सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माओवादीका मधेस ‘कमाण्डर’ भन्छन् – परिणामलाई हेर्‍यो भने असफलै भएँ

मङ्गलबार, १७ जेठ २०७९, १५ : १४
मङ्गलबार, १७ जेठ २०७९

नेकपा माओवादी केन्द्र स्थानीय तह निर्वाचनमा मधेस प्रदेशमा पाँचौं दलमा सीमित भएको छ । मधेसमा नेकपा एमालेभन्दा माओवादी केन्द्र बलियो भन्ने गरिए पनि पाँचौं दलमा खुम्चिन पुगेपछि माओवादी वृत्तमा यसबारे समीक्षा गर्न थालिएको छ । माओवादी केन्द्रले २०७४ सालमा मधेस प्रदेशका २१ स्थानीय तह जितेकोमा गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा ९ स्थानीय तहमा मात्रै जित्न सफल भयो । स्थानीय चुनावमा प्रदेश कमिटी इन्चार्ज गणेश साहबाहेक सह–इन्चार्ज, अध्यक्षसहितका पदाधिकारी र कतिपय पालिकामा नेतृत्वसमेत थिएनन् । चुनावमा मातृका यादव र गिरिराजमणि पोखरेल गुटबीचको संघर्षका कारण माओवादीलाई कमजोर बनाएको नेताहरु बताउँछन् ।

मधेस प्रदेशका माओवादी केन्द्रका कार्यकर्ताका अनुसार पोखरेलले पूर्व एकता केन्द्रबाहेक जनयुद्धकालीन माओवादी नेता कार्यकर्तालाई निषेध गर्ने, यादवले आफूलाई नेता मान्नेलाई मात्रै बोकेर हिँड्ने गर्दा मधेसमा पार्टीको अवस्था नाजुक बनेको हो । एकले अर्कोलाई सहयोग र सहकार्य गर्नेभन्दा पनि निषेध गर्ने प्रवृत्ति बढ्दै जान थालेपछि मधेसमा माओवादी कमजोर भएको उनीहरुको भनाइ छ ।

मधेसमा माओवादी किन कमजोर भयो भन्ने विषयमा पोखरेल र यादवसँग बारम्बार कुरा गर्न प्रयास गर्दा दुवै नेताले यसबारे बोल्न मानेन् । यसबारे रातोपाटीले माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज गणेश साहसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँगको कुराकानीको सम्पादित अंश– 

मधेस प्रदेशमा माओवादी केन्द्रको सह–इन्चार्जदेखि अध्यक्षसहित सिङ्गो पदाधिकारी छैन । यस्तै अवस्था रहन्छ कि पूर्णता दिनेतिर पनि लाग्नु हुन्छ ?

पार्टीको मधेस प्रदेश कमिटीले असार १५ गतेभन्दा अघि नै पूर्णता पाउँछ । जेठ २० गते भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बस्छ । त्यहाँ सामान्य छलफलमात्र हुन्छ । असार १५ गते विषयवस्तुसहित गम्भीर रुपमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । त्यो केन्द्रीय समिति बैठक अघि मधेस प्रदेशको कमिटी र पालिका कमिटीले पूर्णता पाउँछ ।

मधेसमा माओवादी पाँचौं दल भएको छ । त्यस विषयमा तपाईहरु कसरी समीक्षा गर्नुहुन्छ ?

मधेस प्रदेशको चुनावी परिणामका विषयमा गम्भीरतापूर्वक छलफल गर्नेछौं । हामी हार्नुको राजनीतिक, संगठनात्मक कारण र गठबन्धन्धनका विषयमा छलफल र बहस गर्नेछौं । अरु बाह्य कारण के के हुन सक्छन्, त्यसका विषयमा पनि समीक्षा हुन्छ । 

तपाई प्रदेश इन्चार्ज हुनुुहुन्छ । माओवादीले किन हा¥यो भन्ने लागेको छ ?

मुल ‘फ्याक्टर’ पार्टीभित्रको विवाद र कलह भन्ने लागेको छ । त्यससँगै गठबन्धन गर्ने भनेर धेरै प्रयास गरियो, असफल भएपछि एकल रुपमा प्रतिस्पर्धा गर्दा पराजित हुन पुग्यौं । यो चुनावमा खास गरेर पैसाले धेरै ठूलो भूमिका खेल्यो । पैसाको खोलो नै बगाएको पनि पाइयो । धेरैले पैसाको खोलो बगाएर चुनाव जितेका छन् । भोट धेरै नै खरिद विक्री भयो । त्यसलाई हामीले तोड्न सकेनौं ।

एमालेका रघुवीर महासेठले पनि पैसा प्रयोग गरेर चुनाव प्रभावित पारे । हाम्रोबाट त्यस्तो गर्न सक्ने मान्छे पनि भएन । हामी त्यस्तो गर्नेवाला पनि परेनौं । त्यसैले हाम्रो पक्षमा परिणाम आउन सकेन । 

तपाईंकै पार्टी अध्यक्षले चुनाव हारे पनि मत यताउती गएको छैन भन्नुहुन्छ, के चुनाव हारे पनि मत यथावत भएको हो ?

अझै पनि समीक्षाको विषय छ । मत भन्ने कुरा मधेसमा सभामा मान्छे हजारौं आउने गर्दछन् तर मत कता दिने भन्नेमा अन्तिम समयमा पैसा ठुलो फ्याक्टर हुन्छ । अहिले जे जति मत पार्टीले पाएको छ, त्यो माओवादीको आफ्नो यथार्थ मत हो । त्यो कहीँ कतै जाने खालको होइन । अरु पार्टीले कति ल्याए, अरु कति मत ल्याउन सकिन्थ्यो भन्ने विश्लेषण गर्न बाँकी छ । 

मधेसमा तीन गुट छ भनिन्छ । जसमा एउटा गुट गिरिराजमणि पोखरेलले चलाउँछन्, अर्को गुट मातृका यादवले र बाँकी प्रचण्ड गुट भनेर हिँड्छन् । तीन गुटले एकले अर्कोलाई निषेध गरेकाले पार्टी गन्जागोलमा फसेको भन्छन्, के त्यस्तै भएको हो ?

म यसलाई गुट भन्दिनँ तर, पार्टीभित्र जुन किसिमले एकतावद्ध भएर जानुपर्ने थियो, त्यसरी जान सकेन । माओवादीसँग विभिन्न धारका कम्युनिस्ट जोडिनु भयो । अरु दल जस्तै, जसपा, लोसपाबाट पनि साथीहरु आउनु भएको छ । त्यसलाई एक ढिक्का बनाउन नसक्दा चुनावी परिणाम राम्रो आउन सकेन । यसलाई मैले अन्तरद्वन्द्व र अन्तरकलह भन्ने गरेको छु । यो गुटकै रुपमा छैन । गुटको रुपमा भएको भए आफ्नो गुटलाई भए पनि जिताउँथ्यो । त्यो छैन । मधेसमा माओवादी हार्ने मुख्य कारण प्रदेश समितिको पूर्णता नहुनु र कतिपय पालिका नेतृत्व चयन नहुनुजस्ता कारण हुन् ।

धेरैले प्रभु साह फ्याक्टरका कारण पनि माओवादी कमजोर भएको भन्छन्, त्यो कति मान्न सकिन्छ ?

त्यो आंशिक फ्याक्टर हो । मैले प्रभु र रघुवीर दुई फ्याक्टर भन्छु । ती दुईलाई ‘मनी’ र ‘मसल’ भन्छु । रघुवीरको ‘मनी’ र प्रभुको ‘मसल’को प्रभाव एमालेमा देखियो । त्यो धेरै होइन, आंशिकमात्रै प्रभाव हो । यदि उनीहरुको पूर्ण प्रभाव हुन्थ्यो भने एमाले मधेसमा पहिलो भइहाल्थ्यो नि !

तपाई इन्चार्ज भएर गएपछि गुट व्यवस्थापन गर्न नसक्दा चुनावमा सोचे जति नतिजा ल्याउन सक्नु भएन । त्यसैले तपाई असफल इन्चार्ज भएको पार्टीकै नेताहरु आरोप लगाउँछन् नि ?

मैले पार्टीले दिएको जिम्मेवारी निभाउने प्रयास गरेको हुँ । परिणामलाई हेर्नु भयो भने नैतिक रुपमा असफलै भएको हुँ । म इन्चार्ज भएर जिम्मेवारी लिएपछि सफल हुन सकिनँ । आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गरेर जानुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप