सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महँगीको चपेटामा अर्थतन्त्र, एक महिनामा कस्तो आयो बदलाव ?

बुधबार, २८ वैशाख २०७९, १७ : ४२
बुधबार, २८ वैशाख २०७९

नेपाल राष्ट्र बैंकले बुधबार चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको रिपोर्ट सार्वजनिक गरेको राष्ट्र बैंकले समीक्षा अवधिमा उच्च दरमा बजार महँगी (उपभोक्ता मुद्रास्फीति) बढेको देखाएको हो ।

चैत मसान्तसम्म मुलुकको बजार महँगी बढेर ७.२८ प्रतिशत पुगेको रिपोर्टमा उल्लेख गरिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा वार्षिक विन्दुगत आधारमा ४.१८ प्रतिशतले नै बढी हो । यद्यपि, चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिले ६.५ प्रतिशतसम्मको मात्र मुद्रास्फीतिको सीमा राखेको थियो ।

बाह्य कारणको दबाब वस्तु तथा सेवाको आयातमा परेको प्रभाव सो मूल्यमा समेत पर्दा बजार महँगी बढ्न गएको हो । यस अवधिमा खाद्य तथा पेय पदार्थ घ्यू, तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थमा २८.३६ प्रतिशतले मूल्यवृद्धिका कारण समग्र बजार नै महँगिन पुगेको बैंकको रिपोर्टले देखाएको छ । यस्तै, समीक्षा अवधिमा अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थ र सुनको मूल्यले समेत मूल्य वृद्धि हुँदा त्यसको प्रभाव नेपालमा समेत परेको बैंकले जनाएको छ ।​

​यस्तै, समीक्षा अवधिमा ९.४ प्रतिशतसम्मले निर्यात वृद्धि हुँदा पनि उच्च आयातका कारण मुलुकको व्यापार घाटाको दायरा थप वृद्धि हुँदै शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोड घाटामा पुगेको र चालु खाता घाटा समीक्षा अवधिमा बढेर ५ खर्ब १२ अर्ब ७१ करोड पुगेको बैंकले जनाएको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो चालु खाता घाटा २ खर्ब १० अर्ब ५१ करोड रुपैयाँ मात्र रहेको थियो ।

रेमिट्यान्स र विदेशी मुद्राको सञ्चितिको अवस्था

चालु आर्थिक वर्षको शुरुवात देखिनै तीव्र आयातकाबीच निरन्तर घट्दोदरमा रहेको विदेशी मुद्राको सञ्चिति र विप्रेषण आप्रवाह (रेमिट्यान्स) रोक्न सरकारले विभिन्न उपाय अपनाएपछि यी सूचकमा पनि खासै सुधार आउन सकेको छैन । तीव्र आयातलाई रोक्न र विदेशी मुद्राको सञ्चिति बढाउन पछिल्लो समय सरकारले आयात नियन्त्रणको नीति लिएको थियो ।

बैंकको तथ्याङ्क अनुसार अघिल्लो महिना अर्थात् चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ११ खर्ब ७१ अर्ब रुपैयाँ बराबर रहेको विदेशी मुद्राको सञ्चिति चैत मसान्तसम्म आइपुग्दा थप ३ अर्ब ८ करोडले घट्न पुगको छ । बैंकका अनुसार चैतमसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति घटेर ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ । यसले अहिलेकै दरमा ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात मात्र धान्न पुग्ने देखिन्छ ।

यता रेमिट्यान्स आयातमा भने पछिल्लो महिना केही सुधारात्मक संकेत देखिएको छ । बैंकका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो महिनाको तुलनामा ९३ अर्ब ५५ करोड रुपैयाँले बढी हो । यद्यपि, पछिल्लो समय विदेशीनेहरुको संख्यामा आएको उच्च वृद्धिका बाबजुद यस्तो रेमिट्यान्स आयातलाई सन्तोषजनक भने मान्न सकिन्न । अघिल्लो महिना (फागुन) मा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

यस्तो छ अघिल्लो महिना र समीक्षा महिनाको तुलनात्मक वित्तीय स्थिति  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप