ब्याटल ग्राउन्ड महोत्तरी : राष्ट्रपतिकी सम्धिनीलाई शरतसिंहको ब्रेकर !
नेत्र पन्थी र एसके यादव
महोत्तरी– नेपाली काङ्ग्रेसकी नेतृ किरण यादवको परिचय अचेल बदलिएको छ । केही महिनासम्म उनी नेपाली काङ्ग्रेसकी नेतृ भएर चिनिएकी थिइन् तर अहिले उनको नामसँग नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको नाम जोडिएर आउँछ ।
कारण हो, किरण यादवका छोरा र राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीसँग बिहे । बिहे भएका कारणले दुई सम्धिनी भएकी छिन् । यो सम्धिनीको फ्याक्टरले महोत्तरी–२ का प्रतिनिधि सभा उम्मेदवार किरण यादवको चुनावमा कति फरक पार्छ, त्यो त २१ गतेपछि मात्र थाह हुन्छ तर यहाँ सबैले अहिले उनलाई राष्ट्रपतिकी सम्धिनी भनेर सम्बोधन गरिरहेका छन् ।
राष्ट्रिय, अन्तर्राष्ट्रियको सञ्चारकर्मी होस् या अनुगमनकर्ता, सबैले राष्ट्रपतिको सम्धिनी भन्दै खोज्दै उनलाई भेट्न जान्छन् । क्षेत्रमा पनि राष्ट्रपतिकी सम्धिनी भनेर चर्चा हुने गरेको छ । देशका प्रमुख व्यक्तिकै सम्धिनी भएका कारणले चर्चा हुनु स्वभाविक पनि हो । यस सन्दर्भमा पूर्वराष्ट्रपति डा. रामवरण यादवको सम्झना पनि कतिपयले गर्न थालेका छन ।
किरण यादव यस्तो भाग्यमानी हुन् कि उनी बहालवाला र पूर्व दुईवटै राष्ट्रपतिको आफन्त परिन् । उनी पूर्वराष्ट्रपति यादवकी भतिजी पनि हुन् । यसअघिको चुनावमा यो कुराले पनि चर्चा पाएको थियो । तर यस पटक भतिजीको सम्बन्ध छायाँमा परेको छ र चर्चामा आएको छ सम्धिनीको सम्बन्ध ।
२०७० सालमा नेपाली काङ्ग्रेसका तर्फबाट धनुषाबाट संविधानसभा सदस्य बनेका चन्द्रमोहन यादव पूर्व राष्ट्रपति रामवरण यादवका छोरा हुन् । उनलाई राष्ट्रपतिको छोरा हो भनेर जिताइएका चर्चा त्यतिबेला व्याप्त थियो । किरण यादव र विद्यादेवी भण्डारीको सम्बन्धलाई लिएर अहिले त्यो चर्चा उठेको छ ।
तर, किरण यादवका लागि ठूलो चुनौती बनेको छ राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी । जसले दुई नम्बर क्षेत्रमा चुनाव जित्दैछन् भन्ने चर्चा हुन थालेका छन् ।
२०६४ सालको पहिलो संविधानसभा चुनावमा खसकोे ४२ हजार ७१६ मध्ये छ हजार ८६२ मत ल्याएर जितको थिए । काङ्ग्रेसका सीताराम भण्डारी पराजित भएका थिए ।
त्यतिबेला पनि काङ्ग्रेस र माओवादी केन्द्र उनको प्रतिस्पर्धामा थियो । दोस्रो संविधान सभा चुनावमा उनी दुई ठाउँबाट चुनाव उठेका थिए । तर, दुवै ठाउँबाट उनी हारे । पहिलो चुनावमा आएको परिणामको ठीक उल्टो भयो । काङ्ग्रेसका सीताराम भण्डारी चुनाव जितेका थिए भने माओवादी दोस्रो र शरतसिंह भण्डारी तेस्रो स्थानमा चित्र बुझाएका थिए । त्यतिबेला उनले छ हजार ६६० मत ल्याएका थिए ।
चुनाव हारेपछि उनले आफ्नो क्षेत्रमा निकै मिहिनेत गरे । १५ वटा स्थानीय तहमध्ये सातवटा राजपा नेपालले त्यहाँ जितेका छन् । भण्डारीको क्षेत्रमा सातवटा तह पर्छन्, त्यसमध्ये राजपा नेपालले महोत्तरी गाउँपालिका, भगंहा गाउँपालिका र पिपरा गाउँपालिका मात्र जितेको छ । भङ्गहा गाउँपालिकाको १, २, ६, ७ र ८ वटा मात्र सो क्षेत्रमा पर्छन् । एकडरा गाउँपालिकाका छ नम्बर र पिपरा गाउँपालिकाको पनि छ नम्बर वडा मात्र सो क्षेत्रमा रहेको छ ।
उनको यो क्षेत्रमा दुई लाखभन्दा बढी मतदाता रहेका छन् । ३६ वटा क्षेत्र रहेको भण्डारीको सो क्षेत्रमा राजपा नेपालले १६ र फोरम नेपालले पाँच गरी २१ वडा जितेका छन् । काङ्ग्रेसले ११, माओवादी केन्द्रले ४ वडा जितेको छ ।
शरतसिंह भण्डारीको गाउँपालिका समेत रहेको औरहीमा काङ्ग्रेसले जितेको छ तर भण्डारीको क्षेत्रमा परेको वडाहरू सबै राजपा र फोरम नेपालले जितेका छन् । भण्डारीका लागि लोहारपट्टी गाह्रो हुने देखिएको छ । त्यहाँ अध्यक्षमा काङ्ग्रेस जितेको छ । नौवटा वडामध्ये सातवटा काङ्ग्रेसले जितेको छ भने राजपा नेपाल र माओवादीले एउटा जितेको छन् । बालवा गाउँपालिका काङ्ग्रेसले जिते पनि ११ वडामध्ये चारवटा राजपा र फोरमले तीन गरी सातवटा जितेका छन् । काङ्ग्रेसले तीन र माओवादीले एक वडा जितेको छ ।
किरण यादव दोस्रो संविधान सभाको निर्वाचनमा यही क्षेत्रबाट विजयी भएकी थिइन् भने शरतसिंह भण्डारी दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन क्षेत्र नं. ६ र क्षेत्र नं. १ बाट पराजित भएका थिए । तर, यस पटक त्यो अवस्था नरहेको स्थानीयहरू बताउँछन् । मधेस आन्दोलनको रापताप र राजपा र फोरम नेपालको साझा उम्मेदवार भएको कारणले प्रतिस्पर्धामा अगाडि रहेको बताइन्छ ।
७९ हजार १९७ मतदाता रहेको यस क्षेत्रमा यादव तथा मुस्लिमको बाहुल्यता बढी देखिएकाले नेतृ यादवले पनि कडा टक्कर दिइरहेकी छिन् । शरतसिंह भण्डारीलाई समर्थन गर्न काङ्ग्रेसले त्यहाँ उम्मेदवार नउठाउने सोच बनाएको थियो । तर किरण यादवले आफूलाई टिकट नदिए स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेपछि अन्त्यमा गएर पार्टीले उनलाई टिकट दिएको बताइन्छ ।
स्वतन्त्र उम्मेदवार दिने भएपछि वामगठबन्धनले पनि सघाउने सहमति भइसकेको थियो र त्यसमा विद्यादेवी भण्डारीले सबभन्दा बढी भूमिका खेलेको स्थानीयहरूको दाबी छ । त्यसका लागि कमजोर उम्मेदवार कसिम नदाफलाई तयार गरेको थियो गठबन्धनले । तर काठमाडौँमा लोकतान्त्रिक गठबन्धन नबनेपछि अन्तिम समयमा आएर किरण यादवलाई पार्टीले टिकट दिएको थियो ।
शरतसिंह भण्डारी प्रतिस्पर्धामा आगाडि देखिएपछि किरण यादवले एमाले र माओवादी केन्द्रको मतमा भर पर्न थालेकी छिन् । ‘किरण यादवले आफ्नो मात्र मतले जित्ने सम्भावना देखिएको छैन’ पत्रकार नागेन्द्र कर्ण भन्छन्, ‘किरण यादव काङ्ग्रेसको मतले मात्र जित्न सक्दैन । उहाँलाई कसै न कसैको सहयोग चाहिन्छ नै । त्यसमा सबभन्दा बढी एमालेको मत लोभ गरेर बस्नुभएको छ ।’
नेपाली काङ्ग्रेसका नेता बजरङ्ग नेपालीले वामगठबन्धनको समर्थन हुने सम्भावना देखिएको स्वीकार गरे । उनले भने– ‘वामगठबन्धनको उम्मेदवार बलियो छैन, हार्नुभन्दा काङ्ग्रेसलाई नदिने हुनसक्छ ।’ शरतसिंह भण्डारी र करिण यादवबीच कडा प्रतिस्पर्धा रहेको बताउँदै उनले फलाननेले नै जित्छ भन्ने आँकलन गर्ने सम्भावना नरहेको बताए ।
सो क्षेत्रमा वामगठबन्धनको खासै सङ्गठन छैन । वामगठबन्धनमध्ये माओवादी केन्द्रले एउटा तह जितेको छ भने एमाले शून्य अवस्थामा झरेको छ ।
संविधान सभा सदस्य भएको बेला क्षेत्रमा उनले कुनै काम नगरेको र उनका सहयोगी रामेश्वर राय यादवले संसदीय कोषको पैसा चलखेल गरेको अरोप क्षेत्रमा लाग्ने गरेको छ ।
पुराना पत्रकार कुँवरकान्त झा भन्छन्, ‘शरतसिंह भण्डारी संसद नभए पनि स्थानीयस्तरमा उहाँको चहलपहल बढी थियो । उहाँले हारेर गए पनि अधिकांश समय क्षेत्रमै दिनुहुन्थ्यो । त्यही भएर उहाँ प्रतिस्पर्धामा अगाडि देखिनुभएको छ तर चुनाव हो यसै केही भन्न सकिँदैन ।’
राजपा अध्यक्ष मण्डलका सदस्यसमेत रहेका शरतसिंह भण्डारीले मधेसको एजेन्डा जोसँग छ उसैसँग जनता रहने बताए । उनले आफूले मधेसका लागि गरेको योगदान र बलिदान जनताले अझै नबिर्सेको र त्यही भएर माहोल आफ्नो पक्षमा रहेको दाबी गरे ।
‘संविधान संशोधनको विषयमा काङ्ग्रेस पार्टीले खेलेको भूमिका कसैबाट लुकेको छैन’, उनले भने, ‘देशका सबभन्दा ठूलो पार्टी काङ्ग्रेसले यदि संविधान संशोधन गर्न चाहेको भए असम्भव थिएन तर हामीलाई अल्झाएर राख्यो, अब यसको हिसाब किताब मधेसी जनताले चुनावबाट लिनेछ ।’
प्रतिस्पर्धामा आफू धेरै अगाडि रहेको दाबी गर्दै उनले भने, ‘वामगठबन्धनको आफ्नै उम्मेदवार छन् तर त्यसको मत फलानैलाई जान्छ भने होइन । जसले मतदाताको हितमा काम गरेको छ, सङ्घर्ष गरेको छ, त्यसको पक्षमा मत जान्छ ।’
त्यसैगरी प्रदेश सभामा पनि दुवै पार्टीको उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काङ्ग्रेसबाट प्रदेशसभाका लागि (क) बाट सुशीलकुमार यादव तथा (ख) बाट राकजरणप्रसाद साह सुडी तथा राजपा गठबन्धनको तर्फबाट (क) जयनुल राइन तथा (ख) सुरिताकुमारी साहको उम्मेदवारी परेको छ ।