सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मतदानपछि गठबन्धन टाइटाइ फिस हुन्छ : ओली

‘गठबन्धनले जतिसुकै ह्याण्डसम र ब्यूटी उम्मेदवार उठाए पनि जित्दैन’
शनिबार, २४ वैशाख २०७९, १९ : ०७
शनिबार, २४ वैशाख २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनपछि पाँच दलीय गठबन्धनको फुर्ती सकिने दाबी गरेका छन् । विराटनगरमा आज आयोजित चुनावी सभामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने ‘वैशाख २७ गतेसम्म गठबन्धनले भाषण गर्छन् । वैशाख ३० गतेपछि गठबन्धन नटालिने गरी पङ्चर हुनेछ । मतदानपछि गठबन्धन टाइटाइ फिस हुनेछ ।’ 

चुनावमा एमालेसँग एक्ला एक्लै लड्न नसक्नेले देश बनाउन नसक्ने उनको भनाई थियो । उनले गठबन्धनले जतिसुकै ह्याण्डसम र ब्यूटी उम्मेदवार उठाए पनि चुनाव नजित्ने टिप्पणी गरे । आफ्नो पार्टीबाहेक अरूले चुनाव जित्न नसक्ने दाबी गर्दै असक्षम व्यक्ति विजयी भए कुर्सी रुने बताए । गठबन्धनतर्फ सङ्केत गर्दै ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले कुहिएका लौरा टेकेर हिँडिरहेको टिप्पणी गरे ।

‘एमालेको टुप्पोमा बसेर १५ वर्षसम्म रस खाएका माधव नेपाल अहिले देउवाको भान्सामा बिरालो भएर पुगेका छन् । देउवाले भान्सामा पुगेको नेपाललाई आफूले देउवालाई भनेर एक÷एक कचौरा दूध दिएपछि शान्त छन्,’ उनले भने ।

गठबन्धन तोड्ने आफूले नै नचाहेको उल्लेख गर्दै ओलीले आफूले चाहेको भए पाँच वटा कचौरा खर्च गरेर काम तमाम गरिदिनसक्ने दाबी गरे । हिजोका दिनमा टाउको मोल तोक्ने र बम हान्नेहरू अहिले एक अर्काको प्रशंसामा मग्न भएको उनको भनाइ छ ।

ओलीले भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति पराजयको स्वीकारोक्ति मात्र रहेको टिप्पणी गरे । ‘पुष्पकमल दाहालले दुर्घटनाको धाकधम्की नदिए हुन्छ । अन्तिममा उनले चिसै पानीले नुहाउने हो । देउवालाई धम्की दिन सक्नुहुन्छ । हिजो पनि धम्की दिनुभएछ क्यारे । प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो, उहाँले होइन भनेर धामी बके झैँ बक्नुभएछ देउवाजी,’ ओलीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप