आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो प्रयासमा राजन पौडेलको सफलता, उपमहानगरमा रचे इतिहास

को हुन् राजन पौडेल ?
बिहीबार, ०५ जेठ २०७९, ०० : ३३
बिहीबार, ०५ जेठ २०७९

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल विजयी भएका छन् । ०७४ सालको स्थानीय निर्वाचनमा उपमहानगरपालिका निल भएको माओवादी केन्द्र २०७९ सालमा आइपुग्दा ऐतिहासिक जित दर्ता गर्दै उपमहानगरपालिकामा खाता खोल्न सफल भएको छ ।

राजन पौडेल दोस्रो प्रयासमा मेयरमा निर्वाचित बन्न सफल भएका हुन् । २०७४ को स्थानीय तह चुनावमा पार्टीको तर्फबाट उनी जीतपुरसिमरा उपमहानगरमा मेयरको उम्मेदवार भएका थिए । त्यतिबेला जीतपुरसिमरा उपमहानगरमा  १२२ जना निर्वाचित जनप्रतिनिधि मध्ये ४५ जना माओवादी केन्द्रबाट निर्वाचित भएपनि उनी भने पराजित बन्न पुगे । तर उनले चुनाव हारेपनि सक्रियता भने थप बढाए । ‘कतिपयले मलाई मेयर हारेपछि झनै क्रियाशील भइस् पनि भन्थे । पराजित हुँदै गर्दा अझ बढी जनता माझ जाने अवसर मिल्यो’, रातोपाटीसँग उनले भने। त्यसैले त उनी ५ वर्षका लागि मेयरको बागडोर सम्हाल्न जनताबाट अनुमोदित बनेका छन् । 

०७४ मा चुनाव हारेपछिको ५ वर्षको अवधिमा कमजोर ठाउँहरुमा संगठन विस्तार गरेको उनको भनाइ छ । त्यसमाथि सत्ता गठबन्धन हुँदा थप सहज भएको देखिन्छ ।

को हुन् राजन ?

माओवादी केन्द्रका मधेश प्रदेश कमिटी सदस्य पौडेल सरल जीवनशैली रुचाउँछन् ।  विकास प्रेमी, राजनीतिक र सामाजिक रुपमा सक्रिय उनी जीतपुर सिमरा ३ बझानीका स्थायी बासिन्दा हुन् ।  पौडेल रुपमा कक्षा ९ मा अध्ययन गर्दादेखि नै अनेरास्ववियु क्रान्तिकारीका संगठित भएर विद्यार्थी राजनीतिमा जोडिएका थिए । २०५५ सालमा उच्च शिक्षा अध्ययनको शिलशिलामा काठमाडौ पुगेका उनी  अनेरास्ववियु क्रान्तिकारीमा संगठित थिए । त्यतिबेला जनयुद्धले उनलाई पनि प्रभावित गर्यो । विभिन्न खालका जनयुद्ध सम्वन्धी लेख रचना र  कम्युनिष्ट साहित्य दर्शनहरुले प्रभावित भएका उनले शुरुमा माओवादीको सम्र्पकमा पुगेर राजनीतिमा लाग्दै गर्दा पूर्णकालीन राजनीति गर्छु भन्ने योजना बनाएका थिएनन् । तर समय क्रममा माओवादी पार्टीको पूर्णकालिन सक्रिय कार्यकर्ता भए । २०५८ सालमा  कार्यक्षेत्र परिवर्तन भएर पार्टीले उनलाई ललितपुरको पाटन एरियामा खटायो । कामको शिलशिलामा गिरफ्तार भए । त्यसै क्रममा सेनाको यातना मंगलबजार प्रहरी,ललितपुर प्रहरी हुँदै नख्खु जेलको यात्रा १३ महिनाको भयो । दोस्रो शान्ति वार्ता प्रक्रिया शुरु भएपछि पौडेल छुटे ।

पछि पार्टीले उपत्यकाबाट कार्यक्षेत्र सरुवा गरेर उनलाई तत्कालिन धादिङ्ग–मकवानपुर माओवादीको ६ नम्बर जिल्ला पठायो । पछि २०६० सालको अन्त्य तिर पार्टीले बारा–पर्सा क्षेत्रमा काम गर्न खटायो ।  बारा जिल्ला आएपछि पौडेल विद्यार्थी राजनीतिबाट पूर्णकालिन पार्टी राजनीतिमा केन्द्रित भए । बारा–पर्सा केन्द्रित भएर काम गर्दै जाँदा पर्साको वीरगन्जबाट पौडेल पुनः गिरफ्तार भए । पर्साको आर्मी हिरासतको यातना, पर्सा प्रहरी हुदै वीरगञ्ज कारागार चलान भए । कारागारमा हुँदा पनि पौडेलले जेल आन्दोलनको नेतृत्व गरेका थिए । जेल आन्दोलनका कारण केही बन्दीहरुलाई वीरगञ्जबाट सर्लाही कारागार सरुवा गरिएको थियो ।

सर्लाही कारागारमा पनि आन्दोलनको वातावरण भएपछि सिमरा विमानस्थल हुदै पौडेललाई सुन्दरीजल हिरासत पुर्याइयो । त्यतिबेला सुन्दरीजल जेलबाट माओवादी बन्दीहरु थुप्रै बेपत्ता भए भनेर राष्ट्रिय अन्तराष्ट्रिय दवावहरु आइरहेका थिए । देशभरबाट माओवादीको आस्थाका बन्दीहरु सुन्दरीजलमा लगेर राखिएको थियो ।

‘सुन्दरीजल जेलमा घामसमेत देख्न पाइँदैनथ्यो, सञ्चारको कुनै सुविधा थिएन, पत्रपत्रिका केही पढ्न पनि पाइँदैनथ्यो, हामीले त्यहाँ पनि आन्दोलन गर्यौ’, पौडेलले भने । त्यसपछि पौडेलसहितका केही बन्दीहरुलाई सेन्ट्रल जेल हुदै डिल्लीबजारस्थित सदर खोर जेल लगियो । त्यसको केही महिनापछि पुनः जेल आन्दोलन भएपछि सुन्दरीजल हुदै सेन्ट्रल जेल पुर्याइएको थियो । प्रत्येक जेलमा पुराना साथी छुट्ने नयाँ साथी बन्ने क्रम निरन्तर रहन्थ्यो । सेन्ट्रल जेलबाट पौडेल २०६३ साल जेठ १० गते छुटे । जेल छुटेर आएपछि उनी बारा जिल्लाको राजनीतिक र सांगठनिक क्षेत्रमा निरन्तर क्रियाशिल हुँदै अहिले मेयरसम्मको यात्रा तय गरेका छन् ।

राजनीतिलाई आफूले समाजसेवा र त्यागको रुपमा लिएको बताउने पौडेलले जीत हासिल गरेसँगै अब चुनावी प्रतिबद्धतानुसार काम गर्ने प्रतिक्रिया दिए । उनले रोजगारीको सिर्जनाका साथै, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालनको क्षेत्रमा केन्द्रीत भएर आफूहरुले काम गर्ने पनि बताए । उनले महानगरपालिकामा सुशासनको सवाललाई आफूले महत्व दिने पनि बताए ।

बुधबार राति सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार मेयर पदमा पौडेल १८ हजार ७४३ मतका साथ विजयी भएका हुन् । सत्ता गठबन्धनको साझा उम्मेदवार उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सरस्वती चौधरीलाई पराजित गरेका हुन् ।  पराजित चौधरीले १७ हजार ७७९ मत प्राप्त गरिन् । यस्तै जीतपुरको उपमेयरमा भने एमालेका भोला प्रसाद अधिकारी विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप