आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस र माओवादीबीचको सहयात्रा कहिलेसम्म ?

सोमबार, १६ जेठ २०७९, १० : ०७
सोमबार, १६ जेठ २०७९

स्थानीय निकायको चुनाव शान्तिपूर्ण रूपमा भर्खरै सम्पन्न भयो । परिणाम पनि लगभग सार्वजनिक भइसकेको छ । अघिल्लो चुनावमा पहिलो स्थान ओगटेको एमालेले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ भने दोस्रो स्थानको काँग्रेस पहिलो भयो । माओवादी केन्द्र विगतमा झैँ तेस्रो स्थानमै रहेको छ ।

तराईबाट भर्खरै पहाड उक्लिदै गरको जसपाको स्थिति भने त्यत्ति सन्तोषप्रद रहेन । तराईका केही जिल्लालाई छाड्ने हो भने डा बाबुराम भट्टराईकै गृह जिल्लामा समेत जसपा शिला खोज्नुपर्ने अवस्थामा पुग्यो । त्यसै गरी यो संविधान जोगाउन व्यक्तिगत क्यारियर दाउमा राखेर निकै नै महत्त्वपूर्ण भूमिका खेलेका माधव नेपालको एकीकृत समाजवादीले आशातित सफलता नपाए पनि निकट भविष्यमा राम्रै स्थान पाउने सङ्केत मिलेको छ । पार्टी गठनको छोटो समयमै पोखरा, हेटौंडा लगायत डेढ दर्जन स्थानीय निकायमा उसको उपस्थितिले यस्तो दाबी गर्न सकिन्छ ।

चुनावअगाडि ठूलाठूला ¥याली, सभासहित शक्ति प्रदर्शन गरेको राप्रपा भने यो पटक चिप्लिएको छ । भर्खरै सम्पन्न महाधिवेशनबाट उदाएका राजेन्द्र लिङ्देन अहिले चर्चामा छन् । अहिलेको यो सङ्घीय गणतान्त्रिक व्यवस्थालाई समाप्त पारी त्यसको ठाउँमा राजतन्त्रसहितको एकल हिन्दू अधिराज्य फर्काउने उनका घोषित लक्ष्य हुन् । तर जनताले खासै साथ दिएनन् । 
स्वतन्त्र अभियन्ताको नामबाट गतिविधि गर्दै आएका ज्ञानेन्द्र शाही, सामाजिक सञ्जालतिर सक्रिय ज्वाला सङ्ग्रौला लगायतहरू पनि अहिले राप्रपामा आबद्ध छन् । यी अभियन्ताहरू विशेष गरी भरतपुरमा केन्द्रीत देखिन्छन् ।

भरतपुर रेणु दाहालको कर्मक्षेत्र मात्र नभएर गणतान्त्रिक आन्दोलनका कमान्डर प्रचण्डको गृहजिल्ला पनि हो । त्यसैले यहाँको राजनीतिक अवस्थितिको विशेष महत्त्व छ । रेणुको अब्बल कामको बाबजुद उनलाई हप्काउन, दप्काउन, लल्कार्न ज्ञानेन्द्र शाहीहरू चितवन गएर झडप निम्त्याउने सिलसिला देखाउँदै आएका थिए । तर उनीहरुको दाल गलेन ।

भरतपुरले मेयरमा रेणु दाहाललाई नै पुनर्विजय गराएको छ । यो विजयले ज्ञानेन्द्र शाहीका गतिविधिलाई भरतपुरले खारेज गरिदिएको छ । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, खारेज गर्दै एकल राजतन्त्रात्मक हिन्दू राज्यको विगुल फुक्दै हिँडेको रवीन्द्र मिश्रको विवेकशील साझा पार्टी समूहले यतिखेर करिब करिब धुलो चाटेको अवस्था छ । पार्टी रसातालमा पुगेको आरोप स्वीकार्दै रवीन्द्र मिश्रले पार्टी अध्यक्षबाट राजीनामा समेत दिइ सकेका छन् ।
त्यसै गरी तराईमा वितण्डा मच्चाउँदै आएका सीके राउतले पनि यो चुनावलाई स्वीकारेर संविधानको क्रियशीलतालाई सहयोग पु¥याए, यो निकै ठूलो कुरा हो । यति मात्र हैन, प्रचण्डले क्रान्तिलाई धोका दिएको भन्दै ‘महापतन’ नामक् ठेली लेखेर भण्डाफोरमा उत्रेका विप्लव पनि अन्तिममा यही चुनावमा सरिक हुन आए । तर पनि जनताले उति विघ्न रुचाएको देखिएन । क्रान्तिको उद्गम थलो थवाङले समेत उनलाई पत्याएन । माओवादी केन्द्रविरुद्ध काङ्ग्रेस–एमाले लगायतसँग गठजोड गर्दासमेत विप्लवको केही जोर चलेन ।

यो निर्वाचनमा सबैभन्दा चर्चित अनुहार धरान र काठमाडौंले पायो । स्वतन्त्र उम्मेदार बालेन्द्र साह र हर्क साम्पाङको लौरोले पुराना नेताहरूलाई धुस्नोसँग चुटेको छ । स्वतन्त्र उम्मेदवारको यो खालको उदयलाई विविध कोणबाट व्याख्या–विश्लेषण गर्न सकिन्छ । चुनावअगाडि कुनै व्याख्याता र विश्लेषकले नपत्याएका उम्मेदवारले किन अनि कसरी जित्यो त ? सायद अझै पनि उत्तर सहज छैन । दलहरूले प्रस्तुत गरेका पुराना, थोत्रा, ढुसी परेका अनुहारले पो हो कि ? बेलाबखत ठट्टा गरेर रमाइलो गर्नुपर्ने अस्थिर मनस्थितिका मतदाताको कारणले हो या केले हो, यसै भन्न सक्ने स्थिति छैन ।

काठमाडौंले नयाँ अनुहार खोज्यो भन्नेमा ढुक्क हुने अवस्था छ । बालेन्द्र साहसम्मलाई हेर्दा नयाँ अनुहार खोजेकै हो कि भन्न त सकिएला । किनकि प्राविधिक भिजनरले सपना बाँडेका छन् र परीक्षण हुन बाँकी भए पनि आशा जगाएका छन्, मतदाताले भरोसा राखेर मत दिएका पनि हुन सक्छन् । तर जब उपमेयरमा एमालेकी सुनिता डंगोलले यथेष्ट मतका साथ विजय भएको र हुँदै गरेको दृश्य देखिन्छ, कमसेकम काठमाडौंले परिवर्तन मागेको मान्न सकिन्न । हो, पार्टीमा युवा अनुहार खोजेको भन्न सकिन्छ । राजधानीले नयाँ अनुहार खोजेकै हो, सारमा हैन रूपमा । 

आफ्नो मेयर र उपमेयर प्रोफेसनल मोडेलझैँ क्याटवाक गर्दै आफिस आओस्, हेर्दा पनि चिटिक्क परेको, जिउँदो जाग्दो नेतृत्व खोज्यो राजधानीले । बालेन हुन् या डंगोल, तिनको जितलाई यही कोणबाट हेर्दा सही होला ।
यी बाहेक को कति बलियो भन्नेमा दलहरू बीचमा अझै विवाद छ । परिणाम हात लागिसक्यो, को हार्यो, कसले जित्यो, अङ्कगणितले बताइसक्यो । विशेष गरी सिङ्गल भिडेको दाबी गर्ने एमाले र माओवादी–काँग्रेसका बीचमा यो लडाइ जारी छ । सबैले देखेकै कुरा हो, पाँच दलीय गठबन्धन अहिले पनि जारी छ । तर यो भर्खर निर्माण भएको चुनावलक्षित गठबन्धन हुँदै होइन ।

यो त संविधान संरक्षण खातिर निर्माण भएको गठबन्धन हो । आवधिक निर्वाचन जित्ने तुच्छ उद्देश्यले हैन, जतिखेर खड्गप्रसाद ओलीले संविधानविपरीत संसद्माथि कू गरे, विदेशी जासुसलाई मध्यरातमा बालुवाटारमा आलिङ्गन गरे । तिनकै सल्लाह, सुझावमा गणतन्त्र सङ्घीयता, धर्मनिरपेक्षता लगायत परिवर्तनका तमाम कडीहरूमाथि खड्ग उज्याए, त्यसको प्रतिकारमा निर्मित गठबन्धन हो यो । यो हिसाबले गठबन्धनको निर्माण वैदेशिक हस्तक्षेप विरुद्धमा हो भन्ने बुझ्नुपर्छ ।

यहाँ जसले जतिसुकै दम्भ, अहङ्कार देखाए पनि नागरिक उन्मुक्ति पार्टीबाहेक कोही पनि सिङ्गल सिङ्गल लडेका छैनन् । कसको गठबन्धनमा कस्ता कस्ता अनुहार सहभागी भए ? कसका सिद्धान्तका ठेलीहरू झुट अनि मक्कारको टोकरीमा बास बस्न पुगे ? कम्युनिस्ट झन्डामुनि लुकेर सामन्तवादी अवशेषको मादलमा को नाच्दैछ, यो खोजीको विषय हो ।
चुच्चे नक्सा छापिनुमा बलियो नेकपालाई कारक देख्ने भारतीय थिङ्क ट्याङ्क र शासक वर्गले तत्कालीन नेकपाभित्रको अल्पमत खेमालाई हातमा लिएर नेपाली राष्ट्रियतामाथि छुरी चलायो । उनीहरु तिनै विभिषणहरूसँगको गठजोडमा रमाउन थाले । योभन्दा क्रूर ठट्टा अर्काे कुनै हुन सक्दैन ।

यो चुनाव स्थानीय निकायको कम, अग्रगामी–पश्चगामी बीचको प्रतिस्पर्धा ज्यादा हो । राजनीतिक दलहरू बीचको कम, गणतन्त्रवादी–पुरातनी पुनरोत्थानवादी बीचको प्रतिस्पर्धा हो । नेताहरू बीचको कम, जनभक्त, देशभक्त–साम्राज्यवादी, विस्तारवादी तथा तिनले नियुक्त गरेका घरेलु प्रतिक्रियावादी बीचको प्रतिस्पर्धा ज्यादा हो ।
मोर्चा जेजस्तो भए पनि पाँच दलीय गठबन्धनले लेन्डुप पथमा अग्रसर केशरजङ्गमार्गी ठगबन्धनलाई परास्त गर्नैपर्छ । राणा फाल्ने काँग्रेस र गणतन्त्र ल्याउने माओवादी केन्द्रको सहयात्रा अरू लामो समय कायम रहोस् । नत्र देश दुर्घटनामा पर्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप