मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुखी नेपाली’ लाई ‘समृद्ध नेपाल’को पत्र

शनिबार, ०७ जेठ २०७९, ०७ : ३२
शनिबार, ०७ जेठ २०७९

मेरी प्रिय सुखी नेपाली, 

खै कुन शब्दले तिम्रो हालचाल सोधुँ, आराम छौ होला भनेर सोधौँ भने पनि सुखी छौ जस्तो लाग्दैन । तर नसोधौँ, हाल खबरसम्म पनि नसोध्ने कस्तो प्रेमी भनौली भन्ने पीर लाग्छ । जानी जानी पनि कहिलेकाहीँ प्रश्न सोध्नु पर्दाे रहेछ नि है । हुन त तिम्रो र मेरो नाम निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले बेला बेलामा बोली रहन्छन् । र, त लाग्छ संसारमै उत्कृष्ट प्रेम जोडी भनेर हामी नै चिनिएका छौँ ।

आजकाल त लाग्छ सायद महाकवि लक्ष्मीप्रसाद देवकोटाले बनाइदिएका जोडी मुनामदनको चर्चालाई पनि हाम्रो प्रेम जोडीले उछिनी सकेको छ । सरकारले नै हामी दुबै जनाको नाम ‘सुखी नेपाली’ र ‘समृद्ध नेपाल’को जोडीलाई ‘सुखी नेपालीः समृद्ध नेपाल’ नारा नै बनाएर पन्ध्रौँ योजनाको लक्ष्यमा समेत दर्ज गरेको छ । यसैले त सोच्छु, हाम्रो जोडी पनि कतै प्रेमको उत्कृष्ट जोडी बन्नुपर्ने तर अभावै अभावले मदन ल्हासा गएजस्तै मैले पनि टाढा सात समुन्द्र पारी जानुपर्ने अनि तिमीले यता घर कुर्नु पर्ने पो हो कि ?

आज एक अर्कालाई औधी प्रेम गरेर पनि एक अर्काबाट टाढिएर बस्नुपर्ने अथवा प्रेममा असफल बन्न पुगेका चर्चित प्रेम जोडी मुनामदन अनि लैला र मज्नु जस्तै कलियुगको जोडी सुखी र समृद्धको जोडी पनि दर्ज हुन थालेको जस्तै लाग्छ । 

सुखी, मलाई त लागिरहेछ, कता कता जसरी बच्चै बेलामा हामीले पढ्ने अनिवार्य नेपाली किताबमा मुनामदनको कथा थियो, त्यस्तै भोलिका पुस्ताले पनि सुखी नेपाली र समृद्ध नेपालको दन्त्यकथा पढ्ने छन् ।

प्रिय मान्छे, तिमीसँग भेट नभएको पनि वर्षौँ भयो । हुन त हामी जन्मेदेखि आजसम्म भेटिएका त छैनौँ । आजकालको फेसबुक ट्वीटर, युट्युब लगायतमा पनि कहाँ कहाँ खोजिन तर कतै पनि भेटिन मैले तिमीलाई । हुन त तिमीलाई मैले मात्र हैन, देशले नै खोजिरहेको छ क्यारे । 

निवर्तमान प्रधानमन्त्री ओलीज्यूले बेला बेलामा हाम्रो जोडीको नाम बोलाइ रहँदा आशा पनि पलाउँथ्यो कि अब मैले चाँडै तिमीलाई भेट्न पाउने छु भनेर । कहिलेकाहीँ त लाग्छ पनि, आज त केपी बा ले आफैसँग सुखीलाई पनि साथमा ल्याउनु भा होला । उहाँ सोफामा विराजमान भइरहँदा मेरो कौतुहलता यति बढ्छ कि तिमीलाई हरदम खोजी रहन्छ, छटपटाइ रहन्छ । अझ उहाँले भाषण नै गर्न थाल्दा त अब बाले माइक घन्काएर ‘ए सुखी’ भन्दै बोलाउने छन् । 

अहँ, तर उहाँले तिमीलाई कहिल्यै बोलाउनु हुन्न । घण्टौँ सम्मको पुरै भाषणमा कम्तिमा पनि १० पटक जति तिम्रो अनि मेरो नाम त पुकार्छन् तर खै उहाँले हामी छुट्टिएका प्र्रेम जोडीको भावना कहिले बुझ्नु भएन । केवल हाम्रो माया प्रेम लीलामा गिद्धे नजर लगाउन, गिज्याउन आतुर भएर तड्पिरहेका लोभी आँखाहरुका प्यास मेटाउन मात्रै हामी दुइको नाम बेला बेला जपि रहन्छन् । मलाई त कम्ति रिस उठ्दैन त्यो बेला । मनमनै कस्तो असत्ति बुढो रहेछ भनेर गाली पनि गर्छु । अनि तिमीलाई खुब ‘मिस’ गर्छु, न्यास्रो अनि निन्याउरो मुख लिएर घर फर्किन्छु ।

विश्वमा समाजवादका नारा लगाइरहँदा हाम्रो मायामा भने अझैपनि उही पुरानो ढर्राको जातीयतावादले कोरा कागजको नारा र प्रधानमन्त्रीको उच्चारणमा मात्र सीमित भएको छ । ए सुखी, सायद तिमी दलित समुदायमा बस्ने नेपालीको छोरी अनि म समृद्ध नेपाल ब्राह्मण समुदायको नेपाल थर भएर होला, अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न कसैले सोचेनन् र हुन पनि दिदैनन् ।

एक दिन अफिस जान हिँडेको थिएँ, बाटैमा रहेको चिया पसलमा बसेकाहरुले गफ लगाईरहेका थिए, प्रधानमन्त्रीबाट ओलीलाई सर्वाेच्च अदालतले हटाएको रे, देउवालाई परमादेशबाट प्रधानमन्त्री बनायो रे । यो सुन्दा म त साह्रै चिन्तित भएँ नि सुखी । बेलाबेलामा केपी बा ले हाम्रो नाम लिइरहन्थे र भनि रहन्थे, ‘अब देश विकास हुन्छ, सुखी नेपाली हुनेछन्, समृद्ध नेपाल हुनेछ ।’ त्यो बेला सोच्थे, अब मेरो पनि सम्मान हुने भयो, अनि मेरो साथमा तिमी पनि हुने भयौ । हामी दुबै सँगै हुने भयौँ । तर अब त खै, त्यो नाम देउवाले के बोल्लान् र ? उसो त उहाँको बोली नै बुभ्mदिन म त । तिमी पो बुझ्छौ कि खोइ कुन्नी । 

प्रिय सुखी, तिमी अनि मलाई नेपालका तीन करोड जनताले खुब चाहेका छन् । केपी बा ले बेला बेला हाम्रो नाम जपिरहन्थे । र, अझै पनि जपिरहने छन् । किनकी उहाँलाई हाम्रो नाम लिएर लोकप्रिय बन्नु छ, अनि फेरि पनि यो देशको प्रधानमन्त्री बन्नु छ । 

तिमीलाई थाहा छ सुखी, अचेल यो देशका जनता साहै्र चिन्तित छन् । किनकि तिम्रो र मेरो साह्रै अभाव छ । सबैले तिम्रो नाम जपि रहन्छन्, मेरो नाम त त्यति जप्दैनन् । कोरोना कहरले सबैलाई साह्रै सताएको छ । नेताहरु कुर्सीकै खिचातानीमा छन् । जनताका पीर मर्का कसैले सुनेका छैनन्,  जनता निराश छन् । हेरुँ, अब स्थानीय चुनावले केही उत्साह थप्ला कि ?

आजकाल सबैले भन्छन्, देश विकास हुँदैन, समृद्ध हुँदैनन्, अनि सुखी पनि आउँदिनन् । यो सुनेर साह्रै निराश हुन्छु, मन भतभती पोल्छ । नेताहरुलाई खुल्ला सडकमा गएर गाली गर्न मन त लाग्छ । तर के गर्नु मास्क नलगाएको भन्दै प्रहरी दाईहरु अगाडि जानै दिँदैनन् ।

मेरी प्रिय सुखी, तिमी अनि म एक अर्कालाई साह्रै प्रेम गर्ने अनि एक भएर नेपाली जनतालाई निकै सेवा सुविधा दिने हाम्रो प्रण पुरा गरिदिने सपुत अब हामीले नै जन्माउनु पर्ने जस्तो देखिरहेको देख्छु । तर खै तिमी कता, म पनि कता । दुबै मुना र मदन झैँ टाढिएरै बस्नु पर्ने पो हो कि ? म त यस्तै लक्षण देखिरहेको छु । न त तिमी म भएको ठाउँ आउँछौ, न त तिम्रो ठेगाना नै मलाई बताइ दिइरहेकी छौ । यसरी त खै हाम्रा देशका जनता के सुख पाउलान् र ?

हुन त तिमी पनि मेरै प्रतिक्षामा होलाऊ है । जब देशमा विकास होला, बाटोघाटो बन्ला, पुलपुलेसा बन्लान्, जनतालाई सेवा सुविधा होला, विभेद नहोला, कसैले पनि घण्टौं बाटो हिँडेर पानी बोक्न नपर्ने दिन आउला, अनि जाने वित्तिकै अस्पतालमा उपचार पाइएला, लाइन लागेरै विद्युतको विल बुझाउन नपर्ला । छरछिमेकी अनि बाह्य देशहरुसँग पैचो मागी मागी खान नपर्ला, दाजु भाई विदेश नगई आफ्नै घरमा बसी रोजगारी गर्ने पाउलान्, अनि मात्र पो देश समृद्ध होला है । जबसम्म देश समृद्ध बन्दैन, तबसम्म तिमी मेरी पनि बन्दिनौँ होला है सुखी । 

३० गते तिमीले पनि भोट हाल्यो होला । चुनावमा नातागोता नहेरी देश र समाजका लागि उपयुक्त व्यक्तिलाई भोट दियो होला भन्ने आशा गर्छु । चुनावको बेला देशलाई समृद्ध बनाउँछु, सबैलाई शिक्षित बनाउँछु, भोका नांगाहरुलाई खाना खुवाउँछु, रोगीहरुलाई सेवा गर्छु, जनताप्रति बफादार सरकार बनाउँछु, भ्रष्टाचार अन्त्य गर्छु । देश र जनतालाई आत्मनिर्भर बनाउँछु, वृद्धवृद्धाहरुलाई वृद्धाआश्रम हैन, छोराछोरीसँगै घरमा खुशी बनाएर राख्छु, अभाव कसैलाई पनि नपर्ने बनाउँछु, विपत्ति कसैलाई पनि नपर्ने बनाउँछु । जातजातिको विभेद अन्य गरी सबैलाई समान बनाउँछु भन्नेहरुले आफ्नो वाचा पुरा गर्लान् नि । अनि हामी चाँडै सुखी नेपाली र समृद्ध नेपाल एक बन्ने है त ।

उहि तिम्रो प्रिय

समृद्ध नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप