सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अहिलेसम्म मानिसको क्लोन किन बनाइएन ? यस्तो छ कारण

बिहीबार, २९ वैशाख २०७९, १४ : १८
बिहीबार, २९ वैशाख २०७९

तपाईंलाई सायद याद होला सन् १९९६ मा डली नामको एउटा भेडाले निकै चर्चा बटुलेको थियो । किनभने त्यो विश्वको पहिलो स्तनधारी जीव थियो जसलाई एउटा वयस्क कोसिकाबाट क्लोन गरिएको थियो । त्यसपछि मानिसको पनि क्लोन छिट्टै नै बनाइने अनुमान लगाउन सुरु गरेका थिए । तर यस्तो हुन सकेन ।

मानव क्लोनिङ (ह्युमन क्लोनिङ) का थुप्रै फाइदा बताइएको थियो । केही मानिसले यसलाई वंशानुगत रोग जरैबाट समाप्त गर्ने माध्यमको रुपमा व्याख्या गरेका थिए भने कतिले क्लोनिङमार्फत् जन्मजात दोषलाई निर्मुल हुन सक्ने अनुमान गरेका थिए । यद्यपि, सन् १९९९ मा फ्रान्सका वैज्ञानिकले आफ्नो शोधमा क्लोनिङले वास्तवमा जन्मभन्दा अघि हुने दोषलाई बढाउन सक्ने तथ्य फेला पारे ।

डलीको सफलतापछि सफल मानव क्लोनिङ प्रोग्राम्सका थुप्र्रै दाबी पनि गरिएका थिए तर सबै निराधार प्रमाणित भए । सन् २००२ मा फ्रान्सका एकजना केमिस्ट र रेइलिजम (Raëlism) समर्थक ब्रिगिट बाइसेलियरले आफूले वैज्ञानिकको एउटा समूहसँग मिलेर पहिलो मानव क्लोन बनाएको दाबी गरेका थिए । उनले त्यसको नाम इभ पनि राखेका थिए । रेइलिजम यूएफओ धर्म हो, जुन एलियन्सले मानवताको निर्माण गरेको हो भन्ने विचारमा आधारित छ । ब्रिगिट बोइसेलियरले यो दाबीको कुनै पनि प्रमाण दिन सकेनन् त्यसैले उनको यो दाबी गलत मानियो ।

यहाँ प्रश्न के उठ्छ भने डली बनेको करिब ३० वर्षपछि पनि मानिसको क्लोन किन बनाइएन ? के यसको पछाडि नैतिक कारण छन्, प्राविधिक समस्या छन् वा कि यस्तो गर्नु बेकार छ ? राष्ट्रिय मानव जिनोम अनुसन्धान संस्थान (एनएचजीआरआई) का अनुसार क्लोनिङको उद्देश्य सधैँ जैविक इकाईको आनुवंशिक रुपमा समान प्रतिलिपि सिर्जना गर्नु हो ।

एनएचजीआरआईका अनुसार जब मानव क्लोनिङ हुन्छ त्यसमा प्रजनन क्लोनिङ प्रविधिको प्रयोग गरिनेछ । यसमा छालाको परिपक्व सोम्याटिक कोसिकाको प्रयोग हुनेछ । यो सेलबाट निकालिएको डिएनएलाई कुनै डोनरको अण्डाको सेलमा राखिनेछ जसका उसको आफ्नै डीएनएयुक्त न्युक्लियस हटाइन्छ । एनएचजीआरआईका अनुसार एक वयस्क महिलाको गर्भमा प्रत्यारोपण गर्नु अघि अण्डा एउटा टेस्ट ट्युबमा विकसित हुन सुरु हुन्छ । यद्यपि, वैज्ञानिकले अहिलेसम्म बाख्रा, खरायो र बिरालोजस्ता स्तनधारीको क्लोन बनाएको छ, मानिसको छैन ।

स्ट्यान्डफोर्ड युनिभर्सिटीमा कानुन तथा जेनेटिक्सका प्राध्यापक ह्यान्क ग्रीली, जीव विज्ञानमा भइरहेको प्रगतिबाट पैदा हुने नैतिक, कानुनी र सामाजिक मामिलाका जानकार हुन् । उनी भन्छन्, ‘मलाई लाग्छ हामीसँग मानिसको क्लोन बनाउनुका कुनै पनि कारण छैनन् । मानव क्लोनिङ एक ड्रामाटिक एक्सन हो र यो ती विषयमध्ये एक थियो जसले अमेरिकी बायोएथिक्स बनाउन मद्दत गर्यो ।’

मानव क्लोनिङसँग जोडिएका थुप्रै नैतिक कारण पनि हुन् । ब्रिटानिकाका अनुसार यसमा मनोवैज्ञानिक, सामाजिक र शारीरिक जोखिम समावेश छन् । साथै, क्लोनिङलाई ‘मानव गरिमा, स्वतन्त्र र समानताको सिद्धान्त’ को उल्लंघन पनि मान्न सकिन्छ ।

यसबाहेक स्तनधारीको क्लोनिङले क्लोनमा मृत्यु र विकाससम्बन्धि थुप्रै समस्या देखिए । मानव क्लोनिङसँग अर्को एउटा मुख्य समस्या यो हो कि वास्तवमा व्यक्तिको कार्बन कपी बन्नुको साटो यसबाट एक भिन्न विचार भएका दोस्रो व्यक्ति बन्नेछन् । ग्रिलीलाई विश्वास गर्ने हो भने मानव क्लोन जेनेटिक रुपमा मात्रै अरुजस्तो हुनेछ । व्यक्तित्व, नैतिकता वा ह्युमरजस्ता भावना एकै खालका हुने छैनन् । दुई व्यक्तिमा यी सबै कुरा भिन्न भिन्न हुनेछ । ग्रिली यसको कुनै फाइदा नभएको बताउँछन् । उनका अनुसार यसमा नैतिक चिन्तालाई नजरअन्दाज गर्न पनि निकै मुश्किल हुनेछ ।

ग्रिलीका अनुसार मानव क्लोनिङ अब वैज्ञानिक अध्ययनका लागि एउटा निकै रोचक विषय हुन सक्दैन । पछिल्ला वर्षहरुमा यसमाथि खासै केही गरिएन, यो नै यसको प्रमाण हो । यसको साटो मानिसको रुची अब मानव जर्मलाइन जिनोम एडिटिङमा छ । जर्मलाइन एडिटिङ वा जर्मलाइन इन्जिनियरिङ त्यो प्रक्रिया हो जसमा एक व्यक्तिको जिनोममा स्थायी परिवर्तन गर्न सकिन्छ । यो परिवर्तन वंशानुगत हुने गर्छ अर्थात् आमाबुवाबाट यो बच्चामा जानेछ ।

हार्वर्ड युनिभर्सिटीमा जेनेटिसिस्ट तथा मोलिक्युलर इन्जिनियर जर्ज चर्चपनि ग्रिलीको कुराको समर्थन गर्छन् । उनले पनि भोलिको समयमा वैज्ञानिकको रुची क्लोनिङको तुलनामा जर्मलाइन एडिटिङमा हुनसक्ने बताएका छन् । उनका अनुसार क्लोनिङ आधारित जर्मलाइन एडिटिङ साधारणतया धेरै सटिक हुन्छन् । यसमा धेरै जिन समावेश हुनसक्छ । यद्यपि, उनले यसमा सावधानी अपनाउन पनि सल्लाह दिएका छन् । उनले यस्तो खालको एडिटिङमा अहिलेसम्म महारत हासिल नभएको स्वीकार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप