आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

समाजवादी कार्यक्रम वडा तहबाटै शुरु गर्छौँ : मुख्यमन्त्री पाण्डे
बिहीबार, १९ जेठ २०७९, १८ : २२
बिहीबार, १९ जेठ २०७९

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकले सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि प्रदेशसभाका ९ जना सदस्यहरुले संशोधन प्रस्ताव दर्ता गराएका थिए । जसमा नेकपा एमालेका तर्फबाट ७ जना, विवेकशील साझा पार्टीका १ जना र नेमकिपाका १ जनाले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

उनीहरुले सरकारको नीति तथा कार्यक्रमको १५ वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । संशोधन प्रस्ताव अस्वीकृत भएपछि प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

प्रदेशसभाको बिहीबार मात्र ३ वटा बैठक बसेर सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो । बिहान ८ बजे बसेको बैठकमा एमालेले अवरोध गरेपछि केही समय प्रदेशसभाको बैठक अवरुद्ध भएको थियो ।

सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बसेको प्रदेशसभाको बैठकमा एमालेका सांसदहरुले कार्यविधि मिचेर अनुदान कार्यक्रम आफ्नालाई दिन कर्मचारीलाई दवाव दिएको र आफू अनुकुल काम नगरेको भन्दै केही कर्मचारीलाई सरुवा गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका विरोध गरेपछि बैठक स्थगित भएको थियो ।

एमालेले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईं र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेको मिलेमतोमा कृषि अनुदान आफ्ना मान्छेलाई कार्यविधि विपरित नदिएको भन्दै मन्त्रालय र मातहतका कार्यालयका कर्मचारीहरुलाई दवाव दिएको तथा ३ जना कर्मचारीहरुको सरुवा समेत गरेको भन्दै विरोध गरेको थियो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा तत्काल सर्वदलीय बैठक बसेर सहमती भएपछि १० मिनेटका लागि स्थगित गरिएको प्रदेशसभाको बैठक करिव २ घण्टापछि बैठक पुनः संचालनमा आएको थियो ।

बैठक संचालनमा आएपछि प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बिहिबार बसेको बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका थिए ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि ३१ जना सांसदहरुले धारणा राखेका थिए । सांसदहरुले धारणा राखेपछि प्रदेशसभाकी उपसभामुख राधिका तामाङले प्रदेशसभाको पुनः एक घण्टाको लागि बैठक स्थगित गरेकी थिइन् ।

समाजवादी कार्यक्रम वडा तहबाटै शुरु गर्छौं : मुख्यमन्त्री पाण्डे

स्थगित भएको एक घण्टापछि बसेको बैठकमा  सरकारको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिएका थिए । सरकारको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले समाजवादी कार्यक्रम वडा तहबाटै शुरु गर्ने र सो कार्यक्रम आगामी दिनमा यो सबैले सम्झन लायक हुने बताए ।

विपक्षीहरुले समाजवादी कार्यक्रमको विरोध भन्दा पनि सुझाव दिन उनको आग्रह थियो । उनले विगतमा सीमान्तकृत समुदायको पक्षमा नीति तथा कार्यक्रम ल्याउन तत्कालिन सरकारले नसकेको भन्दै अहिलेको सरकारले सीमान्तकृत वर्गलाई लक्षित गरी नीति तथा कार्यक्रम ल्याएको बताए ।

उनले कर्मचारी अभावका कारण काम अघि बढाउन समस्या भएकाले बजेट खर्च गर्न नसकेको बताए । डिपिआर नभएका योजनामा बजेट विनियोजन गर्ने प्रवृत्तिका कारण पनि बजेट खर्च हुन नसकेको उनको भनाइ छ । 

उनले विगतको सरकारले गरेका गल्तिहरुलाई वर्तमान सरकारले सच्याउने काम गरेको बताए । मुख्यमन्त्री पाण्डेले विगतको सरकारले प्रतिपक्षले दिएको सुझावलाई समेत वेवास्ता गरेको र त्यसको नतिजा अहिले जनताले व्यहोर्नु परेको बताए ।

उनले नीति तथा कार्यक्रममा प्रतिपक्ष दल र सांसदहरुले दिएका रचनात्मक सुझावहरूलाई आगामी दिनमा समेटेर बजेटमा समावेश गर्ने बताए । सरकारको नीति तथा कार्यक्रम पारित भए लगत्तै प्रदेशसभाका सभामुख श्रेष्ठले प्रदेशसभाको अर्को बैठक जेठ ३१ गते दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका छन् । उक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव पेश हुने जनाइको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप