आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्चका न्यायाधीशहरू भ्रमण र बिदामा, १० जनाको थाप्लोमा २३१ मुद्दा

बुधबार, १८ जेठ २०७९, १५ : १५
बुधबार, १८ जेठ २०७९

कोही न्यायाधीश भ्रमण त कोही बिदामा बस्दा बुधबार सर्वोच्च अदालतमा १० जना न्यायाधीशमात्रै सीमित भएका छन् । बुधबार २३१ थान मुद्दा पेसीमा चढ्दा सर्वोच्चमा दश जना न्यायाधीशमात्रै उपस्थित भएका छन् । 

प्रधानन्यायाधीशसहित कुल २१ जना न्यायाधीश रहने सर्वोच्च अदालतमा यतिबेला जम्मा १८ जना न्यायाधीश दैनिक कामकाजमा छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बनमा छन् भने न्यायाधीश मिरा खड्का र तेजबहादुर केसी उमेर हदका कारण अवकाशमा गइसकेका छन् । बाँकी १८ जना न्यायाधीशमध्ये आठ न्यायाधीश कोही विदेश भ्रमणमा छन् भने कोही अनुगमन र उद्घाटनमा । एक न्यायाधीश भने बिरामी परेका कारण आकस्मिक बिदामा छन् । 

सर्वोच्च अदालत प्रशासनका अनुसार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की जुम्लामा जिल्ला अदालतको भवन उद्घाटनका लागि पुगेका छन् । उनीहरू जिल्ला अदालतको उद्घाटनसँगै कर्णाली प्रदेशमा रहेको उच्च अदालत र मातहतका जिल्ला अदालतको अनुगमनका लागि समेत गएका हुन् । 

सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा उच्च अदालत पोखरा र मातहतका जिल्लाको अनुगमनका लागि यतिबेला पोखरामा छन् । उनी मातहतका जिल्लाको समेत भ्रमण गरेर फर्किने कार्यसूची तय भएको छ । 

न्यायाधीश आनन्दमोहन भट्टराई बिदामा अमेरिकामा छन् । उनी करिब डेढ महिना अमेरिकामै बस्नेछन् । 

न्यायाधीशत्रय सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल र नहकुल सुवेदी मालदिभ्समा भइरहेको एक सम्मेलनमा सहभागी भएका छन् । उनीहरू अर्को साता मात्रै नेपाल आउने कार्यक्रम छ । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडा भने बिरामी परेका कारण बुधबार आकस्मिक बिदामा छन् । 

२१ जना न्यायाधीशको दरबन्दी रहने सर्वोच्च अदालतमा हाल १८ जना न्यायाधीश कार्यरत रहेकामा ८ जना न्यायाधीश भ्रमण, अनुगमन र बिदाका कारण १० न्यायाधीश मात्रै उपस्थित छन् । बुधबार नियमित पेसी सूचीमा १० न्यायाधीशका लागि २३१ थान मुद्दाको पेसी तोकिएको छ ।

बुधबार सर्वोच्चमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, टंकबहादुर मोक्तान, डा. कुमार चुडाल, मनोजकुमार शर्मा, प्रकाश कुमार ढुङ्गाना, तिलप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ र कमार रेग्मी उपस्थित भएका छन् । 

वार्षिक बिदा सकिने भएको कारण पनि न्यायाधीशहरू चैत महिना लागेदेखि तीर्थयात्रा र भ्रमणमा निस्कने गरेका छन् । सामान्यतः जिल्ला अदालतहरूको भ्रमण र निरीक्षण मातहतका उच्च अदालतले गर्ने भए पनि सर्वोच्च अदालतबाट समेत न्यायाधीशहरू जिल्ला अदालतको अनुगमनमा निस्कने गरेका छन् । बिदा सकाउनका लागि प्रत्येक वर्ष सर्वोच्चका न्यायाधीशहरू, रारा ताल, ढोरपाटन, पोखरा, इलाम, पाथीभरा लगायतका जिल्लाको भ्रमणमा निस्कने गरेका छन् । 

सर्वोच्च अदालतमा अहिले पनि करिब २९ हजार ५ सय मुद्दा विचाराधीन अवस्थामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप