र माया गर्ने पटक्कै हैन । आमाले सानामा हामीलाई स्याहारेझैँ हामीले पनि हरेक पलको सहारा बन्न सक्नुपर्छ ।

अहिले सन्तान अलि जान्ने हुँदा आमा नजान्ने, अनपढ, गवार, अबुझ, फोहोरी, नराम्री यस्तै लाग्न सक्छ तर सम्झनुहोस् तपाईंलाई आज यहाँसम्म यस्तो बनाउँदासम्म उहाँको कति ठूलो त्याग रह्यो । हाम्रो पहिलो गुरु नै आमा हो । भनिन्छ नि, भगवान् खोज्न मन्दिर जानु पर्दैन । आमाको चरण ढोगे पुग्छ । धर्म गर्न कुनै दान गर्नु पर्दैन, आमालाई खुसी राखे पुग्छ । चार धाम सबै तीर्थ आमामै गएर समाहित भएका छन् । आमालाई गरिने माया र सम्मान नै हरेक सङ्कटको मोचन हो । 

आमाको आशीर्वादबिना पाइला टेक्न नपाउने भनाइ छ । जसले हामीलाई यो धर्तीमा ल्यायो आज हामी उनलाई नै भुलिरहेका छौँ । आफू भोकै बसेर भोक छैन, भनेको सन्तानले सायद बिर्से होलान् । त्यति बेला आमाको काखमै स्वर्गीय आनन्द आउँथ्यो । आज त्यही काख बिझाउने सिस्नु जस्तो बनेको छ । बाल्यकालमा त्यही आवाज मधुर लाग्थ्यो, आज त्यही आवाज कर्कस लाग्न थालेको छ, अहिलेका तन्नेरीहरूलाई । बाल्यकालमा आफ्ना सन्तानलाई केही नहोस् रेखदेखमा २४ सै घण्टा स्याहार्थिन् तर आज आमाका लागि सन्तानलाई कहिले औँशी आउँछ र मुख हेर्न जाऔँ, मीठो खुवाउन जौँ र राम्रो लुगा लगाऊँ भन्दै दिनहरू कुरेर बसेका छन् । अतः धेरैले त एउटै सहर, गाउँमा रहेर पनि अहिले म आउन पाउँदिन पैसा पठाइदिएको छु जे–जे खान लाउन मन लाग्छ, खर्च गर्नु है भन्दै टार्ने गरेका छन् । 

आमाको मुख हेर्न कुनै तिथि, औँशी आउनुपर्छ भन्ने छैन । आफ्नो सन्तानका निम्ति आफ्नै संसार भुलिदिने ती सम्पूर्ण आमाको सोच, साहस र क्षमतालाई सलाम छ । आमा समकालीन पुज्य हुन् । सम्पूर्ण आमाहरूप्रति असीमित माया अनि असिम शुभकामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप