मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मेरो नजरमा बीना मगरको व्यक्तित्व

शनिबार, १६ मङ्सिर २०७४, १० : १३
शनिबार, १६ मङ्सिर २०७४

– गंगा दाहाल
 

'दिदी हामी कांग्रेसका युवाहरु मिलेर एउटा क्लव बनाएका छौं, हजुरको तर्फबाट कुनै सहयोग हुन सक्छ कि भनेर आएका हाैं', एक दिन कञ्चनपुरका एक युवाले बीना मगरलाई गुनासो गरे । बीनाले तत्कालै प्रतिउत्तर दिइन्, पार्टीभन्दा जनता र विकास ठूलो हो, मैले के गर्न सक्छु, तपाईहरुले कुनै सङ्कोच नमानी भन्दा हुन्छ । त्यसपछि तिनै युवालाई गाडीमा हालेर बीना सिंहदरबार दौडिइन् ।

२०७० सालको संविधान सभा निर्वाचनमा बीना झिनो मतले पराजित भइन् । उनको क्षेत्रमा नेपाली कांग्रेसका देवानसिंह बिष्टले विजय हासिल गरेका थिए । तर, कांग्रेसका युवाहरुको बीनाप्रतिको आकर्षण घटेन । चुनाव हारे पनि कांग्रेसकै कार्यकर्ता कुनै समस्या पर्दा बीना गुहार्थे । कतिले भन्थे, “हाम्रा नेताले जितेर के गर्नु, काम गर्ने तपाई नै हो ।” तिनै बीना अहिले बाम गठबन्धनको साझा उम्मेद्वारका रुपमा कञ्चनपुर–१ मा चुनावी मैदानमा छिन् । 

बाल्यकाल देखि नै कठोर सङ्घर्षका बीच हुर्किइन् उनी । विद्यालय जीवनदेखि नै राजनीतिमा होमिएकी उनी अखिल (क्रान्तिकारी) को केन्द्रीय नेता भइन् । सशस्त्र जनयुद्धको दौरान चरम यातनाको शिकार बनेकी उनी शिवपुरीको काल कोठरीमा लामो समय व्यतित गरिन् । उनलाई दिइएको यातना फिल्मका दर्दानाक दृश्य र कारुणिक कथाभन्दा कम थिएन । तर, उनले हिम्मत हारिनन् । सम्पूर्ण रुपले गणतन्त्र, देश र जनताको मुक्तिको पक्षमा लडिरहिन् । भारतीय चिन्तक तथा साहित्यकार प्रेमचन्द भन्थे, “जीवनलाई वर्षमा होइन, कर्ममा नाप्नुपर्छ ।” हो, तिनै बीना उमेरले अन्य प्रतिस्पर्धीभन्दा कान्छी छिन् । तर, जीवन भोगाइ, संघर्षका अनुभूति र कर्महरुको योगले सबैभन्दा स्थापित र बढ्ता गुरुत्वकी छिन् ।

२०७० सालमा निर्वाचनको मतगणना हुँदै थियो, पार्टीले मतगणनामा बसेका आफ्ना प्रतिनिधिहरुलाई बाहिरिन सकुर्लर गर्यो । कडा प्रतिस्पर्धामा रहेकी बीनाका लागि त्यो निर्णय नै दुर्भाग्यपूर्ण थियो । २०७० को निर्वाचनलाई नजिकबाट नियाल्नेहरु भन्छन्, “मतगणनाको अन्तिमसम्म बसेको भए मतगणनामा सचेत हुन सकिन्थ्यो र बीनाले जित्थिन् पनि ।” तर, निर्वाचन हारे पनि उनले जनताप्रतिको दायित्व भूलिनन् । २०७० यता कञ्चनपुर–१ मा जति विकास भएको छ, त्यसमा ७०% योगदान बीनाको छ भन्नु अन्यथा हुँदैन । उनले निर्वाचन त हारिन् । तर, आफ्नो क्षेत्रका जनताको मन सधैं जितिरहिन् ।

००००० 
उनी निर्वाचनकै अभियानमा थिइन् । यता परिवारमा अकल्पनीय दुर्घटना भयो, हृदयघातका कारण पति प्रकाश दाहालको दुखद् निधन भयो । जीवन नै सङ्घर्षको गाथाले भरिएको उनको जीवनमा अर्को बज्रपात आइलाग्यो । अहिले उनी बाँकी जीवन जनताकै लागि समर्पित गर्ने संकल्पका साथ अढाई वर्षको दुधे बालक बोकेर निर्वाचन अभियानमा छिन् । उनको सम्पूर्ण जीवनलाई चिन्नेहरुको साझा निष्कर्ष हुन्छ, “बीना मगर प्रचण्डकी बुहारी मात्र होइनन्, नेपाली राजनीतिमा असाधारण प्रतिभा भएकी र सम्भावना बोकेकी एक कर्मठ नेतृ पनि हुन् ।” उनको जीवन, सङ्घर्षको गाथा र जनताप्रतिको समर्पण त्यसको प्रमाण हो ।
जीवन साथी गुमाउँदाको पीडा लुकाउँदै उनी कञ्चनपुरको काँचुली फेर्ने संकल्प बोकेर दौडिरहेकी छिन् । उनी भन्छिन्, “कञ्चनपुरको विकास नै मेरो बाँकी सपना हो, यहाँको विकासका लागि सम्भावित सम्पूर्ण उपायहरुको खोजी गर्छु, सामथ्र्य खर्चन्छु ।” कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र जनताको आर्थिक जीवनमा गुणात्मक परिवर्तन उनको कार्यसूचीमा छन् । 

बीना मगर र प्रकाश दाहालको सम्बन्धबारे अनेकै टिप्पणीहरु गरिए । त्यसमा सत्यभन्दा पूर्वाग्रहको गन्ध नै ज्यादा थियो । कतिपयले ठाने, “प्रचण्डका कारण बीनाले अवसर हत्याइन् ।” सत्य त्यसको बिल्कूल उल्टो थियो । बरु, असाधारण प्रतिभा भएर पनि प्रचण्डलाई कुनै अप्ठ्यारो पर्ला भनेर उनी आफै खुम्चिन्थिन् र अरुले नै अवसरको उपयोग गर्थे । यसले भन्छ, “राष्ट्रको जिम्मेवार नेताको आफन्त हुँदा अवसर होइन, अनावश्यक विवादमा आउने र गलत प्रचार गर्ने कारण उनीहरुले आफ्नो योगदान र क्षमता अनुसारको जिम्मेवारीबाट पनि बञ्चित हुनुपर्दो रहेछ ।”

विरोधीहरुले जस्तो प्रचार गरिरहेका छन्, बीनाको स्वाभाव र सोच्ने तरीका ठीक विपरित छ । महिला अधिकारका पक्षमा उनी सचेत मात्र छैनन्, जिम्मेवारी पनि छन् । पारिवारिक मामिलामा यति भन्न सकिन्छ, “बीनामा जिम्मेवारीबोध र महिला अधिकारको चेतना नभएको भए पटकपटक गरिएका चरित्रहत्या र यातनाहरुको डटेर प्रतिवाद गर्थिन् । बीना र प्रचण्ड परिवारका विरुद्ध गरिएका ज्यादतिहरुको मुकाबिला गर्थिन् । तर, उनको व्यक्तित्व र धैर्यताले त्यसो गर्न दिएन । बरु, अत्यन्त संयमित भएर उनले आफ्नो जिम्मेवारी बोध गरिरहिन् र समस्यालाई तन्किन दिइनन् ।
०००००
नेपालमा थुप्रै एनजिओहरु छन्, जसले डलरको खेती गर्छन् र प्रचण्ड परिवारमाथि हमला गर्छन्, अनि त्यसको शिकार भइरहन्छिन् बीना । सर्किण मनोविज्ञान र डलरको लोभले केही मान्छेहरु एनजिओको गोटी बनिरहेका छन् । अनि, त्यही हतियार प्रचण्डको चुलिँदो व्यक्तित्व र उनका परिवारको संघर्षशील जीवनविरुद्ध प्रयोग गर्न खोजिरहेका छन् । पतिवियोगको कारुणिक अवस्थामा रहेकी बीनामाथि फेरि पनि अनर्गल प्रचार गर्ने र त्यसलाई राजनीतिक हतियार बनाउने प्रयत्न हुँदैछ । पीडाको क्षणमा औपचारिक समवेदना समेत व्यक्त नगरी चरित्र हत्या र काल्पनिक तथ्यहरु अघि सारेर उनीमाथि गरिएको हमलाको जति निन्दा गरे पनि कमै हुन्छ ।

बीना एक व्यक्ति, अनेक व्यक्तित्वकी धनी छिन् । हरेक समस्यालाई उनी दीर्घकालीन समाधानको कोणबाट हेर्छिन् । आफ्ना आलोचक र समर्थकहरुलाई उनी समभावको दृष्टिले व्यवहार गर्छिन् । उनको कसैप्रति कटुता र पूर्वाग्रह छैन । सहकार्यको राजनीति र सामाजिक जीवन उनको व्यक्तित्वको निकै महत्वपूर्ण आयाम हो । उनी विकासप्रेमी छिन् । जिल्लाको विकासमा अहोरात्र क्रियाशील छिन् । मदन भण्डारी भन्थे, “राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन ।” भण्डारीको भनाइको मर्मलाई उनले गहिरोसँग आत्मसात गरेकी छिन् । नेपालका महिला नेतृहरुमध्ये  बीना त्यस्ती नेतृ हुन्, जसको जनतासँग सबैभन्दा घनिष्ठ नाता छ ।

नेपालीमा प्रख्यात् उखान छ, “कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ ।” उक्त युक्ति बीनाको जीवन र राजनीतिक यात्रामा ठ्याक्कै मेल खान्छ । उनी बोलीले होइन, व्यवहारले हरेक कुरा प्रमाणित गर्न चाहन्छिन् । अनेकौं प्रचारबाजी र भ्रमबाट उनी थाक्दिनन् । बरु, सत्य सावित गराउँछिन् र विरोधीहरुले आत्मग्लानी गर्ने परिस्थिति बन्छ । त्यही व्यक्तित्व नै उनको नीजि सम्पत्ति हो ।
०००००

जतिबेला मान्छेले विजयको सम्भावना देख्छ, त्यतिबेला वैचारिक बहस र प्रतिस्पर्धाको स्थान रहन्छ । जब मानिस प्रतिस्पर्धामा पराजित हुन्छ, उसले गाली गलौजको सहारा लिन्छ, चरित्र हत्यामा उत्रिन्छ, तिकडमलाई नै राजनीति ठान्छ । अहिले बीनाका प्रतिस्पर्धीहरुको अवस्था ठीक त्यस्तै छ । उनका प्रतिस्पर्धीहरु राजनीति, जनमत र मनोविज्ञानमा समेत पराजित भइसकेका छन् । पराजयले तिल्मिएका कारण उनीहरु वैचारिक बहस गर्न सक्दैनन्, विकासको मार्गचित्र प्रस्तुत गर्न सक्दैनन्, जनतासामू आफ्नो दृष्टिकोण पेश गर्न सक्दैनन् । बरु, पराजयको पीडा आवेश, उत्तेजना, गाली गलौज र सतप्रतिशत भ्रामक तथ्यहरु अघि सारेर व्यक्त गर्दैछन् । यो नै त्यस्तो तथ्य हो, जसले कञ्चनपुरमा बीनाको विजयलाई प्रमाणित गरेको छ ।

कञ्चनपुर–१ का लागि उनी बाम मात्र नभएर आम उम्मेद्वार भएकी छिन् । के कांग्रेस, के राप्रपा, के मधेशवादी सबै दलका नेता र कार्यकर्तामा बीनाप्रति सद्भाव देखिएको छ, उनको पीडा कञ्चनपुरका महिलाहरुको बलियो साथ छ । अनि भन्छन्, “पति नभए पनि हामी हजारौं महिला तपाईको साथमा छौं, तपाईको विजयको जिम्मा हामीले लिएका छौं ।” 

बीना मगर माओवादी आन्दोलनमा मात्र होइन, समकालीन राजनीतिका महिला नेतृहरुमध्ये सबैभन्दा बढी सम्भावना बोकेकी उम्मेदवार हुन्, विकास र समृद्धिको योजना बनाउन र कार्यान्वयन गर्ने सामथ्र्य राख्ने नेतृ हुन् । राजनीतिक आग्रहबाट माथि उठेर सबैसँग सहयात्रा गर्ने हैसियत राख्ने पात्र हुन् । हो, तिनै बीनाले कञ्चनपुर–१ मा चुनाव जितिसकेकी छिन् । यद्यपि, औपचारिक घोषणाका लागि भने केही दिन प्रतिक्षा गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप