आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

के तपाईंका छोराछोरीको आँखा डेढो छ ?

होसियार ! हुन सक्छ रेटिनोब्लास्टो क्यान्सर
शनिबार, २१ जेठ २०७९, १० : २०
शनिबार, २१ जेठ २०७९

नवजात शिशुदेखि पाँच वर्ष सम्मका बालबालिकाको आँखा डेढो भएमा कालो भागको बीच भागमा सेतो भएकाहरुलाई नेपाली समाजमा ‘भाग्यमानी’ भन्ने चलन छ । तर डेढो आँखाकै आधारमा भाग्यमानी भन्दै बस्दा उनीलाई रेटिनोब्लास्टो अर्थात् आँखाको क्यान्सर हुन सक्ने आँखा रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकार बताउँछिन् ।

धेरै अभिभावकहरुले आफ्ना बालबालिकामा रेटिनोब्लास्टोका लक्षण भएको हत्तपत्त थाहा नपाउने भएकोले उनीहरूलाई अस्पताल पुर्‍याउँदा जटिल अवस्थामा पुगिसकेको हुने डा. राजकर्णिकारको भनाइ छ ।

१५ हजार नवजात शिशुको जन्ममा एक जनामा रेटिनोब्लास्टो क्यान्सर हुने अध्ययनहरूले देखाएको छ । डा.राजकर्णिकारका अनुसार यो रोगले बालबालिकामा हुने सम्पूर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ । बालबालिकाको एक वा दुवै आँखाको भित्री पर्दा (रेटिना) बाट पलाउने क्यान्सर रेटिनोब्लास्टो हो ।

नेपाललगायत विकासोन्मुख देशहरूमा बालबालिकाको आँखामा हुने क्यान्सर अर्थात् रेटिनोब्लास्टो रोगबाट हुने मृत्युदर  ५० प्रतिशत सम्म छ । यद्यपि विकसित देशहरूमा भने रेटिनोब्लास्टो रोगबाट ५ प्रतिशत भन्दा कम मृत्यु दर रहेको अध्ययनहरूले देखाएको छ ।

डा. राजकर्णिकारका अनुसार आँखा डेढो हुनुका साथै आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु यो रोगको मुख्य लक्षण हो । यसका साथै रंगीन फोटोमा आँखाको नानी सेतो टीका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्नु, दृष्टि कम हुनु,  आँखाको आकार ठूलो हुँदै जानु र बाहिर तिर आउनु यसका अन्य लक्षण हुन ।

बालबालिकाको आँखामा यस्ता लक्षण देखिएपनि उनीहरू स्वस्थ नै देखिन्छन्, जसका कारण अभिभावकलाई यस विषयमा थाहा नहुँदा पछि ढिलो भइसकेको हुन्छ । समयमा उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रूपमा बढिरहन सक्ने डा. राजकर्णिकारको भनाइ छ ।

यो क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरीरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यानसम्म जाने जोखिम हुन्छ । डा.राजकर्णिकार भन्छिन्, ‘कतिपयले आफ्नो बच्चाको रोग लुकाउन अस्पताल जानमा ढिलाइ समेत गर्छन् । यसले झनै समस्या पार्छ ।’

यस्तै, रेटिनोब्लास्टो रोग लागेका बालबालिकाहरुमध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिने गर्छ । दुवै आँखामा रेटिनोब्लास्टो देखा परेमा यो रोग वंशाणुगत पनि हुन सक्छ । त्यसैले, बिरामीका परिवारको अन्य सदस्यको पनि आँखा जाँच गराउन अति आवश्यक छ । यस्तै, यस्तो अवस्थामा शरीरका अन्य भागमा पनि क्यान्सर देखिने सम्भावना धेरै हुने आँखा रोग विशेषज्ञहरूको भनाइ छ ।

एक अनुसन्धानमा आँखासहित आँखा वरपरका हड्डीसमेत निकालिने जटिल शल्यक्रियाको प्रमुख कारणमध्ये ३२.१ प्रतिशत रेटिनोब्लास्टोमा भएको पाइएको छ । डा. राजकर्णिकारका अनुसार यसको उपचारको लागि लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी, थरमोथेरापी क्रयथेरापी र रेडियोथेरापी प्रमुख उपचार पद्धति हो ।

रेटिनोब्लास्टो जटिल रोग भए ता पनि रोगको लक्षण बुझी सुरुवाती अवस्थामा नै विशेषज्ञकहाँ गई रोग पत्ता लगाइ उपचार गरेमा पूर्ण रूपमा निको पार्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप