आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हप्ताको दुई दिन बिदा कति औचित्यपूर्ण ?

सोमबार, ०९ जेठ २०७९, १२ : ५६
सोमबार, ०९ जेठ २०७९

आजको सन्दर्भमा विश्वका अधिकांश विकसित मुलुकले हप्ताको दुई दिन विदा दिदै आएको यथार्थ हाम्रो सामु छ । दुई दिन विदा दिनुको पछाडि एउटा मात्र हैन, अनेक कारणहरु छन् । आज नेपालले अभ्यास गर्न लागेको दुई दिने विदाको सम्बन्ध केवल इन्धन खपत कम गर्नुसँग मात्र नभई यसका अनेक पक्षहरुलाई कोट्याउनु पर्ने आवश्यकता हुन्छ । 

सरकारको प्रतिवेदनअनुसार हप्ताको दुई दिन विदा दिइए सरकारी कार्यालयको मासिक २० लाख लिटर पेट्रोल र १२ लाख लिटर डिजलको खपत कटौती हुने देखिन्छ । त्यस्तै आम सर्वसाधारणको पनि २० लाख लिटर इन्धन खपतमा कटौती हुने देखिन्छ । उता निजी विद्यालय र कलेजहरुले खपत गर्ने १० लाख लिटर बराबरको डिजलमा कमी हुन सक्छ । अर्थात् कमसेकम ६२ लाख लिटर इन्धन मासिक कटौती हुन आउँछ । 
इन्धन कटौतीले वैदेशिक मुद्रा सञ्चितीकरणमा सहयोग पुग्नुको साथै देशको अर्थतन्त्र जोगाउन सहायक हुने देखिन्छ । मासिक ६२ लाख लिटर इन्धन खपत कम हुँदा यसको सकारात्मक प्रभाव पर्यावरणमा समेत पर्छ । वातावरणीय ह्रासलाई रोक्न पर्यावरण जोगाउनु आवश्यक छ । 

तर एक दिन थप विदाले मात्र इन्धन खपत रोकिने होइन, यसको साथसाथै बिलासी गाडी खरिद र प्रयोगमा रोक लगाउनु पनि उत्तिकै जरुरी छ । निजी सवारी साधनहरुको प्रयोगलाई निरुत्साहित गर्दै सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनतर्फ ध्यान पुर्याउनु आवश्यक छ । एक दिनको विदाले सरकारी कार्यालयहरूमा हुने पानी, बिजुली र खाजा खर्चमा समेत कटौती हुन्छ र देशको आर्थिक भार कम हुन सक्छ । 

यसको एउटा सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो भने यसले कर्मचारीहरुको पारिवारिक जीवनमा टेवा पुग्छ । कर्मचारीहरुको कामको अधिक प्रेसर र परिवारसँग बिताउने समयको अभाव हुँदा पारिवारिक कलह भइ  विभिन्न यौन विकृतिहरु फैलिने, श्रीमान श्रीमतीको बिच सुमधुर सम्बन्ध नहुने र सम्बन्ध विच्छेदका घटनाहरुमा वृद्धि हुँदै गएको देखिन्छ । कतिपय केसमा बुढा बूढी जागिरे हुँदा छिमेकी जिल्लामा कार्यरत भएर पनि  विदा नहुँदा भेटघाट नभएको महिनौ पुग्दछ र ब्यक्तिगत जीवनको सम्बन्ध असन्तुलित हुन जान्छ । 

अर्कोतिर अभिभावक र बालबालिकाको सम्बन्ध पातलिएको छ । आमा बुवा हप्तौं काममा ब्यस्त र बालबालिका पढाइमा ब्यस्त हुँदा एक अर्कालाई बुझ्ने समय नभएर बालबालिकाको गतिविधिबारे अभिभावकहरुलाई थाहा नै हुँदैन । बालबालिकाहरु लागू पदार्थको दुर्व्यसनमा लागेको समेत थाहा पाउँदैनन्,  जुन कि अहिले समाजमा विकराल रुप लिदैछ । कर्मचारीहरुसँग समय हुँदा उसले आफ्नो पारिवारिक जीवनलाई ब्यवस्थित बनाउनुको साथै बालबालिकाहरुका बानी बेहोरा सुधार गरेर सही दिशा देखाउन सक्छ । 

हाम्रो सांस्कृतिक मूल्यमा ह्रास हुँदै आएको यथार्थ हाम्रो सामु छ । अर्कोतिर थप विदाले सामाजिक र ब्यक्तिगत सम्बन्ध बलियो हुन पुग्छ । दुई दिनको समय उसले आफ्नो कृषि कार्य र करेसावारीमा लगाउनाले देशको उत्पादकत्वमा समेत वृद्धि हुन जान्छ । जसले महँगीको भारलाइ थोरै भएपनि कम गर्न सक्छ । विदाको दिन घुम्न चाहे देशको आन्तरिक पर्यटनमा टेवा पुग्दछ भने ब्यक्तिगत जीवन सन्तुलित र मानसिक स्वास्थ्य मजबुत हुन्छ  । साथै काम गर्ने जोश, जाँगर पैदा हुन्छ । 

अहिले हाम्रो बालबालिकाहरुलाई आइतबारदेखि शुक्रबारसम्म बिहान बेलुकासम्म घोक्न लगाइन्छ । बिहान कोचिङमा बोलाउने र बेलुकासम्म कक्षामा थुनेर राख्ने प्रवृत्तिले बालबालिकाहरु शारीरिक एवम मानसिक रुपले थकित हुन्छन् । उनीहरुलाइ पढाइप्रति रुचि नै हुँदैन । छ दिन पढाएको सैद्धान्तिक कुरालाई ‘रिभाइज’ गर्न समेत फुर्सद हँुदैन । एक दिन शनिबार त बच्चाहरुको ब्यक्तिगत सरसफाइमै बित्छ । थप एकदिन विदा पाउँदा बच्चाहरु हप्ता दिनको कुरा रिभाइज गर्ने, होमवर्क गर्ने, खेलकुदमा लाग्ने समय पाउँछन् । प्रायः अभिभावक चाहन्छन् कि हाम्रो बच्चा सातै दिन पढाइमा ब्यस्त रहोस् र हामी दिन रात प्रेसर बनाउँछौ पनि, त्यसको बावजुद अपेक्षित परिणाम आउँदैन । 
अभिभावकले बुझ्नुपर्ने हो बच्चाको दिमाग हो, कुनै प्रेसर कुकर हैन कि त्यसमा दाल हालेर पाँच सिटी लगाइदिने । उनीहरुलाई उचित समय चाहिन्छ, पढेका कुरा सम्झनलाई, सोच्नलाई र आफ्नो शारीरिक एवम मानसिक स्वास्थलाई ख्याल गर्नलाई । बच्चा शिक्षकको डरले  घर आउँदा पनि  आठ आठ वटा बिषयको होमवर्क गर्न १२ बजे रातीसम्म लागेको हुन्छ कि बिहान सर, म्यामलाई के देखाउने भनेर । होमवर्क पनि बच्चाहरुलाई गायत्री मन्त्र जस्तो घोक्न लगाइन्छ । अनि हामी अपेक्षा गर्छौ कि बच्चाहरुमा सिर्जनशिलताको विकास होस् । प्रेसर दिएर हामी बच्चालाई सुगाजस्तो बनाउन त सक्छौ तर उसमा सिर्जनात्मक क्षमताको विकास गर्न सक्दैनौ । झन पहाड तिरका

विद्यालयमा बालबालिकाहरुलाई हप्ताको ६ दिनसम्म घन्टौं हिँडेर विद्यालय पुग्नुपर्छ । उनीहरु शारीरिक र मानसिक रुपले थकित हुन्छन्  र पढाईमा रुचि घट्दै जान्छ ।
बालबालिका करले हैन, रहरले विद्यालय पुग्नुपर्ने हो । यसर्थ विद्यालयमा पाँच दिन पढाएर दुई दिन उनीहरुलाई होम असाइन्मेन्ट र प्रोजेक्ट वर्क दिएर पठाइनु उपर्युक्त छ, ताकि उनीहरु इन्टरनेट र किताबहरुको सहयोग लिएर असाइनमेन्ट पूरा गरुन् । यसले उनीहरुमा सिर्जनात्मक क्षमतामा वृद्धिका साथै स्वअध्ययन गर्ने बानीको विकास होस् । 

अधिकांश शिक्षाविद र अभिभावकहरुको चिन्ता के देखिएको छ भने हप्ताको दुई दिन विदा दिँदा समयमा कोर्स कसरी पूरा हुन्छ । यसको लागि पाठ्यक्रममा भएका अनावश्यक सैद्धान्तिक भारलाइ कम गर्ने र प्रयोगात्मक क्रियाकलापमा वृद्धि गरिनु पर्छ । यसले कोर्स समयमै सकिन्छ पनि र विद्यार्थीहरुमा सिक्ने बानीको विकास पनि हुन्छ । आठ आठ वटा बिषय पढाउनुको त्यति आवश्यकता देखिदैन । यसले बालबालिकाहरुमा अतिरिक्त मानसिक तनाव बढाउने बाहेक अरु केही गर्दैन । 

फिनल्यान्ड जस्तो विश्वको उत्कृष्ट शिक्षा प्रणाली मानिएको देशमा पाँच वटा बिषय मात्र पढाइ हुन्छ भने हामीले पनि अनिवार्य बिषय बाहेकका विषयहरुलाई मर्ज वा इन्टिग्रेट गरेर कोर्स भार घटाउन सक्छौ । हामीले परम्परागत शिक्षण विधि र विद्यालयको शैक्षिक वातावरणलाई सुधार गर्यौं भने सम्भव देखिन्छ । तर कुनै कुराको प्रयोग नगरी केवल नकारात्मक टिप्पणी उचित छैन । परीक्षणको रुपमा दिएको दुई दिन विदाको निर्णयलाई कसरी प्रभावकारी बनाउने, त्यतातिर ध्यान दिनु उचित होला । अनि मात्र यो सफल हुन्छ । यसको नकारात्मक भन्दा सकारात्मक पक्ष नै बढी देखिन्छ भने मेरो बुझाइ हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप