सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

१ करोड ७७ लाख मतदाता वैशाख ३० को पर्खाइमा, मतदान केन्द्रमा गर्न हुने र नहुने यस्तो छ आयोगको नियम

बुधबार, २१ वैशाख २०७९, १४ : ४८
बुधबार, २१ वैशाख २०७९

 आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदानको मिति आउन नौ दिनमात्र बाँकी छ । निर्वाचनलाई मध्यनजर गर्दै आयोगले आफ्नो तयारीलाई तीव्र पारेको छ । मतपत्र छाप्नेदेखि ढुवानी र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको आयोगले अन्य बाँकी आन्तरिक तयारीलाई समेत तीव्र बनाएको जनाएको छ ।

स्वच्छ र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्ने आयोगको दायित्व भएकाले सोही अनुसार राजनीतिक दल,उम्मेदवार र मतदाताहरूलाई निर्वाचन आचारसंहिता कार्यान्वयनमा ध्यान दिन आग्रह गरिरहेको छ । मुलुकका ७५३ स्थानीय तहमा हुने निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचन अधिकृत र कर्मचारीलाई आवस्यक प्रशिक्षण दिएर खटाइसकेको छ ।

चारकिल्ला तोक्न निर्देशन

आयोगले सम्बन्धित मतदान अधिकृतलाई मतदान केन्द्र रहेको स्थानको चारैतिर चारकिल्ला तोक्न निर्देशन दिएको छ । चारकिल्ला तोक्दा साधारणतया तीन सय मिटरसम्मको क्षेत्रलाई कायम गरेर मतदान केन्द्र क्षेत्र घोषणा गर्न निर्देशन दिएको छ । साथै त्यसको सूचना मतदान केन्द्रमा सबैले देखिनेगरी प्रकाशन गर्नुपर्नेछ ।

जुनसुकै मतदान केन्द्रमा मतदान हुने दिनभन्दा अठचालीस घण्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचार–प्रसार गर्न पाउने छैनन् । त्यसका लागि मतदान अधिकृतले सोही व्यहोराको सूचना मतदान केन्द्रमा सबैले देख्ने गरी प्रकाशन गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

नाचगान र मदिरा निषेध

मतदान केन्द्र वरिपरि साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन प्रयोग गर्न, बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन नपाइने व्यवस्था गरेको छ त्यसैगरी निर्वाचन ऐन अनुसार मतदान अधिकृतले प्रचारप्रसार निषेध भएको अवधि (मौन अवधि) देखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को अनुसूची–३६ बमोजिम प्रकाशन गर्नुपर्नेछ ।

साथै कसैले हातहतियार लिएर हिँड्न वा प्रयोग गर्न आयोगले निषेध गरेको छ । मतदान अधिकृतले मतदान केन्द्र र सोको वरिपरि मतदानको काममा खटिएका सुरक्षा कर्मचारी बाहेक अरु कसैलाई कुनै प्रकारको विष्फोटक पदार्थ, रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन रोक लगाउन भनेको छ ।

मतदान केन्द्रमा प्रवेश अनुमतिपत्र

मतदान अधिकृतले मतदान सम्बन्धी कामको लागि कुनै व्यक्तिलाई मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति दिँदा नियमावलीको अनुसूची–२७ बमोजिमको ढाँचामा दिनु पर्नेछ । साथै,उपदफा (१) बमोजिमको अनुमतिपत्र मतदानको कार्य समाप्त नभएसम्म वा मतदान अधिकृतले रद्द नगरेसम्म कायम रहनेछ । मतदाता सूचना तथा सहायता कक्षको व्यवस्था अन्र्तगत मतदान स्थलमा मतदातालाई मतदाता शिक्षा दिने प्रयोजनको लागि मतदान अधिकृतले मतदाता सूचना तथा सहायता कक्षको व्यवस्था गर्न सक्ने उल्लेख छ ।

मतदाता सूचना तथा सहायता कक्षमा मतदान हुने अघिल्लो दिन र मतदानको दिन मतदान गर्ने तरिका सम्बन्धमा मतदाताले जानकारी लिन सक्ने भएपनि मतदाता सूचना तथा सहायता कक्ष स्थापना गर्ने सम्बन्धी अन्य व्यवस्था आयोगले निर्धारण गरेअनुसार मात्रै हुनेछ ।

आदेश नमान्ने गिरफ्तार पनि हुनसक्छन्

कुनैपनि  व्यक्तिले मतदानमा बाधा पुर्याउन पाउने छैनन् । त्यस्तो कार्य गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई समेत मतदान अधिकृतले सो स्थानबाट बाहिर जान आदेश दिन सक्नेछन् । आदेश नमान्ने व्यक्तिलाई गिरफ्तार गर्न मतदान अधिकृतले सम्बन्धित सुरक्षाकर्मीलाई आदेश दिनुपर्ने छ । मतदान अधिकृतले दिएको आदेश सम्बन्धित सुरक्षाकर्मीले पालना गर्नु पर्नेछ । अधिकृतले दिएको आदेश सुरक्षाकर्मीले पालना नगरे मतदान अधिकृतले निर्वाचन अधिकृतलाई छिटो माध्यमबाट जानकारी गराउनुपर्नेछ र, निर्वाचन अधिकृतले त्यस्तो सुरक्षाकर्मीलाई विभागीय कारबाही गर्न तत्काल आयोगमा लेखी पठाउनुपर्ने छ ।

साथै निर्वाचन सामग्री मतदान केन्द्रबाट बाहिर लैजान पाइने छैन । मतदान कार्य समाप्त भई अन्य सम्पूर्ण प्रक्रिया पूरा नहुञ्जेलसम्म मतदान कार्यमा प्रयोग भएका मतदान सामग्री मतदान केन्द्रभन्दा बाहिर लैजान र अनधिकृत व्यक्तिलाई छुन समेत नदिन आयोगको निर्देशन छ ।

१ करोड ७७ लाख मतदाता

निर्वाचन आयोगका अनुसार यो निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । जसमा महिला मतदाता संख्या ८७ लाख ४१ हजार ५३० र पुरुष मतदाता संख्या ८९ लाख ९२ हजार १० रहेका छन् । त्यस्तै, अन्य मतदातामा १८३ रहेको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप