आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कलैया उपमहानगर : गठबन्धनबाट काँग्रेसका जिल्ला सभापति र एमालेबाट जिल्ला अध्यक्ष भिड्दै

दुवैको आ–आफ्नै दाबी
बिहीबार, २२ वैशाख २०७९, ०६ : ३२
बिहीबार, २२ वैशाख २०७९

स्थानीय तह निर्वाचनमा कलैया उपमहानगर प्रमुखमा पाँच दलीय सत्ता गठबन्धन र नेकपा एमालेबीच मुख्य रुपमा प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो पालिकाको प्रमुख र उपप्रमुख दुवै पद काँग्रेसले जितेको थियो ।

गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका राजेश राय यादव उपमहानगर प्रमुखमा उम्मेदवार छन् । उनी काँग्रेसका बारा जिल्ला सभापति पनि हुन् । उपमहानगरमा उनी दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन् ।

कलैया उपमहानगरमा यसअघिको निर्वाचनमा पनि काँग्रेसका राजेश राय यादवले जितेका थिए । त्यतिबेला यादवसँग नेकपा एमालेका उम्मेदवार बिनोद साह पराजित भएका थिए । नेकपा एमालेले फेरि साहलाई नै उम्मेदवार बनाएको छ । उनी एमालेका बारा जिल्ला अध्यक्ष पनि हुन् ।

२०७४ मा कलैया उपमहानगर प्रमुख÷उपप्रमुख दुवै एक्लै जितेको काँग्रेसले यसपटक जसपा नेपाल, माओवादी केन्द्र र एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीको साथ पनि पाएको छ । जसले गर्दा कलैयामा सत्तारुढ गठबन्धन बलियो अवस्थामा देखिन्छ ।

२०७४ को निर्वाचनमा कलैया उपमहानगरको प्रमुखमा काँग्रेस एक्लैले १० हजार १५३ मत ल्याएको थियो भने तत्कालीन संघिय समाजवादी फोरम (हाल जसपा)ले ९ हजार २७ र माओवादी केन्द्रले ४ हजार १७१ मत प्राप्त गरेको थियो । यो पालिकामा नेकपा एकीकृत समाजवादीको पनि ३ हजार देखि ३५ सय मत रहेको आकलन गरिएको छ ।

नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र र नेकपा एसको मत संख्या जोड्दा सत्तारुढ गठबन्धनसँग कलैया उपमहानगरमा करिव २७ हजार मत देखिन्छ भने विगतको निर्वाचनमा १० हजार ५१० मत प्राप्त गरेको एमाले अहिले पार्टी विभाजनका कारण अझ कमजोर देखिन्छ ।

कलैया उपमहानगरमा २०७४ को निर्वाचनमा काँग्रेसले ६ वटा वडा, तत्कालीन संघीय समाजवादी (हाल जसपा)ले ५ वटा, एमालेले ८, माओवादीले ३, नेपाल लोकतान्त्रिक फोरमले २ र स्वतन्त्र उम्मेदवारले ३ वटा वडामा जितेका थिए । गठबन्धनसँग बलियो मत रहे पनि विगतको कार्यसम्पादन मूल्याङ्कन र टिकट वितरणमा भेदभाव भएको भन्दै पार्टीभित्रकै असन्तुष्ट पक्षहरुको चलखेलका कारण निर्वाचनले  कस्तो परिणाम ल्याउँछ भनेर किटान गर्न सक्ने अवस्था भने छैन ।

५ वर्षे कार्यकालमा यादवले उपमहानगरको विकासका लागि सन्तोषजनक काम नगरेको, भ्रष्टाचार बढेको, पार्टीको जिल्ला सभापतिलाई नै पुनः नगरप्रमुखमा टिकट दिइएको भन्दै काँग्रेसभित्रका असन्तुष्ट पक्ष निष्क्रिय देखिन्छन् ।

यता एमालेका उम्मेदवार विनोद साह पनि काँग्रेसका असन्तुष्ट समूहभित्र खेलेर गठबन्धनको भोट आफ्नो पक्षमा ल्याउने दाउमा देखिन्छन् ।

काँग्रेसको १३ औं महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्यमात्रै रहेका यादव १४ औं महाधिवेशनबाट जिल्ला सभापति भएका छन् । यादवका पिता राधेश्याम यादव पनि ३ कार्यकाल पार्टीको बारा जिल्ला सभापति थिए । पार्टीभित्र परिवारवाद र एउटा समुदाय मात्रै हावी भएको भन्दै काँग्रेसभित्रको ठुलो समूह यादवसँग असन्तुष्ट छ ।

उता, एमालेबाट उम्मेदवार बनेका साह पार्टीको जिल्ला अध्यक्ष हुन् । उनी २ कार्यकाल उद्योग वाणिज्य संघ बाराको अध्यक्ष थिए भने नेकपा एमालेको १० औं महाधिवेशन पश्चात एमालेको जिल्ला अध्यक्ष भएका हुन् ।

कलैया उपमहानगर प्रमुखमा मुख्य प्रतिस्पर्धी राजेश राय यादव र विनोद साहले रातोपाटीसँग संक्षिप्त प्रतिक्रिया व्यक्त गरेका छन् । प्रस्तुत छ, उनीहरुको धारणा उनीहरुकै शब्दमा–

सीमित साधन–श्रोतका बाबजुद काम गरेँ : राजेश राय यादव (गठबन्धनबाट मेयरका उम्मेदवार)

सीमित साधन, श्रोतका बाबजुद कलैया उपमहानगर प्रमुखका रुपमा मैले पाँच वर्ष राम्रो काम गरेको छु । मेरोे कार्यकालमा कलैयामा २५ किलोमिटर भन्दा धेरै बाटो पिच भएको छ । पिलुवा–कलैया सडकखण्डमा हामीले पहल नगरेको भए बडर्हवाभन्दा तल बाटो आउँदैनथ्यो । कलैया चोक आसपासको आधाअधुरो बाटो पनि राजनीतिक चलखेलका कारण मुद्दा लागेर ढिला भएको हो । यसमा पनि थप खानेपानी र सडकको टेन्डर भइसकेको छ । चुनावी माहोलको कारण समयमै काम सुरु हुन सकेन ।  

शिक्षा क्षेत्रमा पनि नमुना काम भएको छ । स्वास्थ्य  क्षेत्रमा २७ वटै वडामा आधारभूत स्वास्थ्य चौकी निर्माण भएको छ । बारा जिल्ला अस्पताल पनि विगतभन्दा धेरै सुधार भएको छ । सबै वडा कार्यालय तथा सामुदायिक भवन निर्माण भएका छन् ।

कलैया उपमहानगर प्रमुखमा २०७४ मा काँग्रेस एक्लैले चुनाव लडेर जितेको थियो । आज नेपाली काँग्रेस, जसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन छ । यसमा मूल्याङ्कन गर्नेले गरिहाल्छ, मैले भनेर केही हुँदैन । मैले एक्लै लड्दा जितेको ठाउँ हो यो । गठबन्धन गर्दा जसपासँग साढे ९ हजार भोट छ । माओवादीसँग पनि ४३ सय हाराहारीमा भोट छ । नेकपा एकीकृत समाजवादीसँग २५ सय देखि ३ हजार हाराहारीमा भोट छ । यसपटक पनि हाम्रो जित निश्चित छ । तैपनि निर्वाचनमा जनताको सल्लाह सुझाव नै सर्वोपरी हुन्छ ।

हिजोको दिनमा हाम्रो पार्टीभित्र आन्तरिक लडाइँ थियो । पार्टीभित्रको आन्तरिक कलहलाई धेरै मेटाइसकिएको छ । अब बाहिर आएर प्रतिपक्षसँग लड्ने हो । सबैलाई सन्तुष्ट गर्न सकिँदैन तर धेरैभन्दा धेरै साथीहरुले सहयोग गरेका छन् ।

गठबन्धनको भोट पनि मलाई आउँछ : विनोद साह (नेकपा एमालेबाट मेयरका उम्मेदवार)

म यो गर्छु÷त्यो गर्छु भन्दा मान्छेलाई डाह हुन्छ । मलाई काँग्रेसको, माओवादी, जसपा, लोसपा सबैको भोट आइरहेको छ भने म किन मिडियामा हल्ला गर्दै हिँडौँ ? मेरो कहीँ प्रचार भएको हेर्नुभएको छ ? यही ‘साइलेन्ट’ले गएको चुनावमा १८३ मतको टक्करले म पराजित भएको हो । अहिले हामी कलैयामा जितिरहेका छौं । मजबुत छौं आफ्नो घमण्ड अहिले म किन ‘शो’ गरौं ?

म विजयी भएर आएपछि कलैयामा र शिक्षा, स्वास्थ्य, कृषिमा राम्रो गर्छु, दलित बस्तीमा घर बनाइदिन्छु, महिलाहरुलाई प्रोत्साहित गर्छु । विद्यार्थीहरुलाई छात्रवृत्तिमा पढाउँछु । जन्मदर्तामा पैसा लिन्न । भ्रष्टाचारमा २ नम्बरमा परेको कलैया उपमहानगरलाई भ्रष्टाचारमुक्त बनाउँछु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप