ब्याटल ग्राउन्ड महोत्तरी : सर्लाहीबाट महोत्तरी पुगेका महन्थ ठाकुर कति सुरक्षित ?
नेत्र पन्थी र एसके यादव
महोत्तरी– महोत्तरी जिल्लामा चारवटा निर्वाचन क्षेत्र छन्, जसमध्ये सबैभन्दा बढी चर्चा क्षेत्र नम्बर ३ को छ । त्यहाँ राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको नजर छ ।
हरेक निकालयले सो क्षेत्रलाई ‘नोटिस’मा राखेको छन्, कारण हो महन्थ ठाकुर । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर महोत्तरी ३ बाट चुनाव लडेका छन् । सर्लाहीबाट दुई पटक चुनाव हारेका महन्थ ठाकुर चुनावी क्षेत्र मात्र होइन, जिल्ला नै परिवर्तन गरी चुनावी दौडमा छन् ।
महन्थ ठाकुर युवा उम्मेदवार जस्तै घरदैलो कार्यक्रममा व्यस्त देखिन्छ । सर्लाही जस्तो तनाव उनको अनुहारमा देखिँदैन किनभने यस पटक जित्छु भनी ढुक्क छ उनलाई ।
मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले भने– ‘महन्थ ठाकुरले जित्नु हुन्छ, त्यसका तीनवटा मुख्य कारण छ । एक, मधेस आन्दोलनलाई नेतृत्व गर्नुभएको, दुई, नेपाली काङ्ग्रेसले पनि समर्थन गरेको र तेस्रो, राजपा नेपाल र फोरम नेपालको साझा उम्मेदवार । यी तीन कारणले उहाँ चुनावी दौडमा सबभन्दा अगाडि हुनुहुन्छ ।'
नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका पूर्वअध्यक्ष समेत रहेका मेयर मण्डलले संयोजक ठाकुरको भद्रता, शालिनता र इमानदारिताप्रति यहाँका जनता विश्वास गरेको कारण उनी अगाडि देखिएको बताए ।
तर उनका लागि एउटा चुनौती पनि छ । संयोजक ठाकुरले आफ्नै हातले टीका लगाएर दुई महिनाअघि पार्टी प्रवेश गराएका चन्देश्वर झा उनका लागि अहिले टाउको दुखाइको विषय बनेको छन् । दोस्रो संविधानसभा चुनावमा स्वतन्त्रबाट चुनाव जितेका चन्देश्वर झाले राजपाबाट प्रतिनिधिसभाका लागि टिकट नपाएपछि उनी बागी उम्मेदवार बनेका हुन् ।
उनलाई अहिले पार्टीबाट दुई वर्षका लागि कारवाही गरेको छ ।
एमाले र माओवादी केन्द्रका वामगठबन्धनबाट विजय चौधरी उम्मेदवार बनेका छन् । उनलाई कमजोर मानिएको छैन । वामगठबन्धनको भएका कारणले प्रतिस्पर्धामा नै देखिएका छन् । विजय चौधरी राजपा नेपालका महासचिव चन्दा चौधरीका भाइ हुन् । चन्दा चौधरी राजपा नेपालको समानुपाति सूचीको एक नम्बरमा छिन् । उनी अहिले महन्थ ठाकुरको छायाँ बनेर महोत्तरीमा चुनाव प्रचारमा छिन् । आफ्नो भाइ विजय चौधरीको विरुद्धमा भाषण गर्दै हिँडेकी छिन् ।
नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डल भन्छन्, ‘महोत्तरी ३ निकै पेचिलो हुँदै गइरहेको छ । यहाँ जातीय फ्याक्टर निकै महत्वपूर्ण फ्याक्टर बनेको छ । ७८ हजार ९०४ मतदातामध्ये २० हजार भूमिहार, झा (बाहुन) हरूकै नै हो । यी मत चन्देश्वर झा र महन्थ ठाकुरमा बाँडिनेछन् । अरू बाँकीमा अन्य जातिहरू छन्, जो वामगठबन्धन र अन्य दलमा बाँडिनेछ ।’
अर्को कुरा, ‘काङ्ग्रेसले महन्थ ठाकुरलाई सहयोग गर्ने भनी उम्मेदवार फिर्ता गराए पनि स्थानीय स्तरमा सो अवस्था सृजना भएको छैन । स्थानीय स्तरका काङ्ग्रेसका कार्यकर्ता अझै पनि महन्थ ठाकुरको पक्षमा खुलेर लागेको छैन ।’
काङ्ग्रेसका तर्फबाट उम्मेदावरी फिर्ता लिएका बजरङ्ग नेपाली भन्छन्, ‘केन्द्रीय नेतृत्वले उम्मेदवारी फिर्ता लिन हामीलाई निर्देशन दिएपछि फिर्ता लिएका हौँ तर यहाँका स्थानीय पार्टीका कार्यकर्ताहरू मान्न तयार छैनन् ।’
केन्द्रले निर्देशन दिएको छ तर स्थानीय स्तरमा कुरा नमिलाएको बताउँदै नेपालीले यो एकतर्फ प्रेम भएको आरोप लगाए ।
‘उनीहरूको मत कहाँ जान्छन्, अझै खुलेको छैन,’ ३४ वर्षदेखि महोत्तरीमा लगातार पत्रकारिता गर्दै आएका कुँवरकान्त झा भन्छन्, ‘यदि काङ्ग्रेसले महन्थ ठाकुरलाई समर्थन गरेको छ भने उहाँको साथमा घुम्नुपर्ने हो नि तर एउटा पनि कार्यकर्ता साथमा देखिँदैन । त्यसैले काङ्ग्रेसको सबै मत महन्थ ठाकुरलाई जान्छ भनी यसै भन्न सकिँदैन ।’
महन्थ ठाकुरप्रति महोल बनाउन महोत्तरीका काङ्ग्रेसले हालसम्म तीन पटक विज्ञप्ति जारी गरिसकेका छन् । पछिल्लो पटक आइतबार पनि एक विज्ञप्ति जारी गरी महन्थ ठाकुरलाई सहयोग गर्न आग्रह गरिएको छ । महन्थ ठाकुरको साथमा रहने सहमहामन्त्री डा. सुरेन्द्र झाले काङ्ग्रेसको पूर्ण समर्थन छ । सबै मत ठाकुरलाई नै आउने विश्वास व्यक्त गरे ।
महन्थ ठाकुरले पनि मधेस आन्दोलनमा साथ दिएका जनताले चुनावमा पनि साथ दिने विश्वास लिएर चुनावमा लागेका छन् । उनी भन्छन्, ‘जनतालाई अधिकार चाहिएको छ र त्यो अधिकार मधेसवादी दलले मात्र दिलाउनसक्छ । जसले मधेसलाई मुक्ति दिलाउन सक्छ त्यसको पक्षमा मधेसी जनता रहेको छ ।’
सर्लाही–४ बाट पहिलो संविधानसभा चुनावमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट उम्मेदवार बनेका शिवपुजन राय यादवबाट ठाकुर पराजित भएका थिए । ५५ हजार २१ मतमध्ये शिवपुजनले १५ हजार ६८८ र ठाकुरले १५ हजार ४१६ मत ल्याएका थिए । दोस्रो संविधानसभा चुनावमा नेपाली काङ्ग्रेसका डा. अमरेशकुमार सिंहले उनलाई हराएका थिए । पहिलो संविधानसभा चुनावमा दोस्रो स्थानमा रहेका ठाकुर दोस्रो संविधानसभा चुनावमा तेस्रो स्थानमा पुगे ।
पहिलो संविधानसभा चुनावमा हराएका शिवपुजन राय दोस्रोमा पनि ठाकुरलाई पछारेका थिए । त्यतिबेला ४१ हजार ५९६ मतमध्ये ठाकुरले सात हजार ३२ मत मात्र ल्याएका थिए । यसरी यो कारणले उनको सो क्षेत्र कमजोर देखिएपछि सुरक्षित स्थान खोज्दै उनी सर्लाही आएको पनि विश्लेषण भइरहेको छ ।
उनी यसपटक पनि चुनाव लड्ने मुडमा थिएन । उनको नाम समानुपातिकमा राखिएको थियो । पछि प्रवेश सभामा चुनाव लड्ने र मुख्यमन्त्री बन्ने पनि चर्चा थियो तर पछि प्रतिनिधिसभाको उम्मेदवार बनेर महोत्तरी आए ।
महोत्तरी ३ मा उनको जन्मघर एकरहिया रहेको छ । सो क्षेत्रमा एकडारा गाउँपालिका (१, २, ३, ४ र ५ वडा), मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, मनरासिस्वा नगरपालिका (८, ९, १० वडा) र पिपरा गाउँपालिका (१, २, ३, ४, ५ र ७ वडा), गरी पाँचवटा स्थानीय तह रहेको छ । जसको ७७ हजार ३८७ मतदाता (नयाँ मतदाता थपिएको छैन) रहेका छन् । महन्थ ठाकुरको यो क्षेत्रमा रहेको सबै गाउँपालिका राजपा नेपालले नै जितेको छ ।
महन्थ ठाकुरको क्षेत्रमा रहेको ३५ वडामध्ये राजपा नेपालले १४ वटा जितेका छ भने काङ्ग्रेस ३, फोरम नेपालले ६, माओवादी केन्द्रले ८, तत्कालीन फोरम लोकतान्त्रिक १, स्वतन्त्र– २ र राप्रपाले १ सिट जितेका छन् ।
बागी उम्मेदवार चन्देश्वर झा भन्छन्, ‘राजपा नेपालले मलाई धोका दिएको छ । त्यसको हिसाब किताब मधेसी जनताले गर्नेछ । महोत्तरी–३ बाट प्रतिनिधिसभाका लागि टिकट दिने भनि टीका लगाएर उहाँले नै प्रवेश गराउनुभयो तर जसले प्रवेश गराउनुभयो उहाँ नै उम्मेदवार बन्नुभयो । यो जतिको धोका अरू के हुनसक्छ । त्यो कुरा यहाँका जनताले राम्रोसँग बुझेको छ ।’
जनता आफ्नो पक्षमा रहेको दाबी गर्दैै उनले मधेसी जनता अब सचेत भइसकेको र धोकेवाज र जनतालाई भ्रममा राख्नेसँग सावधान भएको दाबी गरे । उनी संयोजक ठाकुर सर्लाहीमा हार्ने सुनिश्चित देखेपछि महोत्तरी आएको आरोप लगाउँदै टुरिस्टलाई यहाँका जनताले पुनः हराएर पठाउने दाबी गरे ।
राजपा नेपालले पैसाको चलखेल सुरु गरेको छ । दलित, जनजातिहरूलाई पैसाको लोभमा पार्ने प्रयास गरिरहेको उनले आरोप लगाए ।
यस क्षेत्रमा प्रदेश सभातर्फ काङ्ग्रेस, राजपा गठबन्धन, वाम गठबन्धन र स्वतन्त्र उम्मेदवारबीच प्रतिष्पर्धा हुने देखिएको छ ।
वामगठबन्धनको तर्फबाट प्रदेश सभाको (क) मा रामआधार कापर र (ख) मा विजयकुमार कर्ण, नेपाली काङ्ग्रेसको तर्फबाट (क) मा शम्भुनारायण पाठक र (ख) मा पवनकुमार साह, राजपा गठबन्धनको तर्फबाट (क) मा अभिराम शर्मा तथा (ख) मा रानी शर्मा तिवारी र स्वतन्त्रतर्फ सुरेश साह सोनारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।