आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बालेन शाहलाई बागमती सफाइ अभियानकर्मीको खुल्ला पत्र

मङ्गलबार, १७ जेठ २०७९, १६ : १५
मङ्गलबार, १७ जेठ २०७९

श्री बालेन शाहज्यू, 
प्रमुख, काठमाडौँ महानगरपालिका 

मेयरज्यू, काठमाडौँ महानगरको सरसफाइमा तपाईंको ध्यान केन्द्रित भएकोमा खुसी लागेको छ । यहाँको बागमती सभ्यता पनि निकै फोहर छ । म विगत ९ वर्षदेखि बागमती सफाइ महाअभियानमा स्वयंसेवी रूपमा निरन्तर जुटेको एक साधारण अभियन्ता हुँ । यो अभियान संसारकै यस्तो महाअभियान हो, जो विगत १० वर्षदेखि एकै दिन एकै समय निरन्तर सञ्चालनमा रहेको छ । जसमा लाखौं स्वयंसेवी मनहरूको सहभागिता भैसकेको छ । 

बागमती सफाइ महाअभियान कुनै पनि आपतविपत, भूकम्प, नाकाबन्दी, चाडपर्व, कोरोना महामारीको बेलामा समेत बन्द नभएर नियमित सञ्चालनमा रहेको एक उत्कृष्ट स्वयंसेवी अभियान हो । यही अभियानका कारण उपत्यकामा दर्जन बढी स्थानमा यस किसिमका अभियानहरू सञ्चालनमा छन् । 

दश वर्ष पहिलाको बागमती नदीको अवस्था हेर्दा सायद यो अभियान सञ्चालन नहुँदो हो त आज हामी कसैले पनि बागमतीमा पानी बगेको देख्न सक्ने अवस्था रहने थिएन । यस सफाइ महाअभियानमा जोडिन पाउँदा गर्व महसुस हुन्छ । यो अभियानका हरेक अभियन्ताहरूले, उपत्यकावासीले बागमती नदी लगायतका नदी र यसका किनारामा फाल्ने गरेको फोहोरमैला र मलमूत्रसमेत बिना सङ्कोच सफाइ गर्ने कार्य निरन्तर गर्दै आएका छन् । 

तर बागमती किनारामा फोहर गर्ने यिनै असभ्य नागरिकहरूले अभियन्ताहरूलाई डलर खाएर अभियान चलाएको भन्न पछि पर्दैनन् । यतिसम्म कि नेपालका चलेका केही मिडियाले समेत महाअभियानको मर्मलाई नबुझी सरकारी रकमको पैसालाई जोडेर समाचार सम्प्रेषण गर्ने गरेका कारण नागरिकमा यस अभियानबारे नकारात्मक चियागफ गर्ने बाटो बन्ने गरेको छ । जबकि यो महाअभियान सरकारी बजेट योजना आयोजनासँग कुनै सम्बन्ध नराखेको स्वयंसेवी अभियान हो । यो महाअभियानले आजसम्म कुनै समिति बनाएको छैन । न त बैंक खाता नै सञ्चालन गरेको छ । अभियानले आजसम्म पैसा उठाउने, चन्दा उठाउने काम पनि गरेको छैन । हामी कसैसँग पनि आर्थिक कारोबार गर्दैनौ । तर सफाइमा चाहिने सामग्री मास्क, पञ्जा, बुट, डोको यदि कसैले आएर डोनेशन दिन्छ भने हामीले लिने गरेका छौँ । तर यसको पूर्ण व्यवस्थापन भने सरकारको आधिकारिक निकाय बागमती सभ्यता एकीकृत विकास समितिले लिने गर्दछ । 

सरसफाइमा रुचि राख्ने तपाईं युवा राजधानीको मेयरमा निर्वाचित हुँदा हामीमा पनि एक किसिमको सकारात्मक ऊर्जा प्राप्त भएको छ । बागमती सभ्यता पुनर्जीवित गर्न पनि तपाईंको अवश्य ध्यान पुग्ने छ भन्ने हामी आशा गर्दछौँ । हुन त महाअभियान कुनै राजनीतिक दल विशेष वा व्यक्ति विशेष छैन र होइन पनि । समाजको लागि, देशको उन्नतिका लागि बिना स्वार्थ काम गर्नेलाई भने साथ सहयोग दिने गरेका छौँ । यो राजनीतिभन्दा माथि उठेको देशको ठुलो स्वाभिमानी अभियान हो । हामी हरेक शनिबार राष्ट्रका नाममा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ राष्ट्रप्रति बडो गर्व बोकी अभियान सञ्चालन गरी सहभागी हुँदै आएका छौँ । 

मेयरज्यू, तपाईं निर्वाचित भए लगत्तै काठमाडौँको फोहर फाल्ने सिसडोल अवलोकन गर्नुभयो । शपथसँगै विभिन्न व्यक्ति विशेष भेटघाटमा व्यस्त हुनुहुन्छ । तपाईं बागमती सफाइ महाअभियानबारे अवश्य जानकार हुनु होला भन्ने लागेको छ । हामीले थुप्रै आरोह अवरोह पार गरी आजका मितिसम्म राज्यको बिना लगानी लाखौं मानिस यो अभियानमा जोड्न सकेका छौँ । यो महाअभियानका बारेमा तपाईंले अनुभव लिन र यस अभियानबारे जिज्ञासा राख्न र अभियन्ताहरूको विचार सुन्ने धारणा सायद सोच्न भ्याउनु भएको छैन होला । उपत्यकाको फोहोर मैलासँग जुधेर यस कार्यमा लामो समय लागी परेका अभियन्तासँगको सहकार्यले तपाईंको टिमले प्रत्यक्ष सिकाई र लाभ पाउन सक्छ जस्तो लाग्छ । 

एक दशक पार गरेको यो महाअभियान र यसका गतिविधिलाई अध्ययन गर्न तपाईंको पहिलो प्राथमिकतामा पर्छ झैं लागेको थियो । तर तपाईंको कार्यब्यस्तताले गर्दा नै होला यसबारे खोजीनीति र चासोको विषय बन्न नसकेको । विना स्वार्थ विना आर्थिक लाभ एक दशकसम्म उपत्यकाका दर्जन बढी र उपत्यकाका करिब एक सय स्थानमा अभियान चलाउन सक्ने अदम्य साहस भएको अभियान र यसका अभियन्ता साँच्चै यो चानचुने कुरा हैन जस्तो लाग्छ । यसबाट तपाईं जस्ता जनप्रतिनिधिहरूले धेरै कुरा सिक्नु पर्छ जस्तो लाग्छ । मैले विश्वास गरेको छु कि यो महाअभियान तपाईंको सारथि हुन सक्छ । तपाईंको लागि प्रेरणा हुन सक्छ । 

यस अघिका काठमाडौँका मेयरहरूसँग हामीले पटक पटक अनुभव आदान प्रदानसहित सहयोग नखोजेको हैन । विडम्बना नागरिकको मतले विजयी भएको मेयर भन्ने पद यति महान् रहेछ कि हामीले हाम्रो मेयरसँग सहकार्य गर्नै पाएनौँ । यस अघिका मेयर यति व्यस्त हुनुभयो कि अनुभव आदान प्रदानको कुरा त टाढा भयो, हाम्रो भलाकुसारी समेत हुन सकेन । अभियानलाई उहाँले टेलिभिजनमा आउने सिरियल जस्तो सम्म भन्न भ्याएको तीतो अनुभव हामीसँग छ । हामीले यस अघिका महानगर पितालाई कुरा बुझाउनै पाएनौँ । त्यसैले, तपाईं नवनिर्वाचित महानगर पितालाई पत्रमार्फत ध्यानाकर्षण गराउन खोजिएको हो । 

राज्यका बजेट खर्चेर गर्ने गतिविधि पनि हामीले ननियालेको हैन । राज्यले करोडौँ बजेट खर्च गरेर पनि यही किसिमको अभियान सञ्चालन गर्न नसक्ने हामी ठोकुवाका साथ भन्न सक्छौँ । यो हाम्रो अनुभव पनि हो र अभियन्ताहरू कर्ममा विश्वास गर्ने र देशको स्वाभिमानी अभियानमा संलग्न भएको त्यो गर्व बोकेकोले हामीबाट स्वयंसेवी सत्कर्म सम्भव भएको हो । 

हामीलाई आशा छ, नवनिर्वाचित मेयरसँग अभियन्ताहरूको सम्बन्ध प्रगाढ भएर जानेछ । उपत्यकाका बागमतीलगायत सहायक नदीहरू स्वच्छ सफा र कञ्चन पानी छिट्टै बगाउन सकियोस् भन्ने हाम्रो चाहना छ । तपाईंलाई उपत्यकावासीले महानगर पिताको भूमिका दिँदै गर्दा त्यो तपाईंको पहिलो जिम्मेवारी समेत हो भन्ने लाग्दछ, बाँकी मेयरसाबको तजबिज । पाँच वर्षमा हामीले पनि बागमतीको सफा पानीमा पौडिन सकिन्छ कि भन्ने आशा राखेका छौँ ।  जबसम्म बागमतीमा सफा पानी बग्दैन, तबसम्म हाम्रो अभियान जारी छ, जारी राखिने छ । जय बागमती ।

उही हाल तपाईंको एक नगरवासी

चक्र बहादुर चन्द 

अभियन्ता, बागमती सफाइ महाअभियान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप