आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘स्वतन्त्र’ उम्मेदवारहरूको क्रेजको अर्थ

बिहीबार, ०५ जेठ २०७९, १४ : ३२
बिहीबार, ०५ जेठ २०७९

लोकतन्त्रमा विचार, योग्यता र दक्षताको प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धाबाटै नेतृत्व चयन हस्तान्तरण हुने हो ।  राजनीतिले राज्यको आधार र शासन पद्धतिको अध्ययन गर्नुका साथै यसको सम्बन्ध शासन, शासकीय स्वरुप र शासन पद्धतिसँग हुन्छ । राज्य नै राजनीतिको मूल आधार हो । राजनीतिको माध्यमबाट राज्यको विगत, वर्तमान र भविष्यको योजना लगायतका समग्र विषयवस्तुको अध्ययन गर्ने कार्य गर्दछ ।

राजनीतिक दल एउटा राजनीतिक संस्था हो, जसका प्रतिनिधिहरु निर्वाचनमा घोषणापत्रसहित लिखित दस्तावेजका माध्यमबाट चुनाव चिन्ह लिएर आमनागरिक समक्ष पुग्छन् । र, निर्वाचनवाट चुनिएर सरकार राज्य सञ्चालन गर्ने कार्य गर्दछन् । लोकतन्त्रको सुन्दर पक्ष भनेको राजनीतिक दललाई चुनावमा स्वतन्त्र रूपमा प्रचार प्रसार गर्न बन्देज हुँदैन ।

१८ औं शताब्दीमा पुरातनवादी ‘टोरीज’विरुद्ध ‘हेविञ्ज’ समूह पछि बेलायतवाट आधुनिक राजनीतिक दलको उदय भएको हो । नेपालमा भने राजनीतिक दलहरु दुई धारबाट उदाएको पाईन्छ । एउटा धार प्रजातान्त्रिक हो, जुन धारमा नेपाली काँग्रेस पार्टी लगायतले प्रजातन्त्रका मूल्य मान्यताका विषयमा वकालत गर्दे आएको पाईन्छ । अर्को धारलाई साम्यवादी कम्युनिष्ट अर्थात् वामपन्थी विचारधाराको रूपमा हेरिन्छ, जसमा एमाले, माओवादी लगायत छन् । नेपालमा प्रजातान्त्रिक र कम्युनिष्ट विचारधारालाई मूल्य, मान्यता र सिद्धान्तका आधारमा दक्षिणपन्थी र वामपन्थी भनेर पनि जानिन्छ ।

नेपाली काँग्रेस, एमाले र माओवादी लगायतका राजनीतिक दलहरुले आफ्नो दवदवा कायम राख्दै आएका छन् । २०७९ को स्थानीय निर्वाचन नतिजाले पनि उनीहरुकै बर्चस्व देखाएको छ । बर्षौदेखि ७० बर्ष हाराहारीका उही पुरानै अनुहारले दलको नेतृत्व सञ्चालन गरिरहेका छन् । सबै राजनीतिक दलको शीर्ष नेतृत्वमा एउटै पुस्ता हावी छ ।

अहिलेको स्थानीय निर्वाचनमा स्वतन्त्र उमेदवार र विजेताको पनि सर्वत्र चर्चा छ । हालसम्म ५ ओटा पालिका प्रमुखमा स्वतन्त्र उमेदवार विजय भएका छन् भने अन्तिम मत परिणाम आउँदासम्म उक्त संख्यामा वृद्धि हुन सक्छ । काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उमेदवार बालेन साहको चर्चाको शिखरमा छन्, जो राजनीतिक दलका उमेदवार भन्दा दोब्बर मतले अगाडि छन् ।

दलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारको जितले दलीय व्यवस्थाका मुल्य, मान्यता र सिद्धान्तप्रति आँच आउन सक्छ । किन दलीय प्रतिस्पर्धाका उमेदवारभन्दा स्वतन्त्र उमेदवारले बाजी मारे, मार्दैछन् ? यसका निम्न कारण हुन सक्छ ।

१. राजनीतिक दलबाट निष्ठावान, इमानदार र नैतिकवान व्यक्तिले टिकट टिकट नपाएका कारण वागी र स्वतन्त्र उठ्नु ।

२. राजनीतिक दलका प्रमुखहरूले राम्रा मान्छेभन्दा पनि आफ्ना मान्छे छोराछोरी, श्रीमती, साला, वुहारी आदिलाई टिकट दिनु ।

३. राजनीतिक दलमा धनबाद र डनबादले पकड जमाउनु ।

४. दलका उमेदवारले दलीय सिद्धान्तमा मात्र निर्भर हुनु र दलका कार्यकर्तालाई मात्र काखी च्याप्नु ।

५. राजनीतिक भाषण र आश्वासन मात्र बाँड्नु तर कार्यान्वयन नगर्नु ।

६. भ्रष्टाचार नियन्त्रण गर्नुभन्दा भ्रष्टाचारीलाई प्रशय दिनु ।

७. शिक्षा, स्वास्थ, प्रशासन र विकास निर्माणका क्रियाकलाप लगायतका योजना र कार्यान्वयन इकाइमा योग्य र क्षमतावान व्यक्ति भन्दा दलीय भागबन्डामा आधारित हुनु ।

८. राजनीतिलाई सामाजिक सेवाको सट्टा राजनितिको आडमा अवैध किसिमका क्रियाकलापमा संलग्न हुनु ।

९ दलीय व्यवस्थाप्रति आमनागरिकको वितृष्णा र अविश्वास पैदा हुनु ।

१०. वेरोजगारी, गरिबी, मँहगी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु ।

११. विकास निर्माणका काममा दलीय जश लिन खोज्नु ।

१२. राजनीतिक दलका पात्रहरूले देशका लागि भन्दा परिवारका लागि राजनीति गर्नु ।

यसरी राजनीतिक दलका व्यक्तिहरू देशको हक, हितका लागि लड्नु भन्दापनि व्यक्तिगत स्वार्थ रमाउनु लगायतका र अन्य कारणहरूले आमनागरिकामा प्रतिशोधको भावना जागेको हुन सक्छ । जसले काठमाडौं, जनकपुर, धनगढी लगायत प्रमुख सहरमा स्वतन्त्रको पल्ला भारी भएको छ ।

स्थानीय निर्वाचन सम्पन्न भई संघ र प्रदेशको निर्वाचन नजिकिँदै छ । दलहरुले आफ्नो मनोमानी बढाए भने यसरी नै संघ र प्रदेशमा पनि स्वतन्त्र उमेदवारहरुको पल्ला भारी पर्न सक्छ । त्यसैले राजनीतिक दलका नेता, कार्यकर्ता, भातृसंस्था, शुभेच्छुक संस्था लगायतका शुभचिन्तकहरूले गम्भीर बहस र छलफल गर्न आवश्यक छ । आमनागरिकहरूलाई दलीय व्यवस्थाप्रति आशा र भरोसाको किरण जगाउन पहल गर्न ढिलाइ गर्नु हुन्न ।

लेखक काठमाडौं, कोटेश्वरस्थित हिमालय कलेजमा प्राध्यापनरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप