आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बारामा विगतको साख गुमाउँदै काँग्रेस, ६ बाट २ पालिकामा खुम्चियो

जिल्ला र क्षेत्रीय सभापतिलाई कारवाही गर्न माग
आइतबार, ०८ जेठ २०७९, १६ : ०८
आइतबार, ०८ जेठ २०७९

बारामा गठबन्धन भएका ३ वटै महत्वपूर्ण पालिकासहित विगतमा निर्वाचित स्थानीय तहमा नेपाली काँग्रेस पराजित भएको छ । २०७४ मा काँग्रेसले नेतृत्व गरेको बाराको कलैया उपमहानगरसहित निजगढ, सिम्रौनगढ, करैयामाई, बारागढी गाउँपालिकामा यसपटक काँग्रेस पराजित भएको छ ।

यसअघिको निर्वाचनमा थोरै मतान्तरले पराजित भएको पालिकाहरुमा पनि काँग्रेसले यस पटक नेतृत्व लिन सकेन । २०७४ मा काँग्रेसले नेतृत्व गरेको महागढीमाई नगरपालिकामा मात्रै यसपटक दोहोरिएको छ भने कोहल्वी नगरपालिका प्रमुख/उपप्रमुख दुवै पद काँग्रेसले जितेको छ ।

केन्द्रबाटै गठबन्धनको निर्णय भएको बाराको जीतपुरसिमरा, कलैया र निजगढ नगरपालिकामा गठबन्धनका प्रमुख÷उपप्रमुखलाई हराउन काँग्रेसभित्रकै एउटा समूह खुलेर लागेको जनाइएको छ । विपक्षी पार्टीको चलखेलभन्दा पनि काँग्रेसभित्रको कलह र टिकट वितरणमा भएको आर्थिक चलखेलले निर्वाचनको समग्र परिणाममा ठुलो धक्का लागेको बताउँछन् काँग्रेसका पुराना स्थानीय नेताहरु ।

६ दशकदेखि काँग्रेसका सक्रिय सदस्य रहेका ८१ वर्षीय क्षेत्रीय प्रतिनिधि जमिरी पासवानले जिल्ला र क्षेत्रीय सभापतिले पार्टीभित्र सरसल्लाह बिना जथाभावी रुपमा आफ्नो पकेटको मान्छेलाई टिकट बिक्री गर्दाको परिणामस्वरुप पार्टीको पुरानो गढमा समेत असफल हुनुपरेको बताए ।

‘यो सबै जिल्ला र क्षेत्रीय सभापतिको तानाशाहीको परिणाम हो, कसैसँग सरसल्लाह नगरीकन पैसा लिएर आफुखुशी एकलौटी निर्णय गरेर टिकट बेचेको परिणाम हो,’ पासवानले भने ।

उनले नामै किटान गरेर बारा क्षेत्र नं ४ का क्षेत्रीय सभापति सुनिल गुप्ताले चुनावमा आफुखशी टिकट किनबेच गरेको आरोप लगाउँदै कारवाही गर्न केन्द्रीय कमिटीसँग मागसमेत गरेका छन् । जिल्लामा उत्कृष्ट काम गरेको भनि सार्वजनिक रुपमा चर्चा बटुलेका निजगढ र सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनाल र विजयशंकर यादव पनि यसपटक पार्टीभित्रकै गुटको चलखेलका कारण पराजित भएका छन् ।

एमालेसँग मिलेर आफ्ना उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै महासमिति र जिल्ला कार्यसमिति सदस्यलाई कारवाही गर्न निजगढ नगरकमिटीले केन्द्रीय कमिटीलाई पत्राचारसमेत गरिसकेको छ । महासमिति सदस्यहरु शम्भुबहादुर बुढाथोकी, पदम बहादुर भण्डारी, कहेशी कुवँर, जिल्ला सदस्य कृष्ण प्रसाद खरेल, महाधिवेशन प्रतिनिधि रामकुमारी गोले, क्षेत्रीय सहसचिव प्रदिपकुमार उप्रेती र रामचन्द्र जैसवाललाई कारवाही गर्न केन्द्रीय समितिलाई पत्राचार गरेको निजगढ नगरकमिटी अध्यक्ष नवराज तिमसिल्नाले जनाएका छन् ।

‘जबसम्म यस्ता मान्छेहरुलाई छानबिन गरेर पार्टीले कारबाही गर्दैन, तबसम्म पार्टीभित्रका राम्रा मान्छेहरुले अवसर पाउँदैनन्, पार्टी पनि सुध्रिँदैन,’  पासवानले भने । मंसिर अन्तिम साता भएको काँग्रेसको १४ औं महाधिवेशनका असन्तुष्ट पक्षहरु पनि यसपटक निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन लागिपरेका थिए ।

काँग्रेसका ७२ वर्षीय अर्का क्षेत्रीय प्रतिनिधि ग्यासुदिन अन्सारीले नामै किटान गरेर केन्द्रीय सहमहामन्त्री फरमुल्ला मन्सुर, क्षेत्रीय प्रतिनिधि सुनिल गुप्ता, जिल्ला सभापति राजेश राय यादवको दम्भका कारण काँग्रेसले सबै ठाउँमा चुनाव हानुपर्ने अवस्था आएको आरोप लगाए । ‘पार्टीले आफ्नो मान्छेलाई टिकट दिने, राम्रो मान्छेलाई टिकट नदिने काम गरेको छ, टिकट किनबेच पनि भएको छ,’ उनले भने, ‘यस्तो मान्छेलाई पार्टीले तत्काल छानबिन गरेर कारवाही गर्नुपर्छ ।’

२०७४ को निर्वाचनमा काँग्रेस कलैया उपमहानगर प्रमुख÷उपप्रमुख, निजगढ नगरपालिका प्रमुख, स्रिमौनगढ नगरपालिका प्रमुख, महागढीमाई नगरपालिका प्रमुख÷उपप्रमुख, करैयामाई गाउँपालिका प्रमुख÷उपप्रमुख, बारागढी गाउँपालिका प्रमुखमा विजयी हुनुका साथै अन्य दल विजयी भएको पालिकामा पनि थोरै मतान्तरले काँग्रेस दोस्रो स्थानमा सीमित भएको थियो । यसपटक कलैया उपमहानगर प्रमुख÷उपप्रमुख, जीतपुरसिमरा उपप्रमुख र निजगढ नगरपालिका प्रमुख÷उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

२०७४ मा काँग्रेसले जितेको करैयामाई गाउँपालिकामा यसपटक जसपाका शम्भुप्रसाद यादव विजयी भएका छन् । काँग्रेसको पुरानो गढ मानिएको सिम्रौनगढ नगरपालिकामा लोसपाका किशोरीप्रसाद कलवार विजयी भएका छन् । बारागढी गाउँपालिकामा जारी मतगणनामा जसपाका उम्मेदवार अशोक कुमार जयसवाल काँग्रेसका उम्मेदवार देवदत्त बछाडभन्दा करिव १८ सय मतले अगाडि छन् । काँग्रेसले यसअघि जितेका पालिकाहरुमा नेकपा एमाले, लोसपा र जसपाका उम्मेदवार विजयी भएका छन् ।

जीतपुर सिमरा उपमहानगर प्रमुखमा २०७४ का उम्मेदवार कृष्णब्रत सिंहले नगरसमितिसँग सरसल्लाह नगरी वडाहरुमा कमजोर उम्मेदवारलाई उठाएका कारण हार्नु परेको बताए । ‘वडाध्यक्षका उम्मेदवार राम्रो भयो भने प्रमुख र उपप्रमुखको भोट पनि बढ्छ र जित्ने सम्भावना पनि बढी हुन्छ, यसपटक वडाध्यक्षको उम्मेदवार कमजोर हुँदा प्रमुख÷उपप्रमुख पनि हानुपर्ने अवस्था आयो,’ सिंहले भने ।

जीतपुर सिमराको २४ वटा वडामध्ये कुनै पनि वडामा नगर कार्यसमितिसँग सल्लाह नै नगरी टिकट वितरण गरिएको सिंहले जनाए । ‘अरु कारणका लागि हामी पार्टीभित्र छलफल गर्छौं तर विशेष रुपमा जिल्ला समितिले यसको जिम्मेवारी लिनुपर्छ र नैतिक हिसाबले जिल्ला सभापति र क्षेत्रीय सभापतिले तत्काल राजीनामा गर्नुपर्छ,’ उनले भने ।

गठबन्धन भएका पालिकाका उम्मेदवारहरुमा सहज ढंगले निर्वाचन जित्ने आत्मविश्वास भए पनि मतदाता शिक्षा घरदैलोसम्म नपुग्दा ठुलो संख्यामा मत बदर भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरमा गठबन्धनको उपप्रमुखमा मात्रै करिव १३ हजार मत बदर भएको छ भने प्रमुखमा करिव १० हजार मत बदर भएको छ । सोही मात्रामा कलैया उपमहानगरमा पनि मत बदर भएको जनाइएको छ ।

टिकट नपाउनेले किनबेचको आरोप लगाए : क्षेत्रीय सभापति गुप्ता

बारा निर्वाचन क्षेत्र नं ४ का क्षेत्रीय सभापति सुनिल गुप्ताले टिकट नपाउनेहरुले आफूमाथि टिकट किनबेचको आरोप लगाएको बताएका छन् । पार्टीभित्रको गुट÷उपगुट र अन्तर्घातको कारण टिकट नपाउनेहरुले नै काँग्रेसका उम्मेदवार हराउन भूमिका निर्वाह गरेको उनको आरोप छ ।

‘हामीले जिल्ला कमिटीलाई वडाध्यक्षको नाम वडा कमिटीबाटै फाइनल गरेर एक जनाको मात्रै नाम पठाउन भनेका थियौं तर उहाँहरुले एक जनाको ठाउँमा १० जनाको नाम पठाएपछि समस्या भएको हो,’ क्षेत्रीय सभापति गुप्ताले भने, ‘गठबन्धनमा सहभागी अन्य दलले पनि इमानदारीपूर्वक हामीलाई भोट नहालेका कारण काँग्रेसले हार्नुपरेको हो ।’ स्थानीय तह निर्वाचनमा टिकट किनबेच भएको विषयमा भने आफूलाई कुनै जानकारी नभएको जनाए ।

उम्मेदवार छनोटमा मेरो भूमिका नै छैन : जिल्ला सभापति यादव

नेपाली काँग्रेसका बारा जिल्ला सभापति राजेश राय यादवले उम्मेदवार छनोटमा आफ्नो भूमिका शून्य नै भएको बताएका छन् । ‘जिल्लाबाट मैले लगेको सिफारिसको पाना नै पल्टिएन, सिफारिसको पाना हेर्नुस् न भन्दा हुँदैन, अब सहमतिमा हुन्छ भनेर प्रदेश सभापतिले भन्नुभयो,’ उनले भने, ‘जयनारायण शेखरले टिकट बोकेर बर्दिबासमा ल्याएर टिकट बाँडियो ।’

पार्टीका मधेस प्रदेश सभापतिले काँग्रेसको विनाश गरेको उनको आरोप छ । उम्मेदवार चयनमा जिल्ला सभापति र क्षेत्रको सभापतिको कुनै भूमिका नै नरहेको भन्दै उनले मनोनयन दर्ता हुने दिन आइतबार दिउँसो २ बजेसम्म फाइल ल्याउन भनिएको तर २ बजे फाइल बुझाउन जाँदा ४ बजे ल्याउनुस् भनिएको उनले सुनाए । उनले भने, ‘त्यसपछि ५ बजे ल्याउनु भनियो, अन्त्यमा मैले बोकेर लगेको फाइल हेर्दै हेरेनन्, सहमतिमा टिकट दिन्छु, लगेर बाँड्नुस् भनेर पठाए ।’

काँग्रेस जिल्ला सभापति यादव यसपटक कलैया उपमहानगर प्रमुखमा एमाले उम्मेदवार बिनोद साहसँग ५ हजार ५९९ मतान्तरले पराजित भएका छन् । आफ्नो पराजयमा  पनि पार्टीभित्रकै गुटको भूमिका रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप