आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यसरी भयो पृथ्वीजयन्तीमा बिदा दिने निर्णय, निधिसँगको लफडा देउवाले सल्ट्याए !

शुक्रबार, १५ मङ्सिर २०७४, १३ : ३४
शुक्रबार, १५ मङ्सिर २०७४

काठमाडौं– सरकारले पृथ्वीजयन्तीमा पुनः  बिदा दिने निर्णय गरेको छ । जनआन्दोलन २०६२–६३ सालपछि बनेको गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्तीमा दिँदै आएको  बिदा कटौती गर्ने निर्णय गरेको थियो । 

बिदा कटौती भएसँगै   संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा वकालत गर्दै आएको  राप्रपाले  निरन्तर पृथ्वीजयन्तीको दिन बिदा दिइनुपर्ने माग गर्दै आएको थियो । यसैक्रममा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा  ऊर्जामन्त्री कमल थापाको ठाडो प्रस्तावमा बिदा दिने निर्णय भएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । 

ती मन्त्रीका अनुसार  गृहमन्त्रालयले  आगामी क्रिसमसमा  सार्वजनिक  बिदा दिने प्रस्ताव लगेको थियो । सो प्रस्ताबारे जानकारी पाएसँगै कमल थापाले पृथ्वीजयन्तीमा पनि बिदा दिने निर्णय  गरौं भनि प्रधानमन्त्रीसँग प्रस्ताव गरेका थिए । 
 

सुरुमा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले  क्रिसमसको  अवसरमा मात्रै बिदा दिने निर्णय गर्ने र अर्को  बस्ने बैठकमा  पृथ्वीजयन्तीमा पनि बिदा दिने निर्णय  गर्ने धारणा राखेका थिए । तर, कमल थापाले  पछि भन्दा पनि अहिले नै  दुबै बिदा एकैसाथ गर्न जोडबल गरेपछि प्रधानमन्त्री पनि सकारात्मक बन्दै  बिदा दिने निर्णय भएको  ती मन्त्रीको भनाई छ । 

 मन्त्रिपरिषदबाटै पृथ्वीजयन्तीका दिन बिदा दिने निर्णय भएपछि आफूहरुले विगतमा बिदाको लागि  उठाएको आवाजले सार्थकता पाएका राप्रपाले जनाएको छ । राप्रपाका प्रभावशाली नेता तथा सहरी विकासमन्त्री दिलनाथ गिरीले लामो समयदेखि  बिदाको लागि  पार्टीले उठाउँदै आएको आवाजले सार्थकता पाएको भन्दै यसमा प्रधानमन्त्रीको लचकताको  प्रशंशा गरे । पृथ्वीजयन्ती हरेक वर्ष पुस २७ गते मनाइने गरिएको छ ।   

निधिसँग लफडा देउवाले सल्ट्याए !
अघिल्लो सरकारले पृथ्वीजयन्तीको अवसरमा  समेत बिदा दिनेगरी वर्षभरीको बिदा मन्त्रिपरिषदबाट स्वीकृत गरेको थियो । तर, तत्कालिन उपप्रधान तथा गृहमन्त्री नेता विमलेन्द्र निधि र कमल थापाको व्यक्तित्वको टकरावले  अन्तिम समयमा आएर बिदा रद्द गरिएको थियो । 

२०७४ सालमा वर्षभरी दिइने सार्वजनिक बिदालाई औपचारिकता दिने क्रममा निधिले  पृथ्वीजयन्तीको (पुस २७ गते ) दिन दिइने बिदा हटाएका थिए ।  सो बिदा हटाउने विषयमा तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री दिलनाथ गिरी र निधिबीच चर्काचर्की नै भएको थियो ।  

२०७३ चैतको दोस्रो सातातिर  भएको  बैठकमा निधिले बिदा कटौती गरेपछि आक्रामक बन्दै  गिरीले भनेका थिए– ‘पृथ्वीजयन्तीको दिन बिदा दिने क्याबिनेटबाटै निर्णय भएको छ भने  कसरी अहिले एकाएक बिदा हट्यो ?’  ।

जवाफमा निधिले भने क्याबिनेटबाट कुनै निर्णय नभएको मात्रै राजनीतिक सहमतिको आधारमा आवश्यक परे पछि बिदा दिइने समझदारी मात्रै भएको जवाफ दिँदै बिदा नदिने निर्णय गराएका थिए ।  

त्यतिबेला निधिले विदा कटौती गर्नुमा त कमल थापाँसँग बरियताको बिवाद भएको बताइन्छ ।  त्यतिबेला प्रचण्ड सरकारमा उपप्रधानमन्त्री रहेका कमल थापाले निधिको भन्दा माथिल्लो बरियता पाएपछि   निधि रुष्ट बनेको र सोहि कारण थापालाई देखाइदिन आफू मातहतमा रहेको बिदासम्बन्धी निर्णयमा पृथ्वीजयन्तीको बिदा हटाएको चर्चा आएको थियो । 

तर, हाल आएर राप्रपासहितको लोकतान्त्रिक गठबन्धन बनेको छ भने निधि–थापाबीचको बिबाद  पनि मत्थर भइसकेको छ । यस्तो अवस्थामा थापाले राखेको प्रस्तावलाई प्रधानमन्त्रीले स्वीकारेर १० वर्षपछि पुनः पृथ्वीजयन्तीमा बिदा दिने निर्णय भएको छ । 

यसैबीच  थापाले पृथ्वीजयन्तीको दिन बिदा दिर्ने निर्णय गराउन भूमिका खेलेको भन्दै प्रधानमन्त्री देउवाप्रति आभार प्रकट गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप