सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एकजना मतदातालाई मतदान गर्न कति समय लाग्छ ?

बुधबार, २८ वैशाख २०७९, २१ : २१
बुधबार, २८ वैशाख २०७९

वैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ । संघ र प्रदेशको निर्वाचनमा जस्तो एउटा उम्मेदवारका लागि एउटा मात्र स्वस्तिक छाप लगाउने नभई यो निर्वाचनमा प्रमुख उपप्रमुख वडाध्यक्षदेखि सदस्यसम्म ७ जना उम्मेदवारका लागि ७ छाप लगाउनुपर्ने हुन्छ ।

कम्तिमा १ मिनेटभित्र एकजना मतदाताले मतदान गरिसक्ने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार एक जनाले कम्तिमा १ मिनेटभित्र मतदान गरिसक्ने आंकलन गरिएका बताए ।

सहप्रवक्ता अर्यालले भने, ‘अहिलेको यो स्थानीय तह निर्वाचनमा मतदान गर्न सरदर ४० देखि ५० सेकेन्ड लाग्नसक्छ । बढीमा १ मिनेट लाग्नसक्छ ।’ उनका अनुसार मतदान केन्द्रमा नाम रुजु गरेर मतपत्र लिएपछि मतदान गरेर फर्किनेसम्मका सबै कार्यका लागि कूल ५ मिनेटभन्दा बढी लाग्दैन ।

मतदान स्थलको दृश्य हेर्दा एकजना मतदाताको प्रवेशदेखि बाहिरिने बेलासम्म प्रक्रियामा ७–८ मिनेट भन्दा पर समय नजाने उनको भनाइ छ । उनले भने, ‘कुनै मतदाताले सुरुमा आफ्नो नाम रुजु गराएको हुन्छ । ऊभन्दा अगाडिकोले नङमा मसी लगाइरहेको हुन्छ । त्यसभन्दा अगाडिको मतपत्र लिएको हुन्छ । ऊभन्दा अगाडि गोप्य मतदान केन्द्रमा जान प्रतिक्षामा बसेको हुन्छ । अर्कोचाहिँ मतपत्रमा स्वस्तिक छाप हानिरहेको हुन्छ । अर्को व्यक्ति त्यही बेलामा मतपेटिकामा मतपत्र खसालेर बाहिरिन लागिरहेको हुन्छ । ७–८ मिनेटमा ७–८ जना मानिस मतदानको विभिन्न चरणमा रहेका हुन्छन् । एउटा मतपेटिकामा सरदर १ हजार जनाले मतदान गरेका हुन्छन् ।’ देशभर १० हजार ७ सय ५६ मतदान स्थल रहेका रहेका छन् ।

आयोगले मतदान अधिकृतहरूलाई पठायो वैशाख ३० गते पानी पर्ने सूचना

यसैबीच निर्वाचन आयोगले शुक्रबार हुने मतदानका दिन पानी पर्नेबारे सबै निर्वाचन अधिकृतलाई सूचना पठाएको छ । जल तथा मौसम विज्ञान विभागले पानी पर्ने भनेकाले सोही अनुसार व्यवस्थापन गर्न सबै अधिकृतहरूलाई निर्देशन दिइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

उनले भने, ‘मौसमविद्हरुले चुनाव हुने दिन पानी पर्छ भनेका कारण त्यस कुरालाई आयोगले तुरुन्तै मध्यनजर गर्दै सबै मतदान अधिकृतहरूलाई सूचना पठाइसकिएको छ । सोही अनुसार मतदान केन्द्र निर्माणका लागि हामीले नगद रकम पनि पठाएका छौँ । त्यही रकमबाट उहाँहरुले त्रिपाल तथा पाल खरिद गर्नुहुनेछ । कतिपय विद्यालय वा सार्वजनिक भवनको छानामुनी मतदान केन्द्र निर्धारण गर्न भनेका छौँ ।’

कम्तिमा निर्वाचन सामग्री सुरक्षित हुने र मताधिकार रक्षा हुने तरिकाले व्यवस्था गर्न निर्देशन दिइएको उनले बताए । यस्तै दुर्गम स्थानबाट मतपेटिका ढुवानीको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयलाई जिम्मेवारी दिएको अर्यालले बताए ।

अति विकट क्षेत्रको मतपेटिका हवाई माध्यमबाट र यातायात पुगेको ठाउँमा सवारी साधनामा कति सुरक्षाकर्मी चाहिन्छ सोही अनुसार व्यवस्था गरेर सुरक्षित रुपमा मतपेटिका मतगणना स्थलमा पु¥याउन स्थानीय प्रशासनलाई जिम्मेवारी दिइएको आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप