बालकविता : मेरो छाता
शनिबार, ०७ जेठ २०७९, ०८ : ५८
नयाँ छाता किने मैले, न्यूरोडमा गएर
मन पर्यो गुलाबी रङ र ‘डल’ भएर
कभर पनि रैछ त्यसमा, सिट्ठी पनि बजाउँछु
कहिलेकाहीँ बाबालाई नि छाता ओढाउँछु ।
बाबा मामु पनि मेरा छाता जस्तै लाग्दछ
उहाँहरु सँगै बस्दा डर सबै भाग्दछ
पानी आउँदा छाता लिई स्कुलमा जाने हो
छाता ओढी चौरमा बसी खाजा खाने हो ।
घाम आउँदा, पानी आउँदा छाता ओढ्न पाएकी छु
छातासँग खेल्न पाउँदा खुसी भएकी छु
जतन गरी चलाऊ भन्नुहुन्छ मामु अनि बाबाले
डर लाग्छ कुनै बेला उडाउँछ कि हावाले ।
छातासँग नाता गाँसे नयाँ वर्ष आएपछि
डर छैन घाम पानीमा छाता भएपछि
पानी पर्दा कहिलेकाहीँ साथीलाई नि बोलाउँछु
भिज्न हुन्न भनेर छाता ओढाउँछु ।
सेन्ट जेभियर्स स्कुल, जावलाखेल, कक्षा ३