मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जिल्ला अस्पताल गुल्मीको स्वास्थ्य सूचना प्रणाली परिस्कृत

बिहीबार, १९ जेठ २०७९, ११ : ५४
बिहीबार, १९ जेठ २०७९

लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सूचना प्रणाली थप परिस्कृत बनाएको छ । अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी बिरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ ।

उक्त स्वास्थ्य सूचना प्रणाली स्तरवृद्धिमा स्वास्थ्य बीमा तथा डिएचआइएस–२ इन्टिग्रेसन गरी दुई महत्वपूर्ण विशेषता पनि कार्यान्वयन गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्ड प्रवद्र्धित स्वास्थ्य बीमामा आबद्व बिरामीहरुको इलिजिविलिटी अर्थात बाँकी बीमा सुविधा रकम हेने सकिने र बीमा दाबी पनि इएमआर सफ्टवेयर मार्फत डिजिटल रुपमै गर्न सकिने इन्टिग्रेटेड सिस्टम सुरु गरिएको छ । बिरामीको प्रत्येक बिल स्क्यान गरी अपलोड गर्नु नपर्ने गरी स्वास्थ्य सूचना प्रणालीबाट सिधै बिरामीको बिल अपलोड गर्न सकिने भएको अस्पतालले जनाएको छ । यसले गर्दा समयको बचत हुनुका साथै बिगतमा जस्तो तोकिएको समय सीमा भित्र बीमा दाबी गर्न नसक्दा अस्पतालले नोक्सान व्यहोर्नुपर्ने समस्या समाधान हुने विश्वास अस्पतालले लिएको छ ।

डिएचआइएस–२ इन्टिग्रेसनले अब अस्पताल सूचना प्रणालीलाई नेपाल सरकारको एचएमआइएस रिपोर्टिङ प्लेटफर्मसँग जोडेको जनाइएको छ । अस्पतालको मेडिकल रेकर्डरलाई अस्पतालको स्वास्थ्य सूचना प्रणाली मार्फत डिएचआइएस–२ प्लेटफर्ममा सिधै मासिक रिपोर्टहरु पठाउन सकिने अस्पतालको भनाइ छ ।

अस्पतालले बिरामीहरुको सहजतालाई मध्यनजर गर्दै अनलाइन अपोइन्टमेन्ट र पोर्टल सेवा पनि सुचारु गर्ने तयारी गरेको छ । यस मार्फत बिरामीहरुले अस्पतालमा कार्यरत आफूले चाहेको डाक्टरसँग मोबाइल वालेट मार्फत् घरमै बसेर अपोइन्टमेन्ट बुक गर्न र परामर्श शुल्क भूक्तानी गर्न सक्ने जनाइएको छ । यस अतिरिक्त बिरामीहरुले आफ्नो ल्याब टेस्ट रिपोर्टहरु पनि घरमै बसेर अनलाइनमार्फत् हेर्न सक्नेछन् । यी सेवाहरु गुल्मी अस्पताल, निक साइमन्स इन्टिच्यूट र अस्पतालहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) सफ्टवेयर सेवा प्रदान गरीरहेको कम्पनी कोजेन्ट हेल्थको सहकार्यमा सञ्चालन गरेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप