मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश १ का १८ स्रष्टालाई ‘सम्मानको नाममा अपमान’

मङ्गलबार, १७ जेठ २०७९, १९ : २२
मङ्गलबार, १७ जेठ २०७९

सात महिना अगाडि प्रदेश १ को भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने १८ स्रष्टालाई सम्मान र पुरस्कार गर्ने गरी गरेको मन्त्रीस्तरीय निर्णय अझै कार्यान्वयन भएको छैन । ०७७/०७८ को पुरस्कारका लागि खेम नेपालीको संयोजकत्वमा गठित समितिले तत्कालिन सामाजिक विकासमन्त्री उषाकला राईलाई १८ जना स्रष्टाको नाम सिफारिस गरेको थियो ।

उक्त सिफारिसको आधारमा मन्त्रीस्तरीय निर्णय गर्दै २०७८ कार्तिक १२ गते पुरस्कृत तथा सम्मानित हुने स्रष्टाहरूको नाम सार्वजनिक गरिएको थियो । पुरस्कार तथा सम्मान भने स्रष्टाहरूले अझै पाउन सकेका छैनन् । ‘खै मन्त्रीज्यूले निर्णय गर्नुभएको हो दिन किन सक्नु भएन,’ पुरस्कार छनौट समितिका संयोजक नेपालीले भने, ‘मन्त्री उषाकला राईले उतिबेलै निर्णय गर्न पनि ढिला गर्नुभएको थियो, वितरण गर्न पनि ढिला भयो, स्रष्टा भनेको के हो भन्ने विषयमा सरकारका मन्त्रीहरुलाई जानकारी नै नभएको जस्तो लागेको छ ।’ 

तत्कालिन शेरधन राई नेतृत्वको सरकारको सामाजिक विकास मन्त्रीबाट केपी ओलीको संसद विघटन गर्ने कदमको विरुद्धमा असहमति जनाउँदै जीवन घिमिरेले राजीनामा दिएका थिए । घिमिरे मन्त्री हुँदा नियमित पुरस्कार वितरण हुँदै आएको थियो । त्यसपछि शेरधन राईले नै मन्त्रिमण्डल विस्तार गर्दा उषाकलालाई २०७७ चैत १३ गते मन्त्री बनाए । मन्त्री राईले नै नेपाली नेतृत्वको समिति निर्माण गरेकी थिइन् । पछि उनी आफैंले निर्माण गरेको समितिले सिफारिस गरेको पुरस्कार दिने निर्णय गर्न भने सकिनन् । ०७८ भदौमा उनले पनि मन्त्री पदबाट हात धुनु पर्यो ।

मुख्यमन्त्रीबाट राईले राजीनामा दिएपछि २०७८ भदौ १० गते भीम आचार्य नेतृत्वको मन्त्रिमण्डल बन्यो । उक्त मन्त्रीमण्डलमा सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ नियुक्त भएका थिए । मन्त्री बनेको ३ महिनामै पदबाट हात धुनुभन्दा ५ दिन अगाडि साम्सोहाङले पुरस्कारको विषयमा निर्णय गराएका थिए । सिफारिस समितिले दिएको नामको आधारमा पुरस्कार दिने निर्णय गराए पनि मन्त्री साम्सोहाङले मन्त्रालयले घोषणा गरिसकेको पुरस्कार दिन भने सकेनन् । 

आचार्यको नेतृत्वको सरकारले विश्वासको मत लिन नसकेपछि २०७८ कार्तिक १६ गते राजेन्द्रकुमार राईको नेतृत्वमा नयाँ मन्त्रिमण्डल निर्माण भयो । उक्त मन्त्रीमण्डलमा सामाजिक विकास मन्त्रीको रुपमा जयराम यादव नियुक्त भएका थिए । यादवले पनि उक्त पुरस्कार वितरणमा चासो दिएनन् । त्यसपछि पुनः २०७८ माघ २३ गते मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रालय विभाजन गरे । अहिले उक्त मन्त्रालय विभाजन भएर साहित्य तथा स्रष्टा सम्मानको जिम्मेवारी पर्यटन तथा संस्कृति मन्त्रालयमा पुगेको छ । मन्त्रालयको मन्त्रीको रुपमा खिनु लङ्वा लिम्बू रहेकी छिन् । उक्त मन्त्रालयले पनि कहिले पुरस्कार वितरण गर्छ भन्ने अझै टुंगो लगाउन सकेको छैन । 

पर्यटन तथा संस्कृति मन्त्रालयका प्रवक्ता भेषराज नेउपानेले चालू आर्थिक वर्षको सँगसँगै पुरस्कार वितरण गरिने बताए । ‘हामीलाई बजेट आइसकेको छ, उहाँहरुलाई हातहातमा गएर दिने कुरा भएन, एक औपचारिक समारोह गरेर पुरस्कार वितरण गर्छौं,’ नेउपानेले भने, ‘ढिला भयो, तर मन्त्रालयले त्यसका लागि आवश्यक तयारी गरिरहेका छौं ।’ यो आर्थिक वर्षको पुरस्कारका लागि छनौट समिति बनाउने पनि उनले बताए । तर, कहिले बनाउने भने अझै टुंगो नभएको उनको भनाइ छ । ‘पुरानो पुरस्कार वितरणका लागि भने हामीले टिप्पणी उठाएर मन्त्रीज्यूबाट स्वीकृति गराइसकेका छौं,’ उनले भने ।

यता, १ लाख रुपैयाँ राशिको ‘बालकृष्ण पोखरेल भाषा साहित्य कला सम्मान २०७८’ बाट सम्मानित गर्ने घोषण गरिएका विराटनगरका साहित्यकार ८२ वर्षीय बलराम पोखरेलले स्रष्टाहरूको अपमान गर्न खोजिएको जस्तो लागेको बताए । ‘मलाई दिने नदिनेसँग कुनै मतलब छैन, म ८२ वर्षको भएँ, धेरैले पुरस्कार तथा सम्मान पाउने भनेपछि बधाई पनि दिए, तर, अहिलेसम्म हात परेको छैन,’ पोखरेलले भने, ‘हाम्रो आत्मसम्मानमा ठेस नपुगेको भन्न मिल्दैन, धेरै खालका मान्छे परेपछि कसैले विरोध गर्यो कि के गर्यो मलाई थाहा छैन, तर जसले सिफारिस गर्यो उसले सिफारिस गरिसकेपछि १८ जना सबैको चित्तलाई घोच्ने गरी कार्यक्रम नै नगरी राखिदिएपछि एउटा बौद्धिक जगतले कुण्ठित सिर्जना हुने अवस्था सिर्जना भएको छ ।’ पोखरेलले ७० वर्ष नाघेका मानिसहरुलाई किन चिढ्याको होला भन्ने प्रश्न गर्दै प्रदेश सरकारले यसखालको काम गर्न नहुने बताए ।

कुन पुरस्कार कसलाई दिने भनिएको थियो ?
आर्थिक वर्ष २०७७/०७८ को अन्त्यमा सूचना जारी गरी सामाजिक विकास मन्त्रालयले आवेदनको माग गरेको थियो । उक्त माग बमोजिम परेको आवेदनलाई आधार बनाएर समितिले छनौट गर्दै मन्त्रीस्तरीय निर्णयबाट ‘बालकृष्ण पोखरेल भाषा साहित्य कला सम्मान २०७८’ बाट विराटनगरका साहित्यकार बलराम पोखरेललाई सम्मानित गर्ने भएको थियो । उक्त पुरस्कार राशी १ लाख रुपैयाँ रहेको छ । यस्तै ५० हजार राशीको प्रदेश भाषा साहित्य कला प्रतिभा सम्मानबाट लक्ष्मण नेवटीया (मोरङ), डमरुबल्लभ भण्डारी (सुनसरी), राम दियाली (इलाम), सरस्वती दुमी राई (पाँचथर), नविन राई (खोटाङ), माधव कल्पित (झापा), शंकर खरेल (मोरङ), प्रेम सुब्बा (सुनसरी), टीका चाम्लिङ (खोटाङ), भानुभक्त कुभिण्डेली (झापा), सत्यकला राई (खोटाङ) र मञ्जुश्री गिरी (मोरङ) सम्मानित हुने सार्वजनिक भएको थियो ।

यस्तै २५ हजार राशिको नवोदित भाषा साहित्य कला प्रतिभा पुरस्कार २०७८ बाट सञ्जिव धिमाल (मोरङ), रामभजन कामत (मोरङ), खगिन्द्रा निरौला ‘खुसी’ (झापा), कविता राई (भोजपुर) र सुरेश पोर्तेल (इलाम) पुरस्कृत हुने सूचनामा उल्लेख थियो । भानुजयन्तीको अवसर पारेर प्रत्येक वर्षको असार २९ गते वितरण हुने यि पुरस्कारहरू कोभिड–१९ का कारण पछि सरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप