मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कविता : नजाउ तिमी सौन्दर्य प्रतियोगिताहरूमा

शनिबार, १४ जेठ २०७९, ०७ : २२
शनिबार, १४ जेठ २०७९

हरेक साल
बौद्धिक क्षमताको लेपन लाएर
देखावटी सौन्दर्यको मोल तोक्न
आइदिन्छ
उर्फ सौन्दर्य प्रतियोगिता
न छ समग्र मूल्याङ्कन
न छ विचारहरुको प्रक्षेपण
पूँजीवादको खोल ओढेर
छालाको रंग
शरीरको जैविक उचाई
र चस्माको पावरमा
नाफा कमाउन
हरेक साल आइदिन्छ 
र, व्यर्थै उब्जाउँछ 
नसुक्ने चोट 
र, नथामिने आँसुहरु
के हो सौन्दर्यको परिभाषा ?
अग्लो हुनु, गोरो हुनु ?
मुलायम छाला हुनु ?
चस्माविहीन आँखा हुनु ?
सोह्रश्रृङ्गार युक्त हुनु ?
के यी सब चिरस्थायी छन् र ?
छैनन् भने,
क्षणिकतालाई सौन्दर्यको 
मानक मान्न मिल्छ र ?
यसकै भरमा 
मिस नेपाल जस्तो साझा शब्दावली 
प्रयोग गर्न मिल्छ र ?
मेरी प्रियसी,
नजाऊ तिमी
आफूमा लघुताभाष सिर्जना गरेर
यस्ता विभेदीय संस्कृतिको
जगेर्ना गर्न,
मेरी प्रियसी,
नजाऊ तिमी
आफ्ना कोमल अंगहरुमा
कर्पोरेट हाउसका
विज्ञापन छपाउन,
सुगा रटाई गरेर
प्रशिक्षणका नाममा
मस्तिष्क एकोहोरो बनाउन,
अवश्य, धनाढ्य वर्गका
युवतीहरुको भीडमा
तिमी हराउनेछौ,
साँच्चै प्रियसी
इन्टरनेट भोटिङ्ग मार्फत्
तिमीलाई बहुमूल्य बस्तु बनाईनेछ 
र, बेचिनेछ सञ्चार माध्यमहरुमा 
त्यहाँ त
कति गिज्याउँछ पछि
आफ्नै मेकअपले
कति छकाउँछ र फसाउँछ
आफ्नै आयोजकले
अनि यौनको जालमा पारेर
रस आईन्जेल
आनन्द लिईरहन्छ भोको समाजले ।
हरेक प्रहर
सुनको पखेटा लगाएर
हिमालयको चुलीमा पुग्नु छ तिमीले,
अनगिन्ती जादूका पुष्पहरु टिप्दै
विश्वका लयहरु पक्रनु छ तिमीले,
संभावनाका किनारहरु पछ्याउँदै,
समुद्रको गहिराई भेट्टाउनु छ तिमीले
यी मिथ्याका
काला बादलहरुबाट उम्केर
भूलभुलैयाको अन्धकारलाई
चिर्नु छ तिमीले,
धर्तीका अल्झनहरुलाई 
फुकाउनु छ तिमीले,
कुनै टाइटल जित्न
राम्री हुनुपर्ने परिभाषा 
बदल्नु छ तिमीले ।
तिमीसँग सधैंभरि
श्रृंगार पटारका लागि
मात्र ऐना हेर्ने छुट हुने छैन
हरेक त्रास 
र, हरेक आत्मजिज्ञासाको
सामना गर्न पनि
तिमीले ऐनामा
आफ्नो अनुहार नियाल्नु पर्नेछ,
तिमी अब कुनै पुतली रहिनौ
तिमी त वीरताको गाथा
बोक्ने महात्मा बन्ने
साहस गर्नुपर्छ ।
साहस गर्नुपर्छ ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप