‘मालामा नउनिएका फूलहरू’ विमोचित
डा. खगराज बरालद्वारा लिखित ‘मालामा नउनिएका फूलहरू’ कृति विमोचन गरिएको छ । प्रमुख अतिथि प्रा.डा. जयराज आचार्य, लेखक तथा पूर्व सांसद डा. शोभाकर पराजुली, पूर्वसचिव किशोर थापा, गीता काफ्लेले उक्त कृतिको शनिबार प्रज्ञा प्रतिष्ठान काठमाडौँमा संयुक्त रूपमा विमोचन गरेका थिए ।
शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त पुस्तक लोकार्पण समारोहमा पुस्तकबारे डा. शोभाकर पराजुलीले यो पुस्तक एक पटक होइन पटक पटक पढ्नुपर्ने र पढेपछि नवीन सिकाइ थपिँदै जाने बताए ।
यसैगरी किशोर थापाले यस कृतिमा जीवन भोगाइका अनुभवबाट धेरै सिकाइ गर्न सकिने शिक्षा यसबाट पाइने बताए । सिकाइबाट व्यवहारमा परिवर्तन तथा रूपान्तर हुने भन्दै थापाले सिद्धान्त तथा दर्शनको कुरा नगरी मसिना कुराबाट पनि व्यवहार परिवर्तन गर्न सकिने कुरा बरालका पुस्तकमा पाइने बताए ।
साहित्यकार गीता काफ्लेले वैचारिक तथा व्यावहारिक रूपमा अलमलिएका र दोधारमा रहेका मानिसका लागि मार्गदर्शन गर्न सक्षम रहेको बताइन् । प्राध्यापक डा. जयराज आचार्यले सरल भाषामा गहन अभिव्यक्ति दिन पुस्तक सक्षम रहेको बताए ।