सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडामा एमालेको चुनावी सभा : आफ्नो एजेण्डाभन्दा सत्तापक्षको विरोधमै केन्द्रित

आइतबार, १८ वैशाख २०७९, २० : ४०
आइतबार, १८ वैशाख २०७९

आइतबार ‘मे १’ अर्थात् मजदुर दिवसको अवसर पारेर नेकपा एमालेले हेटौंडामा चुनाव केन्द्रित आमसभा आयोजना गर्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख अतिथिका आसनबाट सम्बोधन गरेको आमसभामा पार्टीको एजेण्डाभन्दा पनि सत्तारुढ गठबन्धनको विरोधमा बढी समय खर्चिएको सहभागीहरुको भनाइ छ ।

आमसभामा एमालेका केन्द्रीय तहका नेताहरुसहित मकवानपुर र चितवनका नेताहरुको उपस्थिति थियो । आमसभामा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाल, बागमती प्रदेश इञ्चार्ज काशिनाथ अधिकारी लगायत पनि सहभागी थिए ।

चुनाव केन्द्रित आमसभामा जनताले एमालेका स्थानीय तहका उम्मेदवारका एजेण्डा, पार्टीले स्थानीय तहको विकासबारे बनाएको एजेण्डा र मोडालिटीबारे अध्यक्ष ओलीको विचार खोजेका थिए । तर, ओलीले ती विषयलाई सम्बोधन गरेनन् ।

करिव एक घण्टा भाषण गरेका ओलीले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुलाई गाली गर्नमा नै समय बिताए ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, स्वास्थ्य मन्त्री विरोध खतिवडाको आलोचना गरे । उनले सम्बोधनको क्रममा स्थानीय तहको निर्वाचनमा केन्द्रित भएर अभिव्यक्त गरेको विचार भनेकै ‘एमाले विकासको संवाहक हो’ भन्नेमात्र थियो ।

यस्तो थियो एमाले अध्यक्ष ओलीको सम्बोधन

एमाले अध्यक्ष ओलीले सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप (भ्याक्सिन) क्याप्सुल निलेझै निलेको बताए । उनले चुनावका मुखमा वर्तमान सरकार कमिसनको लोभमा अर्बौं रकम पर्ने औषधि उपकरण खरिद गर्न लागेको आरोपसमेत लगाए ।

स्वास्थ्यमन्त्री विरोध खतिवडालाई ‘अगस्त्यजस्तो अनुहार भएको’ भन्दै ओलीले जति खाए पनि नपुग्ने ऋषिजस्तै स्वस्थ्यमन्त्री भएको टिप्पणी गरे । उनले चुनावका बेला खरिदबिक्री रोक्न चेतावनीसमेत दिए ।

ओलीले गठबन्धन सरकार खान र देशलाई कंगाल बनाउन जन्मेको पनि बताए । ‘अहिलेको सरकार खान जन्मेको हो । देशलाई विकास गर्न होइन, कंगाल बनाउन जन्मेको हो,’ उनले भने, ‘सातवटा मन्त्रालय भएपुग्ने ठाउँमा १८ वटा बनाएको छ । यो सरकार चुनाव गराउन पनि चाहँदैन थियो ।’

उनले नेपाली काँग्रेसको घोषणापत्रको पनि आलोचना गरे । उनले काँग्रेसको घोषणापत्रमा काँग्रेस सभापतिको नाम ८ ठाउँमा र एमाले अध्यक्षको नाम ४२ ठाउँमा लेखेकोमा धन्यवाद दिए ।

अध्यक्ष ओलीले पाँचदलीय गठबन्धन मिलेर पनि चुनावमा एमालेलाई हराउन नसक्ने टिप्पणी गरे । उनले एमालेदेखि डराएर नै गठबन्धन बनेको भन्दै पाँच दल मिले पनि एमालेलाई हराउन नसक्ने बताए ।

अध्यक्ष ओलीले ‘हु ईज केपी ओली’ भन्नेहरुलाई नेपाली जनताले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा जनताले देखाइदिने बताए ।

‘हु ईज केपी ओली’ यो मलाई भनेको होइन, समग्र एमालेलाई भनेको हो । त्यो त हामी ३० गते देखाइदिन्छौं । त्यसपछि थाहा हुनेछ, को हो केपी ओली भनेको,’ ओलीले भने ।

उनले सरकार चुनाव गराउने पक्षमा नरहेको भन्दै बाध्य भएर बैशाख ३० गते चुनावको तयारी गरेको बताए । अहिलेको सरकारले फागुनभित्र सम्पन्न हुने स्थानीय निर्वाचनलाई धकेलेर वैशाख अन्तिममा पु¥याएको उनको भनाइ थियो ।

ओलीले आफ्नो नेतृत्वको सरकारले कोरोना महामारीको बेला पनि कर्मचारीको तलब भत्ता बढाउने हिम्मत राखेको बताए । उनले अहिलेको सरकारमा रहेका मन्त्रीहरूलाई एमालेले नै औंलो समाएर हिँड्न सिकाएको बताए ।

अध्यक्ष ओलीले माओवादी केन्द्र ठेकीको बिर्को भएको बताए । उनले आफूले ठेकी उपहार पाएको र त्यसको बिर्को देखेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्मरण भएको बताए ।

‘मैले यहाँ ठेकी उपहार पाएँ, मैले ठेकीको बिर्को उचालेँ, मलाई के लाग्यो भने प्रचण्डको पार्टी ठेकीको बिर्कोजस्तै लाग्यो,’ उनले भने, ‘नाम पनि माओवादी केन्द्र छ, तल कार्यकर्ता छैनन् । माथि केन्द्रमात्र छ । कार्यकर्ता यता आइसके । प्रचण्डको सानो गिरोह छ । ठेकीभित्र केही छैन, बिर्कोमात्र छ । मैले ठेकीको बिर्को उठाउँदा खेरी प्रचण्डको अनुहार सम्झेँ ।’

अध्यक्ष ओलीले प्रचण्डको पार्टीको कुनै उद्देश्य र गन्तब्य नरहेको बताए ।

वर्तमान सरकार परमादेशको सरकार भएको टिप्पणी गर्दै उनले जनादेशबाट ढाल्ने चुनौतीसमेत दिए । उनले आफ्नो दलले जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने दाबी गरे ।

‘हामी परामदेशको जवाफ जनादेशबाट दिन्छौं । हामी जनमतबाटै तीन तहको सरकार बनाउँछौं,’ उनले भने, ‘स्थानीय तहको निर्वाचन नजिकिरहँदा हाम्रा कार्यकर्तामा उत्साह भरिएको छ । हामीलाई सिध्याउन निर्माण भएको गठबन्धन त्रसित अवस्थामा पुगेको छ ।’

ओलीले काँग्रेसप्रति टिप्पणी गर्दै काँग्रेससँग देश विकासको नीति नभएको बताए । उनले भने, ‘काँग्रेसको देश बनाउने नीति नै छैन । एमालेलाई धारे हात लगाउनेमात्र हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप