मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

निबन्ध : वसन्त आउँछ रे !

शनिबार, १७ वैशाख २०७९, १४ : ४९
शनिबार, १७ वैशाख २०७९

वसन्त लाग्यो तर रूपरङ, मौसमको हाउभाउ केही छैन । पश्चिमी विश्वमा चारवटा ऋतु छन् । ग्रेगोरियन पात्रोअनुसार २२ मार्चबाट वसन्त ऋतु (स्प्रिङ) सुरु हुन्छ । हरेक तीन महिनामा ऋतु परिवर्तन हुन्छ । पूर्वी विश्वको हाम्रो विक्रमको पात्रोअनुसार महिनाअनुसार दुई दुई महिनाका छ ऋतु भएझैँ यहाँ हँुदैनन् । ठीक तीन महिनामा वसन्त ऋतु सकिएर गृष्म (समर) सुरु हुन्छ । फेरि ठीक तीन महिनामा समर सकिएर (वर्षा) आउँछ । हाम्रो वर्षा र शरदको सङ्गमका तीन महिना यो ऋतु रहन्छ र त्यसपछि फेरि तीन महिनाका लागि शिशिर (विन्टर) सुरु हुन्छ । हाम्रो हेमन्तको अन्तिम डेढ महिना र शिशिरको डेढ महिनाको शिशिर ऋतु हुन्छ ।

ऋतु सम्बन्धमा यहाँ क्यानडाका सन्दर्भमा केही कुरा लेखिरहेको छु । यो ५६.१३०४ डिग्री उत्तरी अक्षांश र १०६.३४६८ डिग्री पश्चिमी देशान्तरमा रहेको देश हो । यद्यपि नेपाल भने २८.३९४९ डिग्री उत्तर र ८४.१२४० डिग्री पूर्वमा लमतन्न तेर्सिएको छ । यस हिसाबले यो नेपालभन्दा धेरै उत्तर अर्थात् उत्तरी ध्रुवीय र धेरै पश्चिम अर्थात नेपालभन्दा पृथ्वीको विपरीत भागमा क्यानडा अवस्थित छ ।

क्यानडा रुसपछि विश्वको दोस्रो ठूलो भूभागमा फैलिएको मुलुक हो । यसको क्षेत्रफल ९९,८४,६७० वर्ग किमि छ । मौसमका हिसाबले अन्टार्कटिका मानवरहित सबभन्दा चिसो ठाउँ हो । मानव बस्ती भएका देशहरूमा चाहिँ  रुसपछि यो दोस्रो चिसो मौसम भएको मुलुक हो ।

अहिले यहाँ ऋतुका गतिमा वसन्त लागिसकेको छ । तर रूखहरूमा पालुवा लाग्ने अत्तोपत्तो छैन । वसन्तले कहीँ कतै मेलोमेसो थालेको छैन । मनसुनी समशीतोष्ण जलवायु भोगिआएको म अहिले क्यानडाको वसन्तमा बिलखबन्द भएर टोलाइरहेको छु । शिशिरमा परेको हिउँले रुखका पातहरूको चिनुबानु राखेको छैन । सबै सिक्रा मात्र छन् । म टोरन्टोमा भएकाले यही क्षेत्रलाई भनिरहेको छु । यो क्यानडाका न्यानो सहरमध्ये एक पर्दाे रहेछ । हिजोआज ० देखि २ डिग्री सेल्सियस सम्ममा तापक्रम घुमिरहेछ ।

रुखहरूमा पालुवा लाग्न ससाना राता राता कोपिलाजस्ता बस्ने कुरा मात्र यहाँका मानिसहरू गर्छन् । धुपी सल्लाका रुखहरू कता कता छन् । तिनलाई भने हिउँले असर गर्दाे रहेनछ । ती हरिया झुप्पै छन् । अरू रुख र चउरको झारको भने सातोपुत्लो गएको छ । तर अब साह्रै छिटो हरियाली हुने कुरा गरेर यहाँका बासिन्दा खुसी मनाउँछन् ।

बडो अचम्म लाग्छ ! यो धर्ती, यो आकाश, यो वायुमण्डल, यिनका आधारमा रहेका अनेकानेक वस्तुहरूका बारेमा जानेर बुझेर पनि के सकिँदो रहेछ र ! मान्छेले उहिलेदेखि अहिलेसम्म अध्ययन गरेर पनि सकैको छैन । मानिसका मनमस्तिष्कमा आफूले जाने बुझेका, देखे भोगेका, पढे सुनेका कुराहरूकै विम्ब बनिरहेको हुन्छ । मलाई हिउँ पर्ने ठाउँ भन्ने बित्तिकै हाम्रो हिमाली काखदेखि अग्ला हिमालसम्मका आकाश छुने चुचुरा र तिनका काखहरू जस्तो लाग्छ । मैले मेरा पितापुर्खादेखि  नै जाने बुझेको देखे भोगेको त्यही  त हो । 

हिउँ भन्ने बित्तिकै उच्च पहाड र हिमाल मेरा मनमस्तिष्कमा जुरुक्क उठेर ठिङ्ग उभिइहाल्छन् । त्यसभन्दा मुनिको भाग हामी गोठ बस्ने, हाम्रा वस्तुभाउहरू चर्ने चौर र डाँडा पाखाहरूमा पुस माघमा सेताम्मे तुसारो परेको ताजै छ । बिहान खाली खुट्टाले सेताम्मे तुषारो परेका बाटा र चौरमा हिँड्दा पैतालाबाट कुरुम कुरुम भुटेका मकै चबाए जस्तो आवाज आएको कति रमाइलो हुन्थ्यो । हातखुट्टा चिसाले गँगरिएर अररा हुन्थे । हात मुठ्ठी पर्दैनथे । आगामा बिस्तारै सेकाउँदा कति राहत मिल्थ्यो । बिहानै उठेर भालुबाँसका लामा लामा धिरी (दुई तीनवटा आँखाका भित्रपट्टि खोलेर बनाइएका लामा लामा ढुङ्ग्रा) लिएर धारामा जाँदा त धारो जमेर ठिङ्ग उभिएको हुन्थ्यो । फ्याट्ट हिर्काउँदा कर्याक कुरुक भएर भाँचिन्थ्यो र धरररर धारामा पानी खस्थ्यो । रमाइलो मानेर पानी थापेर ल्याइन्थ्यो । 

गोठ, डाँडा र चौरबाट उत्तरतिर हेर्दा नजिकै डाँडाकाँडा हिउँले सेताम्मे देखिन्थे । युवा उमेरमा यस्तो देखे भोगेर बनेका अनुभवको विम्ब मनमस्तिष्कबाट कहिल्यै नउखेलिने गरी जरा गाडेर बसेको रहेछ । त्यसैले, जहिल्यै हिउँ भन्ने बित्तिकै उत्तरतिरका अग्ला डाँडाकाँडा सम्झनाका चित्र उपस्थित भैरहन्छन् । यस्तो बानी परेको मनमस्तिष्क आफ्नो बानी को छोड्छ, अरूको बानी को लिन्छ भएको रहेछ ।

यो धर्ती त मैले युवा वयमा देखे भोगे सुने बुझेर मनमस्तिष्कमा स्थायी विम्ब बनेजस्तो मात्रै कहाँ पो रहेछ र ! पृथ्वी गोलो, सुन्तलाजस्तै थेप्चो परेको छ भनेर त भूगोलमा पढिएकै हो । तर माथि उत्तरतिर थेप्चो परेका ठाउँमा डाँडाकाँडा छैनन् भनेर चाहिँ हाम्रो भूगोल शिक्षाले त्यतिबेला भन्दै भनेन । 

अहिले म वैशाखको मध्यतिर पनि हिउँ पर्ने ठाउँमा बरालिँदै छु । हामी भएभन्दा कति हो कति उत्तर हो यो ठाउँ । यो क्यानडाको टोरन्टो भन्ने बिन्दु पृथ्वीको उत्तर टुप्पाकै छेउछाउ हो । अर्थात् यहाँबाट पृथ्वीको उत्तरी टुप्पामा पुग्न २९३७ माइल मात्र बाँकी छ । मेरा मस्तिष्कमा बनेको हिउँ पर्ने ठाउँ र यो हिउँको राजधानी भनेर भन्दा पनि फरक नपर्ने ठाउँमा कति हो कति फरक छ । पढेरभन्दा परेर जानेको सही हुँदो रहेछ । त्यसैले पहिलेदेखि ममा मजाले बनेर बसेको धारणा चाहिँ यहाँको भोगाइसँग मिल्दै मिलेन ।

सायद मैले बुझेको पृथ्वीको उत्तर छेउको थेप्चो परेको ठाउँ नै यही होला । यहाँ जम्मैसम्म भूमि छ । हाम्रो तराई जस्तै छ । यो माथि लेकमा पनि यस्तो अचम्म लाग्दोसम्म हुँदो रहेछ । हामीले जाने बुझेको लेकजस्तो मात्रै होइन रहेछन् संसारका लेकहरू । यहाँ न त हाम्रो हिमालय पर्वत जस्ता लामा लामा पर्वतमाला छन् न त फुङ्सिङ, उत्तरे, राउते डाँडो, राँके जस्ता डाँडा नै छन् । यहाँ इन्द्रकिल भनिने आधुनिक सिक्किमजस्ता अग्ला अग्ला रमाइला इन्द्रकिलका चुच्चे डाँडाहरू छैनन् । त्यो विशिष्ट र विविधतामय भूबनोटको रमणीयता यहाँ के को पाइन्छ र ! 

यहाँको कठ्याङ्गिँदो चिसो मैदान पनि हिमालयको काखमा कहाँ खोजेर पाउनु र ! जता हेर्यो उतै सम्म छ । अलेली गहिरा र दम्स्याइला पाटाहरू भने जताजतै बग्रेल्ती छन् । छङ्छङ गरेर शिवजीले विकास गरेका नाद निरन्तर दिएर बग्ने हाम्रा खेतबारी छेउका खोल्सा पाइदा रहेनछन् । अनि गडडडड गड्किएर बग्ने अरुण, तमोर, भोटेकोसी, त्रिशूली, कर्णाली र महाकालीहरूको घनघनाहट यहाँ कहाँ खोजेर पाइन्छ र ! 

यहाँ त भएका खोला खोल्साहरू पनि डरले लुसुक्क लुसुक्क हिँडेको बिरालोझैँ कसैले देख्छ कि र सुन्छ कि भनेर भागिरहेजस्ता रहेछन् । सेन्ट लरेन्स, सस्काचन, कोलम्बिया, युकोन, मेकानाइज जस्ता थुप्रै ठूला नदीहरू यस विशाल उत्तरी र महासागर किनारी देशमा छन् । सस्काचन जस्ता केही नदी किनारमा भने होचा पहाडहरू पनि पाइन्छन् । तिनले दिने यहाँको सौन्दर्य भने शब्दमा वर्णन गर्न निकै कठिन नै रहेछ । 

विशाल नदी, वरिपरिका होचै भए पनि पहाड, त्यहाँको जङ्गलको सुन्दरता र बाह्रै महिना घाम र पानीले बनाएको छुट्टै प्राकृतिक सौन्दर्यको राजधानी पारख गर्ने मान्छे भने अलिक थोरै नै रहेछन् । यस्ता नदीहरूलाई जलयातायातमा प्रयोग गरेर सकेसम्म लैना गाईजस्तै दूधैदूध दिने बनाइएको रहेछ । नदीहरू कि त विशाल तालहरूमा  कि त आन्द्र वा प्रशान्त महासागरमा पुगेर आफ्नो अस्तित्व विसर्जन गरिरहेका छन् । हिमालयका काखका जस्तै यहाँका नदीहरू पनि युगौँदेखि हिउँबाटै बनेर बगिरहेका छन् । त्यसैले यी दुवै ठाउँका नदीहरू हिउँकै सन्तान  हुन् ।

यो लेकाली मुलुकको वसन्त र हाम्रो वसन्तमा असाध्यै फरक पाइँदो रहेछ । हाम्रो वसन्तमा यतिबेला लालीगुराँस फुलेर देशभरिका लेकहरूमा जताततै राताम्य छ । त्यहाँ पुगेपछि छाडेर नहिँडौं नहिँडौं लाग्छ । हिमालको सारा काख, पहाड, लेकबेँसी, तराईका वनजङ्गलमा ढकमक्क फूल फुलेर झकमक्क भएका छन् । अनेक रङ्गचङ्गी फूलहरूले नेपाल आमा नै प्रकृतिको जग्गेकी बेहुली भएकी हुन्छिन् ।  अझ तिनमा विभिन्न चराचुरुङ्गीहरूका नाचगानले वर्णन गरेरै नसकिने सजिसजाउ गरेर बनाइएको रङ्गमञ्चमा कार्यक्रम भैरहेको प्रकृतिक रङ्गमञ्च नै हो यिन दिनको हाम्रो नेपाल । हरेक रुखहरूका आआफ्नै प्रकारका मुनाहरू छन् । कुनै हरिया, कुनै पहेँला, कुनै सेता, कुनै बहुरङ्गी मन्द हावामा नाचिरहेका काल्पनिक परी नै परीका हुलका हुल छन् । चउरहरू, डाँडापाखाहरू सबै हरियो गुन्युचोलीमा सजिएर साँच्चै मीठो कोसेली बोकेर आइपुगेकी मैतालुझैँ नै भैरहेका छन् ।

तर क्यानडाको वसन्त उराठ उराठ छ । रुखहरू नाङ्गै नाङ्गै छन् । हिउँले धतङ्ग्याएर दिएको पीडा पोखिरहेछन् । चउरहरू दाह्रा ङिच्याइरहेछन् । फूलहरू आशामुखी भएर बसेका छन् । पानी भने फुस् फुस् परिरहेको छ । शिशिरमा औंलातिर बसाइँ गएका चराहरू बिलौना गर्दै घर फर्किन लागिरहेछन् । 

यो जङ्गल, पानी, खेती प्रशस्त भएको मुलुक हो । तर यहाँ गृष्म लागेपछि हाम्रो वसन्त आएर जुर्मुराएर उठ्छ र खुबै फुर्ती देखाउँछ रे । यहाँका बासिन्दा त्यसै भनेर शिशिरमा अररिएर भित्र लुकेको खुशी र हाँसो वसन्तमा ओठतिर सार्दै मात्र छन् । अब हेरौँ वसन्त पनि बेलाबेलाको, ठाउँ अनुसारको हुँदो रहेछ । यसै देशमा पनि सँगै र उत्ति नै समयको वसन्त ता कहाँ हँुदो रहेछ र । कहीँ अलिक लामो कहीँ अलिक छोटो त कहीँ साह्रै छोटो । तर वसन्त चाहिँ जहाँ पनि आउँछ आउँछ । पक्का आउँछ । जहाँ पनि वसन्त त आउँछ रे !

१६५ पिलकिङ्टन ड्राइभ

क्लेरिया बर्चमाउन्ट

टोरन्टो, क्यानडा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप