सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश निर्वाचन कार्यालय : नाम छ काम छैन

बुधबार, २८ वैशाख २०७९, १० : ३९
बुधबार, २८ वैशाख २०७९

देश संघीयतामा गएपछि नयाँ प्रादेशिक संरचना अनुसार ७ प्रदेशहरू कायम भए । देशकै केन्द्रको रुपमा रहेको काठमाडौं उपत्यकासहितका अन्य १० जिल्लाहरु समावेश गरी बागमती प्रदेश स्थापना गरियो । २०७६ पुस २७ गते बागमती प्रदेशको राजधानी हेटौंडा कायम गरियो भने सोही दिन बागमती प्रदेश नामकरण पनि गरिएको छ । प्रदेश राजधानी कायम गरिएपछि केन्द्रमा हरेका सरकारी निकायहरुले धमाधम प्रदेशस्तरमा आफ्नो संरचनाहरु तयार गर्ने काम गरे । प्रदेश राजधानी हेटौंडाबाट उनीहरुले कार्य संचालन प्रारम्भ गरी त्यसलाई जारी राखेका छन् ।

संघीयता कार्यान्वयनका लागि सरकारी संयन्त्रहरु प्रदेशस्तरमा सञ्चालनका क्रममा निर्वाचन आयोगले हेटौंडामा प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश स्थापना गर्‍यो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ सानोपोखरामा स्थित तत्कालिन जिल्ला निर्वाचन कार्यालय मकवानपुरको भवनमा प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश हेटौंडा नामकरण गरी संचालनमा ल्याइएको हो ।

२०७७ चैतमा निर्वाचन आयोगले स्थापना गरेको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडा यति बेला नाममा मात्र सीमित भएको छ । तत्कालिन जिल्ला निर्वाचन कार्यालय हुँदा अधिकृतस्तरका कर्मचारीले कार्यालय प्रमुख चलाउँदै आएका थिए । प्रदेशस्तरको कार्यालय आएपछि जिल्ला र प्रदेश दुवैको कार्य त्यहाँबाट हुने व्यवस्था मिलाइयो र उपसचिव स्तरको कर्मचारी कार्यालय प्रमुख राखेर कार्य प्रारम्भ गरिएको थियो ।

निर्वाचन आयोगले कार्यालय स्थापना ग¥यो तर अधिकार प्रत्यायोजन नगर्दा प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडा नाममा मात्र सिमित बनेको हो । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडामा उपसचिवस्तरका लुम्बनाथ पोखरेल कार्यालय प्रमुख छन् भने तत्कालिन जिल्ला निर्वाचन कार्यलय मकवानपुरको कार्यालय प्रमुख गोविन्दप्रसाद पौडेल सहायक प्रदेश निर्वाचन अधिकृतको रुपमा कार्यरत छन् ।

मंगलबार रातोपाटी टिमले प्रदेशस्तरको निर्वाचनको तयारी र गतिविधिका बारेमा बुझ्ने प्रयास गर्दा कार्यालय प्रमुख पोखरेलले आफूसँग प्रदेशस्तरको कुनै जानकारी नभएको बताए । उनले प्रदेश निर्वाचन कार्यालय नाम भएपनि काम जिल्ला निर्वाचन कार्यालयको गर्दै आएको गुनासो गरे ।

‘हेर्नुहोस्, यो प्रदेश निर्वाचन कार्यालय भएपनि त्यो कार्यान्वयनमा आएको छैन । नाम दिएको छ, तर काम दिएको छैन,’ उनले भने, ‘हामी जिल्ला निर्वाचन कार्यालय मकवानपुरको रुपमा काम गरिरहका छौँ । प्रदेशको जानकारी दिन सक्दिनँ । मकवानपुरको चाहिएको भए माग्नुस् । म दिन सक्छु ।’

आयोगले कार्यालय स्थापना गरेपनि प्रदेशलाई अधिकार प्रत्यायोजन र प्रदेशस्तरका रूपमा सांगठनिक संरचना निर्माण नगर्दा समस्या देखिएको छ । आयोगले हेटौंडामा प्रदेश कार्यालयका रूपमा स्थापना भएको एक वर्ष बितिसकेको छ । तर सो कार्यालयले जिल्ला निर्वाचन कार्यालय सरह मकवानपुरमा मात्र केन्द्रित भएर काम गरिरहेको छ ।

तत्कालिन जिल्ला निर्वाचन कार्यालय मकवानपुर रहँदा ७ जना कर्मचारी कार्यरत रहेकोमा हाल प्रदेशस्तरको कार्यालय भएपछि ९ जना कर्मचारी कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप