मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंमा सिर्जना भर्सेस केशव स्थापित : दुई सिफ्टमा यसरी माग्दै छन् मत (तस्बिरहरु)

मङ्गलबार, २० वैशाख २०७९, १६ : ४६
मङ्गलबार, २० वैशाख २०७९

काठमाडौं महानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । महानगर मेयरमा नेपाली काँग्रेसबाट गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंह र एमालेबाट केशव स्थापितले दिनमा दुई सिफ्ट घरदैलो अभियान गरिरहेका छन् ।

सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंह ‘विविध सुसंस्कृतिले भरिएको हाम्रो सहर, सुशासन र सुविधाले सजाउने हाम्रो रहर’को एजेण्डा बोकेर मत मागिरहेकी छन् । यस्तै स्थापित पनि ‘काठमाडौंको मुहार फेर्न एक पटक केशव स्थापितलाई हेर्नुस्’ भनेर जनताको घरदैलोमा जाने गरेका छन् । यसैगरी राप्रपासहित अन्य स्वतन्त्र उम्मेदवारले पनि चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । 

सिर्जनाको घरदैलो अभियान

नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले वैशाख १८ गतेबाट घरदैलो अभियान थालेकी हुन् । उनले अहिलेसम्म महानगरका वडाहरू १, १०, १६, १९, २०, २४, २५, २२ र २३ मा घरदैलो कार्यक्रम गरिसकेकी छिन् । काठमाडौं महानगरका गठबन्धनबाट उपमेयरका साझा उम्मेदवार रामेश्वर महर्जन पनि सिंहसँगै घरदैलोमा हिँडिरहेका छन् ।

गठबन्धनमा उम्मेदवारले बिहान र साँझ गरी दुई चरण प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । महानगरका ३२ वटै वडाको घरदैलो भ्याउने गरी २७ गतेसम्मको तालिका बनाइएको छ । काँग्रेसका वडा कमिटीसँग समन्वय गरेर सिर्जनाले घरदैलो गरिरहेकी छिन् । काठमाडौंको मेयर र उपमेयरमा पाँच दलको चुनावी तालमेल भएपनि वडामा भने गठबन्धनबीच नै प्रतिस्पर्धा छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बस्ने ३२ नम्बर वडामा भने गठबन्धनबीच चुनावी तालमेल भएको छ ।

नेपाली काँग्रेस काठमाडौंका जिल्ला सभापति सबुज बानियाँका अनुसार एकीकृत समाजवादीलाई वडाअध्यक्ष दिएर काँग्रेसले सदस्यमा उम्मेदवारी दिएको छ । बाँकी ३१ वडामा काँग्रेसले एकल रुपमा वडाध्यक्ष मैदानमा उतारेको छ । प्रचार अभियानमा मेयर र उपमेयरको पोस्टर बनाएर भोट माग्ने गरिएको छ । यता गठबन्धन सम्बद्ध दल माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सिर्जनाको घरदैलोमा सहभागी भएको देखिएन । यद्यपि उनीहरुले वडामा आफ्ना उम्मेदवारलाई मत माग्दा मेयरमा सिर्जना र उपमेयरमा रामेश्वरको फोटो राखेर प्रचार गरिरहेका छन् । सिर्जनाको साथमा पति प्रकाशमान सिंह सहितका काँग्रेसका शीर्ष नेता पनि घरदैलोमा भोट मागिरहेको भेटिन्छन् । 

स्थापितको घरदैलो अभियान

नेकपा एमालेबाट काठमाडौँका मेयरका उम्मेदवार केशव स्थापितले पनि दुई सिफ्टमा चुनावी अभियान जारी राखेको पाइन्छ । बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म समय तालिका बनाएर उनी चुनाव प्रचारमा खटिएका छन् । अहिलेसम्म स्थापितले महानगरका एक देखि छ नम्बर वडासम्म घरदैलो गरेर भ्याइसकेका छन्।

यस्तै उनले महानगरको १५, १८ र २१ वडामा पनि प्रचारप्रसार तथा घरदैलो सकिसकेका छन् । उनीसँगै उपमेयरकी उम्मेदवार सुनिता डंगोलले समेत भोट मागिरहेकी छिन्। स्थापितले टोल भेला र सभा गर्ने भन्दा पनि घर दैलो गरेर मतदाता भेटेर भोट माग्नेलाई बढी प्राथमिकता दिएका छन्।

एमालेबाट महानगरलाई भौतिक संरचनाले सांस्कृतिक रूपमा भरिपूर्ण बनाउने योजना अघि सारिएको छ। यस महानगरमा कुल ३ लाख ५ सय ४ मतदाता छन् । सबैभन्दा बढी  १६ नम्बरमा २० हजार १९९ मतदाता छन् भने कम मतदाता वडा नम्बर १ मा ३ हजार ९४१ जना छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप