भोलि हुने निर्वाचनबारे आयो सरकारको यस्तो धारणा
काठमाडौं – सरकारले भोलि हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेको छ ।
गृह मन्त्रलयले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरी शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्षम रहेको उल्लेख गर्दै निर्धक्क भएर मतदानमा भाग लिन आम मतदातालाई आह्वान गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै गृह सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजदुत रहेको उल्लेख गर्दै ढुक्क भएर मतदानमा भाग लिन आम मतदातालाई आह्वान गरे । सरकारले मतदान स्थलमा कुनै पनि अप्रिय घटना हुन नदिने दृढता पनि व्यक्त गरेको छ । मतदान केन्द्र, मतपेटिका र मतदाताको सुरक्षा हुने गरी सुरक्षाको उचित प्रबन्ध गरिएको पनि सचिव सापकोटाले जानकारी दिए ।
सरकारले निर्वाचनमा अप्रिय घटना हुन नदिन गृह मन्त्रालयको नेतृत्वमा सुरक्षा निकायका सबै अंगहरु निर्वाचनमा परिचालन गरेको छ । गृह सचिव सापकोटाले मतदान स्थलमा कुनै अप्रिय घटना घटे तत्काल रेस्पोन्स गर्ने सुरक्षा टिम पनि परिचालन गरिएको बताए । सरकारले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैबाट सहयोग हुने विश्वास पनि व्यक्त गरेको छ ।