मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गौतमको ‘पन्ध्रौँ चुली’ लोकार्पण

आइतबार, १५ जेठ २०७९, १५ : ५५
आइतबार, १५ जेठ २०७९

लेखक एवं सर्भेयर खिमलाल गौतमको ‘पन्ध्रौँ चुली’ लोकार्पण गरिएको छ । १५औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्याको अवसरमा शनिबार काठमाडौँको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा सरकारका मुख्यसचिव शङ्करदास वैरागी, कीर्तिमानी आरोहीहरू कामी रिता शेर्पा र मिङ्मा शेपाले पुस्तक लोकार्पण गरे । 

सीमाविद् बुद्धिनारायण श्रेष्ठ, लेखक अमर न्यौपाने र पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले पुस्तक एवं सगरमाथा सम्बन्धमा चर्चा गरे । 
कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले पुस्तक लेख्न गाह्रो काम भए पनि खिमलाल गौतमले त्यसलाई सजिलोसँग पार लगाएको बताए । पुस्तक रोचक किसिमले लेखिएको र यसमा सगरमाथा आरोहण मात्र यसका इतिहाससम्बन्धी नालीबेलीसमेत रहेको उनको भनाइ छ । ‘भविष्यमा सगरमाथा आरोहण गर्ने व्यक्तिहरूका लागि यो पुस्तक उपयोगी छ नै । पर्वतारोहीहरूले यो पढ्नैपर्छ,’ श्रेष्ठले भने, ‘यस सम्बन्धमा रुचि राख्नेहरूले त झनै पढ्नुपर्छ ।’ 
पुस्तक पढ्दै जाँदा सरासर समिटमा पुगिने उनले बताए । ‘यहाँ प्राविधिक कुरा पनि छन् । सगरमाथाको उचाइ कहिले नापियो, विदेशीहरूले पनि कहिलेकहिले मापन गरे आदि रोचक तथ्य पुस्तकमा छन्,’ सीमाविद् श्रेष्ठले भने, ‘अहिले भने नेपालले सगरमाथाको उचाइ मापन गरेको छ । त्यसको सम्पूर्ण इतिवृत्त यहाँ छ ।’  

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले सगरमाथा पृथ्वीको शिर रहेको र त्यसमा केन्द्रित पुस्तक ‘पन्ध्रौँ चुली’ रहेको बताए । पृथ्वीको स्नायुशास्त्र (न्युरोलोजी अफ अर्थ) का रूपमा खिमलाल गौतमको ‘पन्ध्रौँ चुली’ आएको उनको धारणा छ । आफू विभागको नेतृत्वमा रहे पनि यस किताबले आफूलाई सगरमाथाका हरेक खुट्किलाबारे जानकारी लिन सजिलो भएको उनको भनाइ छ । 
नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम), पर्वतीय प्रशिक्षण प्रतिष्ठानलगायत पर्यटनसम्बन्धी औपचारिक पढाइ हुने शिक्षण संस्थाका लागि यो बलियो सन्दर्भसामग्री रहेको उनको दाबी छ । ‘कर्मचारीहरूलाई विशिष्टीकरण गर्ने सम्बन्धमा यसले प्रेरणा दिन्छ,’ उनले भने, ‘जसले जुन विषयमा दक्षता हासिल गरेको छ, सोही विषयमा काम गर्दा वर्क पर्फमेन्स पनि बढी देखिने गर्छ ।’ हर्क गुरुङपछि यस खालको भूगोललाई समेत समेटेर आम मानिसले बुझिने गरी लेखिएको किताब ‘पन्ध्रौँ चुली’ रहेको उनले बताए ।  

पुस्तक पैताला र अध्ययनले लेखिएको पुस्तक ‘पन्ध्रौँ चुली’ रहेको लेखक अमर न्यौपानेको भनाइ छ । ‘पैतालाले यसकारण, उनी एक पटक नेपाल भ्रमण वर्ष र अर्काे पटक सगरमाथाको उचाइ मापनका लागि सगरमाथाको शिखरमै पुगे’, न्यौपानेले भने, ‘सगरमाथा आरोहणको इतिहास पनि यहाँ पाइन्छ । त्यसैले यसलाई अध्ययनबाट लेखिएको भन्न सकिन्छ ।’ 

अङ्ग्रेजीमा हिमालबारे धेरै किताब लेखिए तापनि नेपालीमा एकदम कम लेखिएको फाइनप्रिन्टका अजित बरालले बताए । ‘पन्ध्रौं चुली’ले त्यस किसिमको अभाव पूरा गर्ने उनको भनाइ छ । पुस्तकले सगरमाथा, त्यसको आरोहण र सर्वेक्षणबारे हाम्रो ज्ञान बढाउनेसमेत उनले जनाए ।  

कार्यक्रममा लेखक गौतमले भने, ‘पन्ध्रौँ चुली’ भावना र भूगोलको सम्मिश्रण हो । सगरमाथाका विषयमा हामीले गौरव मात्र ग¥यौं, यसका विषयमा नेपाली वाङ्मयमा कम लेखिएको पाएँ,’ उनले भने, ‘यसबारे केही लेख्नुपर्छ भन्ने मलाई लाग्यो । सगरमाथाका विषयमा नेपालीमा सन्दर्भसामग्री त्यति नभएकाले पनि अब केही त लेख्नैप¥यो भनेर यसमा हात हालेको हुँ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप