मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साँच्चै आमा को हुन् ?

शनिबार, १७ वैशाख २०७९, १७ : ५३
शनिबार, १७ वैशाख २०७९

मलाई कथा सुन्न औधि मन पर्छ । सानोमा बुबाले अनेक नेवारी लोककथा सुनाउनु भयो । ती अझै मेरा मानसपटलमा ताजै छन् । आज धेरै वर्षपछि यस्तै यस्तै कथा सुनाउने अतन्नेरी कए बुढी साथी भेटेकी छु । उनले बेला बेलामा सुनाइ रहने कथा म मेरा शब्द खाने डायरीहरुमा टिपेर राख्छु । ती मध्ये ‘हेर्मै तता’को कथा मलाई औधी मन पर्यो ।

‘आज कस्तो हुरी चलिरहेछ । पानी नि पर्ला जस्तो छ । आम्मै ! आकाश त कालै भयो । झमक्कै अँधेरो पो भो ।’ बजारबाट घर फर्किने क्रममा हेर्मै तता फत्फताउन थालिन् । ‘घरमा बुढा एक्लै छ, याकन नू छोरीचा,’ उनको हतारोले साथीलाई पनि छिटो छिटो हिँड्न बाध्य बनायो । बाटोमा खै के के मजाक गर्दै हाँस्दै घरसम्म आइन् । कोठाको ढोका घ्वारक्क खोलेर ‘हेर न बुढा छोरीचाले कत्ति हँसाइ आज, हाहाहाहा...प्वाए स्यात..जिउला ।’ (पेट नै दुख्यो मेरो त ।)

साथीले बाटोभरी हँसाएको हेर्मै तताले आफ्ना बुढालाई भन्न मात्र के खोजेकी थिइन् । उनका श्रीमान् रिसाउँदै भित्तातिर हेर्दै बड्बडाउन थाले, ‘तँ नकच्चरी सारी लगाएर नाच्न थालिस् । हेर त यो नाचेको ।’ एक्कासी उनी फेरि हाँस्दै भन्न थाले, ‘आहा..गुल्लि बाँला प्याखँ । चाचा हिला प्याखँ ल्हू ।’ उनको श्रीमान् ताली बजाउँदै श्रीमतीलाई नाच्न आग्रह गर्न थाले । मादलको आवाज निकाल्न पलेटी कसेका दुई घुँडा पड्काउन थाले । यो सब देखेर हेरमै तता निकै आत्तिइन् । के भयो मेरो बुढालाई ? किन यस्तो चाहिँदो नचाहिँदो बोलिरहेका छन् । 

तताले छिमेकीमा गुहार लगाइन् । सबै एक हुल बाँधेर आए । तताका श्रीमानका गतिविधि नियाले र भनिदिए, ‘बाबुराजा त पागल भएछ ।’ हेर्मै तताले सबैका सल्लाह अनुसार बुढालाई जान्नेकोमा देखाइन् । कति दवाइ पानी गरिन्, कति वैद्यकोमा देखाइन् । कसैको क्यै लागेन । दिन, हप्ता गर्दै महिनौं बित्यो । तताका बुढा ठिक भएनन् । 

तता असाध्यै राम्री । पन्ध्र वर्षमै बिहे भएको । दुई बच्चाकी आमा । अझै जवान नै थिइन् । श्रीमान कहिल्यै सद्दे नहुने गरी बौलाएपछि तताको सुखी जीवनमा एकाएक ग्रहण लाग्यो । चोकका महिलाहरुले त ततालाई बिहे गरेर अन्तै भाग्न सल्लाह पनि दिए । ‘हेर्मै तता तिमी पोइल किन जाँदिनौ ? जीवन लामो छ । आखिर तिमीलाई नि खुसी हुने पुरा अधिकार छ ।’ पख्नुस् पख्नुस् मेरी अतन्नेरी साथी । यो त मेरी हजुरमामाको पालाको कथा होइन र ? यहाँ फेरि अधिकारका कुरा कसरी आए ? म हतपत् कराएँ ।

‘मेरी तन्नेरी मैचा । भावनामा उब्जिएका अधिकार लिखित पन्नाहरु भन्दा गरुङ्गा हुन्छन् ।’ अतन्नेरी साथीले मुस्कुराउँदै मलाई गहिरो भाषा सिकाइन्  र उल्टो प्रश्न गरिन्, ‘तिमीलाई के लाग्छ मैचा ? हेर्मै तता पोइल गइन् कि गइनन् होला ? 

‘त्यो त मलाई थाहा भएन साथी तर आजकालका हामी त पोइल गइसकेका हुन्थ्यौं होला,’ मैले हाँस्दै भने । को दुःख सहेर बस्छ र, कसले आफ्नो जीवन खेर फाल्छ र ? यदि हेर्मै तता बौलाएको भए उनका श्रीमानले छोड्दैनन् थिए ? अर्कै बिहे गर्दैनन् थिए ? अझ तपाईंकी छोरीको दिमाग ठिक छैन भन्दै माइती छोड्न लग्थे र कसरी पारपाचुकी गर्ने सोच्थे । हेरविचार गर्नु त परको कुरा । अतन्नेरी साथी मेरा कुरामा हिक्क हिक्क गर्दै अनुहार र ओठ फैलाउन थालिन् । हाँसेको हो कि रोएको मैले चाहिँ पत्तो पाइन ।

कथा सुन्दै गएपछि थाहा भयो, हेर्मै तता घर छोडेर भागिनन् । साथीहरुलाई उनको जवाफ थियो, मेरा दुई सन्तान छन्, यिनलाई छोडेर कसरी जानु ? म यिनीहरुकी आमा हुँ ।

यी शब्दहरु ओठबाट खसालिरहँदा तताका मन कति कुँडिए होलान् । म महसुस गर्दैछु । आखिर उनी एक नारी हुन्, उनका आफ्नै रहर, सपना र उद्देश्य छन् । ती सबै पुरा गर्न उनी नारी नै हुनुपर्छ । आमाको रुपमा माया र करुणाबाहेक उनी के नै पस्कन सक्छिन् र ? यदि हेर्मै तता मेरी आमा भएकी भए म भनिदिने थिएँ, ‘आमा उडिजाऊ तिमी पनि, कत्ति यो कहालीलाग्दो पिँजडामा थुनिएर बस्छौ । कसका लागि यथास्थितिमा बाँच्छौ ? श्रीमानका लागि ? छोराछोरीका लागि ? मोहले मानिसलाई कमजोर बनाउँछ । यसबाट तिमी मुक्त होऊ । अवश्य पनि समाजले तिमीलाई सराप्ने छन् तर तिम्रो जीवन सरापमुक्त हुने छ आमा । तिमी उडिजाऊ ।’ 

मेरो भनाइमा बुढी साथीले गम्भीर हुँदै भनिन्, आमा तिमीले सोचेजस्तो स्वतन्त्र हुन सक्दिनन् । सन्तानको सामित्यतामा उनी बेरिएर बस्न चाहन्छिन् । कसैकी श्रीमती हुनुभन्दा आमा बन्नुमा उनी गर्व गर्छिन् । सन्तानका लागि आफ्ना इच्छाहरु पैतालामुनि दबाएर राख्ने पनि आमा नै हुन् । यति सजिलै कहाँ उडी जान्छन् र आमाहरु ?

साथीका कुरा शतप्रतिशत नि ठिक नहोला । कति आमा अस्पतालमै आफूले जन्म दिएका शिशु छाडेर भाग्छन् । अनाथलय छाड्छन् । नपाए खेततिर फालिदिन्छन् । गतिलो पोइ पाए पहिलो पोइबाट पाएका छोराछोरी चटक्कै त्यागी दिन्छन् । यी आमाहरु चाहिँ आमा होइनन् ? कि यिनीहरु भित्र आमा बन्ने रसायन नै पैदा हुन सकेन ? साथीको कुरा सुनेर मेरा मनमा अनेक विचार आए । 

साँच्चै आमा को हुन् ? जसले आफ्नो भागको सबै भात छोराछोरीको थालमा घोप्ट्याइदिन्छिन् । आमा तिनै हुन् सायद । भगवानले सबै सन्तानका लागि उही प्यारी आमा बनाइदिए तर आमाका लागि ? आमाले आफ्नो खुसीका लागि सन्तान छाडे, उनी निर्दयी आइमाइ बनिदिन्छिन् । अनि सन्तानले आमा छाडे, के नि ? 

......

बर्षौं पछि हेर्मै तता रिसाहा स्वभावकी भइन् । बुढी साथीले फेरि गनगन गरिन् । एकदिन उनी पिखालुखी (आँगन) मा आएर उफ्रिइन्, ‘मेरो बुढालाई कुटपिट गर्ने ? आज म तिमीहरुको पूरा सन्तान सखाप पारिदिन्छु । आइज, हिम्मत छ भने पहिले मेरो सामना गर ।’ हातमा खुकुरी नचाउँदै हेर्मै तता चोकमा हुत्तिएर आइन् । कालो रातो अनुहार, आँखामा रिसको ववण्डर । ततालाई रोक्ने आँट सायदै कसैमा होला । उनी आफ्नै आफन्तहरुलाई नाङ्गो खुकुरी देखाउँदै थिइन् ।

पुसको कप्पाउँदो जाडो । माहोल भने तातिन थाल्यो । तता साक्षात भगवतीको रुपमा थिइन् । बाटेर आधी फुस्किएको केश, जिउमा ओढेको सेतो खास्टो र बाक्लो हाकुपटासी, होचो कदमा देवी कालीको नौलो अवतार बन्यो । 

अभावले मान्छेलाई कमजोर बनाउँदो रहेछ । ज्यादा अभावले विद्रोही । हेरमै तता यही ज्यादाको मारमा थिइन् । श्रीमान सधैं बिरामी । एक्ली आइमाइले के नै पो गर्न सक्छे र । आफन्तहरुको यही अड्कलबाजी थियो । हेर्मै तताको रौद्ररुपले ती सबै बाजीहरुलाई पाजी बनाइदियो ।

सानै उमेरमा तताको विवाह भयो । घरगृहस्थी कसरी चलाउने केही ज्ञानै थिएन । सासु नभएको घर । ससुरा आफै पकाउँथे, खान्थे र खेततिर जान्थे । बचेको खाना हेर्मै तता श्रीमानलाई दिन्थिन् र आफू पनि खान्थिन् ।

दिनभरी टिकिझ्यामा बसेर कपासको बत्ती काट्थिन् । उनलाई माइतीको याद कहिल्यै आएन । न त आफ्नो श्रीमानकै प्रतिक्षामा उनी हुन्थिन् । भरे के तरकारी बनाउने ? ससुरालाई कसरी मद्दत गर्ने जस्ता व्यवहारिक पक्ष तताका लागि महत्वहीन थिए । बहालमा केटाकेटीहरु घ्वाइँ खेलेको देखे, आँखा तेतै तिर दौडिन्थ्यो उनको । भोगटे र ज्यामिर साँदेको खान पाउँदा, घाममा बसेर केशको सर्बत बनाउन पाउँदा उनी खुब रमाउँथिन् । एक्लै हुँदा कतामरीलाई थरीथरी लुगा सिलाउँदैमा ततालाई फुर्सद हुँदैन थियो ।

खेल्ने, कुद्ने रमाउने तताको कोमल मन त एकाएक ढुङ्गा भयो । संसार जित्न सक्ने आँट, पाए सबैलाई काँचै निलिदिने साहास तताको पहिचान बनिसकेको थियो । निडर, निश्चिन्त र एक्लै घर परिवार धान्न सक्ने उनी आत्मनिर्भर महिला बनिसकेकी थिइन् ।

‘तता कसरी परिवर्तन भइन् अतन्नेरी साथी ?’ मैले हतपत सोधेँ । 

‘पोइल नगएर,’ बुढी साथीले पातकी जवाफ फर्काइन् । साथीले हावादारी कथा त कहिल्यै सुनाइनन् । आज किन खुस्केको हो यिनको ? मैले मनमनै प्रश्न गरें । जवाफ कानमा ठोकिने गरी आइहाल्यो ।

‘विद्रोही नारी कस्ता हुन्छन् ? सिमोन डी ब्यूवोइरो जस्ता कि योगमाया जस्ता ? रानी लक्ष्मीबाइ जस्ता हुन्छन् कि क्यून डायना जस्ता ? हेर्मै तता यी सबैमध्ये को हुन् ? कतै यिनी हाम्रा आमाहरु त हैनन्, जो घरको संघार नाँघेर विद्रोह गर्दैनन् । घरभित्रै विद्रोही बन्छन्,’ अतन्नेरी साथी मलाई प्रश्न माथि प्रश्न बर्साउन थालिन् । म अवाक बने । मेरी आमा पनि हेर्मै तता भन्दा फरक छैनन् । उनी कुनै महान कथाबाट निस्किएकी नायिका थिइनन् । जीवन भोगाइबाट जन्मिएकी साधारण महिला थिइन् ।

तताले आफ्ना बाल बच्चा आफ्नै बाहुबलमा पालेकी थिइन् । त्यसमाथि श्रीमानको औषधी खर्च, बच्चाहरुको पढाइ, उनीहरुको खुसी र इच्छा तताको दिनरातको मेहनतबाट सम्भव भएका थिए । तताले एक्लै कसरी आफ्नो परिवार धानिन् होला ? माइतीको अपहेलना, परपुरुषका कुदृष्टि र आफन्तका मुटु छेड्ने वचनहरु कसरी पचाइन होला ? म आफैमा सोचमग्न छु ।

.......

माघ फागुनको घाम छ । जिउमा तेल घसेर बस्न कत्ति मज्जा आउँछ । लुगा खोलेर आऊ बुढा यता सुकुलमा बस्न । 

अतन्नेरी साथीको कथा फेरि सुरु भयो । हेरमै तता आफ्नो श्रीमान्लाई जिस्क्याउँदै आँगनमा मकै छोडाउन थालिन् । 

हो हो तँलाई सबै था छ, जिउमा मात्र होइन । पिँडुलामा पनि तातो तेल लगाइदे । राती पिँडुला फर्केर गाह्रो भो । श्रीमान् अलि नरम स्वभावमा ततालाई अह्राउँछन् । 

‘पैतला त राती नै मुसारी दिएँ मैले । खै के के सपना देखेर तर्सिन्छन् यी बुढा नि,’ तता दिक्क मान्दै भन्छिन् ।

‘के सपना देख्नु नि, ख्या न ट्य वऊ का ।’ तताका श्रीमान जवाफमा भन्छन् । राती ख्याकले छोप्न आएजस्तो लागेर निन्द्रामै बड्बडाइ रहेका श्रीमान्लाई घच्घच्याउँदै तताले उठाएकी थिइन् । ‘हो हो त्यही भएर त एक अङ्खोरा पानी सिध्यायौ नि ।’ तताले मुख घुमाउँदै श्रीमान्लाई जवाफ दिइन् ।

तताको श्रीमान् विरामी भएको आज दश वर्ष वितिसकेको छ । सहरको घरमा सबैले बौलायो भनेपछि बस्न नसकेर गाउँ पसेका यी दुईको अहिले चार सन्तान छन् । एक सन्तानको केही वर्षमा नै मुत्यु भयो । तताले सन्तान गुमाउनुको पीडा भोगेकी छन् ।

सहरको घर जेठाजु र तिनका छोराहरुले कब्जा गरिसके । आफ्नै भाइलाई पनि कसरी मार्न सकेको हो  खै ? तताले श्रीमानलाई बारम्बार भन्ने विषय यही नै हुन्थ्यो । तर उनका श्रीमान आफू कमजोर भएकाले सहर गएर आफ्नो भाग माँग्ने आँट गरेका थिएनन् । एकदिन उनका श्रीमान् एक्कासी बोले, ‘तँ मेरो दाइलाई मुद्दा हालिदे । यो सुनेर हेर्मै तता जुठो भाँडासहित थचक्कै भुँइमा बस्छिन् । ‘बच्चाहरु ठूलो हुँदैछन् । भोलि बुबाको सम्पत्ति खोज्दा केही पाएनन् भने मलाई मरेपछि पनि सुख हुन्न । तँ सहर गएर मुद्दा हाल् । दाइसँग लडेर भएपनि घर र जग्गा फर्काउनु पर्यो ।’

श्रीमानको यस्तो अभिव्यक्तिले तताको मनमा डर र साहास दुवै भरिदियो । तता अब घरभित्रै विद्रोही हुने भइन् । थोत्रो झुपडीमा बर्षौं बितेछ । एक छाक भातले बालबच्चा हुर्किएछन् । हेर्मै तता जीवनलाई फर्केर हेर्छिन् । सबै दिनहरु उस्तै बितेछन् । काँडै काँडा दुःखै दुःख ।

साधारण गृहिणीबाट तता विद्रोही बनिन्, आफ्ना श्रीमानका लागि, आफ्ना बालबच्चाका लागि । तताले श्रीमान बिरामी हुनुमा समाजबाट बोक्सीको उपाधि पाइन् । पहिलो सन्तान मर्नुमा किचकन्याको अर्को उपमा पाइन् । घर चलाउन दिनरात घर बाहिर काम गर्दा नखरमाउलीको पदक पाइन् । आफ्ना सन्तानलाई पेटभरी दूध चुसाउन नसक्दा उनी पापिनी पनि भइन् । धन्न तताले मनको पीडा आँखाका सन्झ्यालबाट कहिले देखाइनन् ।

तताका छोराछोरी पनि अहिले ठूला भए । पढेर जान्ने बुझ्ने भए । कोही विदेशिए पनि । श्रीमान नि परलोक भए । आज सत्तरीयौं बसन्त पार गर्दा तताको जिउ लत्रिसके । अनुहारका सुन्दर छाला चाउरी परे । हातगोडा नचल्ने भए । आँखाहरु एकोहोरिए । कोही आउने आश, कतै उडी जाने दिन, त्यो कहिले आउला तताका लागि ? 

जीवनका उकाली ओरालीहरुमा, अग्ला र अप्ठ्यारा मोडहरुमा पासाङ ल्हामु शेर्पालाई समेत पछि पारेकी उनी, आज निरीह छिन् । 

हेर्मै तताको त्यो साहास, त्यो उत्साह कता गयो बुढी साथी ?’ मैले सोधें । 

साथीले जवाफमा भनिन्, ‘एक साहासी योद्धाको गाथा जीवनको उतराद्र्धमा असहायमा परिणत भयो । एकफेरा वृद्धाश्रममा गएर त हेर ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप