मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

त्रि-दिवसीय नेपाल भारत साहित्य महोत्सव सम्पन्न

बिहीबार, २२ वैशाख २०७९, ०९ : २५
बिहीबार, २२ वैशाख २०७९

नेपाल भारत साहित्य महोत्सव समितिद्वारा वैशाख १६, १७ र १८ गते काठमाडौँमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा महोत्सव मनाइएको छ । महोत्सवअन्तर्गत पहिलो दिन विशिष्ट साहित्यकारहरूलाई सम्मान गरिनुका साथै महफिल कार्यक्रम र बहुभाषिक कवि गोष्ठीको आयोजना गरिएको थियो ।

विशिष्ट साहित्यकारहरूलाई प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले सम्मान पत्र प्रदान गरेका थिए । सम्मानित हुनेहरूमा वैरागी काइँला, प्राडा वासुदेव त्रिपाठी, घनश्याम राजकर्णिकार, मोदनाथ प्रश्रित, डा. रामदयाल राकेश, गणेश रसिक, डा. राजेन्द्र विमल, प्राडा गोविन्दराज भट्टराई तथा पद्मावती सिंह, माया ठकुरी, डा.गार्गी शर्मा, प्रा.डा. उषा ठाकुर, हिरण्यकुमारी पाठक, डा. बेन्जु शर्मा, उन्नति बोहरा शीला थिए ।

सम्मानितहरूका तर्फबाट समालोचक वासुदेव त्रिपाठी र माया ठकुरीले धारणा राखेको सो कार्यक्रमको अध्यक्षता आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीले गरेका थिए । कार्यक्रममा अस्मिता सुमार्गीले लेखेको स्वागत गीतलाई गायक प्रदीप बमजमले प्रस्तुत गरेका थिए भने कलाकार मेनका लामाले चर्या नृत्य प्रस्तुत गरेकी थिइन् ।

सो कार्यक्रममा कवि एवम् समाजसेवी अस्मिता सुमार्गी र मेरठ लिटरेरी फेस्टिभलका आयोजक डा. विजय पण्डितले पनि धारणा राखेका थिए । कार्यक्रममा प्रमुख अतिथिलगायत विशिष्ट अतिथिहरूले महोत्सवको स्मारिका विमोचन गरेका थिए । स्मारिकाको प्रधान सम्पादक प्रमोद प्रधान, कार्यकारी सम्पादक मुरारी सिग्देल तथा सम्पादक कन्चना झा र पुनम झा छन् । कार्यक्रममा सबै सम्पादकहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

कार्यक्रमको सुरुमा भारतीय साहित्यकारहरूलाई टीका, खादा र माला लगाएर स्वागत गरिनुका साथै नेपाल पर्यटन बोर्डबाट उपलब्ध गराइएको नेपालका पर्यटकीय स्थलहरूबारे जानकारी दिने सामग्रीहरू उपहारस्वरूप दिइएको थियो । कार्यक्रममा पन्चै बाजाका साथ वटुकहरूद्वारा वैदिक मन्त्रोच्चारणसमेत गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले पानसमा दियो प्रज्ज्वलन गरेर गरेका थिए । सोही अवसरमा पुस्तक प्रदर्शनी पनि गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप