सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एकाध बागीले निर्वाचनको परिणाममा कुनै असर गर्दैन :  प्रचण्ड

‘गठबन्धन मिलेन भनेर नकारात्मक प्रचार भइरहेको छ’
मङ्गलबार, २० वैशाख २०७९, १६ : ३२
मङ्गलबार, २० वैशाख २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताएका छन् । 

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रेस सेन्टर नेपालको न्युज बैंकसँगको कुराकानीका क्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले माओवादीले जसको नीति उसको नेतृत्व भन्ने नारालाई स्थानीय तहको निर्वाचनमार्फत् स्पष्ट ढंगले कार्यान्वयन गर्ने पनि बताए ।

प्रचण्डले अहिलेको निर्वाचन विगतको भन्दा फरक भएको र अहिले प्रतिगमनलाई परास्त गरी संघीय गणतन्त्रलाई संस्थागत गर्ने निर्वाचन भएकाले परिवर्तनका पक्षधरलाई नै मत दिएर जिताउनुपर्ने पनि बताएका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

देशैभरका ७ सय ५३ पालिकामा एकै चरणमा स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ, निर्वाचनको माहोल कस्तो पाउनुभएको छ ?

निर्वाचनतिर जनताको अभिरुचि बढ्दै गएको देखेको छु । सबै राजनीतिक दलहरु आफ्ना एजेण्डा लिएर परिचालित छन् । वातावरण सकारात्मक नै बन्दै गएको महसुस गरेको छु । यसपटकको निर्वाचनको मुख्य विशेषता के हो भने संविधान घोषणा भइसकेपछि पहिलो निर्वाचन सामान्यतः संविधान कार्यान्वयनको प्रक्रियाको एउटा आधार खडा गर्ने निर्वाचनजस्तो थियो । तर यसपटकको निर्वाचन महत्वपूर्ण छ । किनकि गत सालदेखि संविधानलाई नै उल्ट्याउन खोज्ने र नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धीहरु समावेशी, समानुपातिक प्रणाली, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता जे विशेषता छन्, तिनलाई उल्ट्याउन खोज्ने, जनताले प्राप्त गरेका मौलिक अधिकारहरू जसले आर्थिक समृद्धिको आधारको भूमिका पनि खेल्छन्, तिनलाई पनि उल्ट्याउन खोज्ने एउटा प्रवृत्ति देखा पर्‍यो । हामी सबैलाई थाहा छ, प्रतिगमन विरोधी आन्दोलन नै गर्नुपर्ने स्थिति भयो । 

अहिले पनि दुइटा गठबन्धन जस्तो भएको छ, दुइटा मोर्चा जस्तो भएको छ यसपटकको निर्वाचनमा । एकातिर संविधानका मूलभूत विशेषता र मान्यतालाई अस्वीकार गर्ने प्रतिगामी प्रवृत्ति र त्यस किसिमको मोर्चा अगाडि आएको छ भने अर्कोतिर प्रतिगमनविरोधि आन्दोलनको क्रममा लोकतन्त्रको रक्षा, संविधानको रक्षा र राष्ट्रको रक्षा गर्ने भनेर गठबन्धन बन्यो– वाम लोकतान्त्रिक गठबन्धन । यी दुई गठबन्धन आमनेसामने छन् । त्यसकारण यो पटकको निर्वाचनको मूलभूत विशेषता संविधानका उपलब्धिहरुलाई रक्षा गर्ने र अझ परिमार्जन गर्ने एउटा विचार, प्रवृत्ति । अर्कोतिर, यो संविधानलाई उल्ट्याउन खोज्ने र देशलाई कही न कही पछाडि धकेल्न खोज्ने प्रवृत्ति अर्कोतिर भएर चुनाव भइरहेको छ । बीचमा अरुहरु जो साना पार्टीहरु छन्, तिनीहरुको खासै यसमा तात्विक भूमिका हुन्छ भन्ने मलाई लाग्दैन । त्यसकारण एउटा प्रतिगमनकारी र अर्को अग्रगमनकारी बीचको संघर्ष नै यसपटकको स्थानीय तहको निर्वाचनका साथै प्रदेश र संघको निर्वाचनसम्म पुग्दा पनि यही दुइटा प्रवृत्ति र दुइटा मोर्चाकै बीचमा मुख्य प्रतिस्पर्धा हुन्छ । 

अब निर्वाचनको दिन आउन १० दिन मात्रै बाँकी छ, गठबन्धनका उम्मेदवारहरूले जित्ने सम्भावना कति देख्नुभएको छ ?

हामीले जहाँ जहाँ सहमति गरेका छौँ, त्यहाँ जित सुनिश्चित देख्छु । जस्तो महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा, जहाँ गठबन्धनमा समझदारी बनेको छ, त्यहाँ गठबन्धनको विजय सुनिश्चित देखिन्छ । अर्को हामीले गठबन्धनमा छलफल गर्दा के भनेका थियौं भने हामीमध्ये कसैले जित्ने स्थिति ग्यारेन्टी छ भन्ने लाग्छ भने गठबन्धनभित्रै प्रतिस्पर्धा गर्न सकिन्छ भनिएको थियो । यो कुरालाई हामीले खुला नै राखेका थियौं । कतिपय मानिसले त्यसलाई ‘ल गठबन्धन मिलेन’ भनेर नकारात्मक प्रचार गर्ने गरेको पनि म देख्छु तर त्यस्तो होइन । गठबन्धनको केन्द्र वा संयन्त्रमा छलफल गर्दा जहाँ कुरो मिलेको छैन, त्यहाँ प्रतिस्पर्धा गर्ने र प्रतिस्पर्धा गर्दा यो संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयताका पक्षधरताका बीचमा नै प्रतिस्पर्धा गर्ने र जित सुनिश्चित गर्ने भनिएको हुनाले मलाई लाग्छ, गठबन्धनको पक्षमा नै अब माहोल बन्दै गएको छ । आउने १० दिनभित्र देशैभरि नयाँ परिस्थिति बन्छ र गठबन्धन विजयी हुन्छ ।

निर्वाचनमा गठबन्धन बन्दै गर्दा र उम्मेदवार मनोनयन गर्दै गर्दा माओवादीले जसको नीति उसको नेतृत्व भन्यो तर नेतृत्व त छोडियो भन्ने आलोचना छ नि ? 

यो विषय अलि गम्भीर र संवेदनशील विषय छ । पहिलो कुरा, नेतृत्व भनेको के ? नेतृत्व भनेको विचारको नेतृत्व, राजनीतिक मुद्दाको नेतृत्व, देशको राजनीतिलाई एउटा नयाँ मोड दिने, गति दिने नेतृत्व त्यसरी भनियो भने माओवादीले नेतृत्व कसैलाई पनि छोडेको छैन । माओवादीले नै नेतृत्व गरिराखेको छ । तपाई हेर्नुभयो भने यो गठबन्धन निर्माण कुन परिस्थितिमा भयो ? प्रतिगमनको खतरा कहाँसम्म पुगिसकेको थियो र देश दुर्घटनामा जानै लागेको बेलामा कसको पहल र नेतृत्वमा यसको रक्षा भयो भनेर तपाईले हेर्नुभयो भने चाहे सडक आन्दोलनमा हेर्नुस्, चाहे गठबन्धन निर्माण प्रक्रियामै हेर्नुस् माओवादी केन्द्रले नै नेतृत्व गरेको छ । अहिले निर्वाचनको यो समग्र प्रक्रियामा पनि हामीले नेतृत्व नै गरिराखेका छौं भन्ने मलाई लाग्छ । मानिसहरु जसले यसको गहिराईमा गएर चीजलाई बुझेका छैनन् या बुझ्न चाहेका छैनन्, उनीहरुले लगाउने आरोप या प्रश्न त एउटा कुरा हो । तर, मेरो ठाउँबाट मैले हेर्दा यो समग्र प्रक्रियामा माओवादीले नै नेतृत्व गरिराखेको छ । 

संख्याको कुरा गर्दा अघिल्लो निर्वाचनमा ७५३ तहमध्ये १०६ स्थानमा माओवादीले प्रमुख स्थान विजय गरेको थियो, यसपटक त्यो संख्या कति जति होला लाग्छ ?

मैले सबै प्रदेशका जिम्मेवार साथीहरु, जिल्लाका प्रतिनिधिहरुसँग कुरा गर्दा सबैको भनाई के छ भने हामी पहिलाको भन्दा दोब्बर बनाउँछौं । सबै प्रदेशले भनेको र टिपेर पनि दिनुभएको छ, हिजो बेलुका मैले सबै हेरें, पहिलाको जति छ, त्यो भन्दा डबल हुन्छ । अब पालिकाको मोटामोटी रिपोर्ट हेर्दा पनि पहिलाको भन्दा हाम्रो गुणात्मक ढंगले बढ्छ । त्यो कुरा पक्का हो । 

अघिल्लो चुनावमा माओवादी एमालेसँग मिलेर वाम एकता भनेर आयो र अहिले फेरि कांग्रेससँग मिलेर लोकतान्त्रिक गठबन्धन भनेर आयो । माओवादी एक्लैले आफ्नो अस्तित्व निर्माण गर्न नसक्ने अवस्थामा पुगेको हो ?

त्यस्तो होइन । त्यसो भन्यो भने त कोही पनि नसक्ने भयो । हिजो कांग्रेस हामीसँग किन मिल्यो ? एमाले हामीसँग फेरि किन मिल्न परेको हो ? तपाईको प्रश्नअनुसार त कोही पनि एक्लै लड्न सकेनन् नि । अहिले हाम्रो गठबन्धन छ, एमाले शुरु शुरुमा भन्ने गथ्र्यो, हामी त एक्लै लड्छौं । अहिले त झन् ८÷९ वटा पार्टी÷समूह नै जम्मा गरेर आयो । उसले पनि एक्लै लड्ने हिम्मत गरेन । उसलाई पनि चाहियो गठबन्धन । काँग्रेसलाई पनि चाहियो गठबन्धन । त्यसैले माओवादीलाई मात्रै चाहिएको भन्न मिल्छ र ? बरु माओवादीले त यो सबै प्रक्रियाको नेतृत्व लिएर अगाडि पो बढेको छ । त्यसलाई हेर्न पर्‍यो । त्यसकारण हाम्रो संविधान र हाम्रो निर्वाचन प्रणाली जस्तो छ, त्यसले गठबन्धन आवश्यक बनायो । 

माओवादीका इमान्दार कार्यकर्ताले निर्वाचनमा अवसर नपाएको भनेर कतिपय स्थानमा बागी उम्मेदवारी पनि हालेको देखिन्छ । यसले निर्वाचनको परिणाममा कस्तो असर पुर्‍याउला ?

पहिलो कुरा माओवादी केन्द्रबाट सबैभन्दा कम बागी उम्मेदवार उठेका छन् । एकाध ठाउँमा त्यस्तो देखियो । यदाकदा कुनै ठाउँमा उठेका छन्, जति उठेका थिए अधिकांशले त पार्टीले भनेपछि उम्मेदवारी फिर्ता पनि गरिसक्नुभएको छ । जति बाँकी हुनुहुन्छ ती साथीहरु पनि पार्टीको नीतिभन्दा बाहिर जाने देखिँदैन । त्यसमा पनि पार्टीले फेरि आग्रह गरेको छ, नभए विधानबमोजिम कार्वाही गर्छ । 

अर्को कुरा सिस्टम भित्र छिरेपछि अलि अलि त्यसको विकृतिको रंग लाग्ने त हुँदो रहेछ । यन्त्रभित्र छिरेपछि त्यही अनुसार हुने, त्यस्तो हुने त देखियो । तर माओवादी केन्द्र नै अहिलेसम्म त्यस्तो पार्टी हो जो सबैभन्दा बढी अनुशासित छ । सबैभन्दा बढी पार्टीको नीति, विचार, योजना र कार्यक्रमप्रति प्रतिवद्ध छ । 

माओवादी केन्द्रले केन्द्रीय स्तरबाट घोषणापत्र जारी नगरी स्थानीय चुनावमा गयो भनेर केही आलोचना र टिप्पणीहरू भएका छन्, किन त्यसो गर्नुभयो, के भन्नुहुन्छ ?

घोषणापत्र भने पनि, प्रतिवद्धता पत्र भने पनि अपील भने पनि पहिलो पटक प्रकाशित गर्ने पार्टी माओवादी केन्द्र नै हो । हामीले के गर्‍यौं भने केन्द्रीय समितिबाट चुनावी घोषणापत्र पालिका स्तरमा बनाउने र केन्द्रबाट अपिल प्रकाशित गर्ने निर्णय गर्‍यौं । केन्द्रबाट जारी अपिल नै स्थानीय तवरमा घोषणापत्र बनाउनको लागि निर्देशिका हुन्छ भनियो । त्यही अपिल अनुसार नै घोषणापत्र बन्छन् भनेर भनेको हो । सबैले बनाएका पनि छन् र बनाउँदै गएका पनि छन् । त्यसकारण जनताको नाममा केन्द्रीय स्तरबाट अपिल गर्ने, प्रतिवद्धता व्यक्त गर्ने पार्टी माओवादी केन्द्र नै हो यसमा कुनै द्विविधा हुनुपर्ने वा भ्रमित हुनुपर्ने कुनै कारण छैन । 

गठबन्धनको कारणले गर्दा संविधानमा व्यवस्था गरिएको महिला प्रतिनिधित्व घट्यो भन्ने कुरा आइरहेको छ, के भन्नुहुन्छ ?

प्राविधिक रुपले तपाईले भन्नुभएको कुरा र आएका टिप्पणी साँचो कुरा हो । किनभने निर्वाचन सम्बन्धी कानुनमा उम्मेदवारी दिँदा एउटै पार्टीबाट भएमा एक पदमा महिला अनिवार्य भन्नेछ तर गठबन्धन गर्दा वा फरक पार्टीको हकमा पनि एउटा पदमा महिला अनिवार्य भन्ने व्यवस्था गरेको छैन । गठबन्धनको कारणले कानुनतः महिलाको प्रतिनिधित्व कम हुने खतरा भएकै हो । हुँदो रहेछ । हामीले गठबन्धनमा छलफल गर्दा सकेसम्म महिलाको संख्या घट्न दिनु हुँदैन भनेर भनियो । अलग–अलग पार्टीबाट उम्मेदवारी दिँदा पनि एउटा पार्टीबाट पुरुष र अर्को पार्टीबाट महिला दिने व्यवस्था गरौं भनेर छलफल गरियो, मिलाउन कोशिस पनि गरियो तर गर्दा गर्दै पनि भनेजस्तो हुन सकेन । अझै भएको जस्तो लागेन । 

हाम्रो पार्टीको हकमा त केन्द्रीय कार्यालयको तर्फबाट सर्कुलर नै गरेर निर्देशन गरियो कि सबैतिर महिलालाई प्राथमिकता दिनुपर्‍यो, पालिकाको हकमा जिल्लामा कम्तिमा एउटा पालिका प्रमुख बनाउनु पर्‍यो र प्रत्येक पालिकामा कम्तीमा एउटा वडामा महिलाको नेतृत्व दिनुपर्‍यो भनिएको थियो । हाम्रो पार्टीमा महिलाको लागि जसरी ३५ प्रतिशतको व्यवस्था गरिएको छ, त्यही अनुसार निर्वाचनमा पनि सहभागिता गराउनको लागि ध्यान दिनुस् भनेर भनिएको छ । हाम्रो पार्टीबाट महिलाको सहभागिताको विषयमा कुनै कञ्जुस्याई वा समस्या होइन । तर गठबन्धनमा भने त्यस्तो हुन नसकेको जस्तो देखियो । त्यसो हुनुमा पनि नियतमा होइन, प्राविधिक वा कानुनी रुपले त्यस्तो परेको हो । मलाई लाग्छ, यो कानुन नै बदलेर दुईमध्ये एक पदमा महिला अनिवार्य हुनै पर्ने व्यवस्था गर्नु जरुरी देखिएको छ । त्यसो गरेर मात्रै महिलाको प्रतिनिधित्व अझ बढाउन सकिन्छ । 

देशका ६ वटा महानगर र ११ उपमहानगर र विशेष गरी भरतपुर जहाँ नेपाली काँग्रेसका पुराना नेता बागीको रुपमा उठेको पनि देखिएको छ । यस्तो अवस्थामा उम्मेदवारहरूको विजयको सुनिश्चितता कसरी गर्न सक्नुहुन्छ ? 

६ वटा महानगर र ११ वटा उपमहानगरपालिकामा उम्मेदवार उठाउने विषयमा गठबन्धनभित्र गम्भीर छलफल, परामर्श र गृहकार्य गरेरै सर्वसम्मत ढंगले निर्णय लिइएको छ त्यसमा दायाँबायाँ हुने स्थिति म देख्दिनँ । बीचमा एकाध बागी भनेर उठेका भएता पनि धेरैजसो फिर्ता भइसकेका छन् । भरतपुरमा चाहिँ बाँकी छ तर त्यसले गठबन्धनको त्यो निर्णयमा कुनै तात्विक फरक पार्ला जस्तो लाग्दैन । त्यस्तो बाधा होला जस्तो देखिँदैन । किनकि यो दीर्घकालीन ढंगले राष्ट्रको, संविधानको, परिवर्तन र लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि गरिएको निर्णय हो । मलाई लाग्छ, महानगर र उपमहानगरपालिकाको हकमा गठबन्धनले निर्णय गरेर जो उम्मेदवारी दिइएको छ त्यसमा सत प्रतिशत नै विजयी हुनेछन्, विजय गराइनेछ । एकाध बागीले त्यसको मूलभूत परिणाममा कुनै असर पार्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप