सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवादेखि जनताका समस्या बुझ्न ‘टोल फ्री’ नम्बरसम्म

शुक्रबार, ०६ जेठ २०७९, २१ : ०७
शुक्रबार, ०६ जेठ २०७९

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका नेपाली काँग्रेसबाट मेयरमा निर्वाचित गणेश कुमार शाहीले जनताका समस्या बुझ्नका लागि सिधा सम्पर्क गर्न ‘टोल फ्री’ नम्बरको व्यवस्था गर्ने निर्णय गरेका छन् । पद बहाली लगत्तै उनले यस्तो निर्णय गरेका हुन् ।

पालिकाका केही स्थानमा हालसम्म पनि यातायातको सहज पहुँच नभएको भन्दै उनले भौगोलिक रुपमा छरिएका बस्तीका जनतालाई स्थानीय सरकारसँग सम्पर्क गर्न शुल्क नलाग्ने गरी सम्पर्क माध्यमका रुपमा टोल फ्री नम्बर उपलब्ध गराइने बताए ।

‘नागरिकका समस्या र गुनासा राख्न नेपाल टेलिकमको टोल फ्रि नम्बर आवश्यक भएको थियो,’ उनले भने, ‘यसबाट नागरिक र स्थानीय सरकारबीच समधुर सम्बन्ध विकास भई प्रभावकारी सेवा प्रवाहमा टेवा पुग्ने अपेक्षा लिएको छु ।’

साथै उनले त्यसका लागि नेपाल टेलिकमलाई टोल फ्री नम्बर उपलब्ध र सञ्चालनमा सहयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको बताए । दैलेखकै दुल्लू नगरपालिकाको मेयरमा निर्वाचित भरत रिजालले पनि पदभार ग्रहण गर्दै निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने निर्णय गरेका छन् । काँग्रेसबाटै निर्वाचित रिजालका अनुसार दुल्लू मा गर्भवती महिलाका लागि प्रसूति सेवा उपलब्ध गराउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइन लागेको हो ।

दुल्लू अस्पतालबाट प्रदान हुने सेवा अपर्याप्त तथा सुरक्षित नहुन सक्छ,’ उनले भने, ‘त्यो अवस्थामा दैलेख जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेत लगायत आवश्यकता अनुसार सोभन्दा उच्च तहको सेवाका लागि उपयुक्त अस्पतालमा त्यस्तो प्रकृतिका बिरामीलाई लैजानुपर्ने अवस्था आएको खण्डमा आकस्मिक रुपमा गर्भवतीलाई सेवा उपलब्ध गराउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने छ ।’ त्यसका लागि दुल्लू अस्पतालको सिफारिस अनिवार्य हुनुपर्ने उनले बताए ।

रुकुम पश्चिमको सानोभेरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विर्खबहादुर विष्टले प्राविधिक शिक्षातर्फ इन्जिनियर र डाक्टर लगायतका विषयमा छात्रवृत्ति प्रदान गरिने निर्णय गरेका छन् । छात्रवृत्तिबाट पढेकाले निश्चित समयका लागि गाउँमा निःशुल्क सेवा गर्नुपर्ने छ । साथै उनले सहकारीका माध्यमबाट सबै वडातहमा सस्तो पसल सञ्चालन गर्ने र खाद्य सामाग्री उपलब्ध गराउने निर्णय गरिएको बताए ।

२ वर्षभित्र गाउँपालिकाको सबै खरका छानामुक्त गराउने, नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने र लोपोन्मुख समुदायका व्यक्ति, गरिब, अशक्त, असहाय लगायतका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय पनि उनले गरेका छन् ।

दैलेखकै नौमुले गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष छवि सुवेदीले आफूले पाउने सेवा, सुविधाको रकमबाट अक्षय कोष स्थापना गरी सम्पूर्ण जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् । ठाटीकाँध गाउँपालिका दैलेखका नवनिर्वाचित अध्यक्ष रक्षबहादुर शाहीले पहिलो निर्णय शिक्षा सम्बन्धमा गरेका छन् ।

‘यहाँ अझै पनि शिक्षाको गुणस्तर कायम हुन सकिरहेको छैन,’ उनले भने, ‘सामाजिक सद्भाव र नैतिक शिक्षाको अभाव छ । सम्पूर्ण विद्यालयका कार्यरत शिक्षकले कम्तीमा पनि ४५ मिनेट विद्यार्थीलाई नैतिक शिक्षा सम्बन्धी अध्यापन गराउने छन् ।’ जिल्लाकै दुर्गम स्थानमा पर्ने यो पालिकामा गुणस्तरीय शिक्षाका लागि आफ्नो जोड रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप