सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रमुख/उपप्रमुखको दौडमा वडाध्यक्ष

आइतबार, १८ वैशाख २०७९, ११ : १८
आइतबार, १८ वैशाख २०७९

२०७४ को स्थानीय निर्वाचनमा दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेका लोकेन्द्र राई वडाध्यक्षमा निर्वाचित भए । उनलाई एमालेले वडाध्यक्षको उम्मेदवारका रूपमा पत्याएर टिकट दिएको थियो । उनी वडाध्यक्षमा विजयी पनि भए । पाँच वर्ष जनप्रतिनिधिका रूपमा काम गर्नेक्रममा उनले आफ्नो भूमिकालाई थप फराकिलो बनाए । वडाबाट नभएर सिंगो पालिकाको नेतृत्व गर्ने क्षमताको विकास गरे ।

वडाध्यक्षबाट बिदाइ हुनेबेला उनले गाउँपालिका अध्यक्षको टिकट पाएका छन् । मनोनयन दर्तापछि उनी चुनावी गतिविधिमा व्यस्त बनेका छन् । जिल्लाका १० पालिकाका ७९ वडामा निर्वाचित वडाध्यक्षमध्ये उनी पालिका प्रमुखमा दाबी गर्ने एक्ला वडाध्यक्ष हुन् ।

‘सिंहदरबारको अधिकार गाउँगाउँमा अझै पनि पुगेन । सिंहदरबारबाट अति तल झर्‍यो तर ग्रास लेवलमा पुगेन । बरु साविकको गाविसमा भएको अधिकार खोसेजस्तो भो । मैले बस्तीमा बजेट लैजानुपर्छ भनेर वकालत गर्दै आएँ,’ उनले भने, ‘मैले जनतालाई दुःख दिने काम गरिनँ । जनतासँग किप इन टचमा बसेँ । सबै वडाका जनतामाझ पुगेँ । त्यही कारण पनि पार्टीले विश्वास गरेजस्तो लाग्छ ।’ 

सँगै वडाध्यक्षमा चुनिएका कतिपय जनप्रतिनिधि सोही स्थानमा दोहोरिन वडाध्यक्षकै उम्मेद्वार बनेका छन् । कतिपय वडाध्यक्ष पार्टीबाट टिकट नपाएर पाँच वर्षे कार्यकालबाट बिदा हुने तर्खरमा छन् । तर, हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका वडाध्यक्ष रमेश राउत अहिले उपमेयरको दौडमा छन् । जनप्रतिनिधिका रूपमा पाँच वर्ष बिताउँदै गर्दा राउतका लागि वडा सानो बन्दै गयो । उनले आफ्नो भूमीकालाई फराकिला बनाउँदै लगे र उपमेयरमा दाबी गर्ने हैसियत बनाए । 

 ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोलका वडाध्यक्ष सन्तवीर तामाङ गाउँपालिका अध्यक्षका आकांक्षी थिए । नजिकका साथीभाइलाई पालिका अध्यक्षमा उठ्ने घोषणा गरिसकेका थिए । तर गठबन्धनका क्रममा उनको गाउँपालिका उठ्ने सोच पूरा हुन सकेन । आफ्नै गठबन्धनका उम्मेद्वारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका तामाङ ‘व्याक’ भएनन् । मनोनयनपत्र फिर्ता लिनुको सट्टा कारबाही भोग्न तयार भएका छन् ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका वडाध्यक्ष निर्वाचित हुनुअगावै विकास राईलाई मेयर हाँक्ने क्षमता भएको व्यक्तिका रूपमा चर्चा गर्ने गरिएको थियो । उनी सम्वद्ध माओवादी केन्द्रले २०७४ मा वडाध्यक्षको टिकट दियो र भारी मतका साथ विजयी बने । यसपल्ट मेयरको उम्मेद्वारमा उनको चर्चा थियो । तर गठबन्धन गर्नेक्रममा नगरमा माओवादी केन्द्रको भागमा उपमेयर पर्‍यो । मेयरमा स्वतन्त्र मनोनयन दर्ता गराएका विकासले गठबन्धनलाई सहयोग गर्नेगरी मनोनयन फिर्ता गरिसकेका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका वडाध्यक्ष निर्मल राई मेयरका आकांक्षी थिए । पार्टीको संगठन टोलटोलमा पुगेकै थिएन । त्यस्तो अवस्थामा उनी संघीय समाजवादी फोरम (हाल जसपा)बाट वडाध्यक्ष चुनिएका थिए । उनले वडामा काम गर्नेक्रममा नगरपालिका हाँक्ने आँट र साहस जुटाए । तर गठबन्धनको भागबन्डा गर्नेक्रममा जसपाले अन्य दललाई सघाउनुपर्ने अवस्था आयो । यद्यपी उनी ‘नगर चलाउँछु’ भन्ने उम्मेदवारका रूपमा देखिए । 

उपप्रमुखबाट प्रमुखका उम्मेद्वार
अघिल्लो स्थानीय तहको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसबाट विमला राई उपमेयरमा निर्वाचित भइन् । पाँच वर्षको कार्य अनुभवबाट उनले यसपल्ट आफूलाई मेयरको दावेदारका रूपमा उभ्याएकी हुन् । यस्तै, एमालेबाट निर्वाचित खोटेहाङ गाउँपालिकाकी उपाध्यक्ष कविता राई र बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष गोमादेबी मगर प्रमुख बन्नका लागि चुनावी मैदानमा उत्रिएकी छन् । 

जागीर छाडेर उम्मेद्वार 
दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेका गोपालचन्द्र राई आयल निगमको उपप्रन्धक (प्रशासन)को जागिर छाडेर गाउँपालिका अध्यक्षका उम्मेद्वार बनेका छन् । नेपाल आयल निगममा १ चैत २०६९ मा सेवा प्रवेश गरी हाल उपप्रन्धक (प्रशासन) पदमा कार्यरत राईले गत ६ वैशाखदेखि लागू हुनेगरी राजीनामा दिएका थिए । उनलाई माओवादी केन्द्रले गाउँपालिका अध्यक्षको टिकट दिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप