मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काव्योपासन

शनिबार, २१ जेठ २०७९, १३ : ०९
शनिबार, २१ जेठ २०७९

१.
आहा ! सुन्दर शारदा सतहमा, मुस्कानमा आउनु
पुष्पा पुष्पित वासना मगमगी उद्यानमा छाउनु 
श्रेया पावन कोइली कुतुहला वाणी खुली गाउनु
प्रेमी बादल हर्षभित्र मनमा छन् चित्र रङ्ग्याउनु ।

२.
ताजा मौलिक मान्यता अचमका सौन्दर्यमा मादल
घन्कन्छन्, नव यौवना नयनमा काला थपी गाजल
छन् गाढा अभिसिक्त प्रेम महिमा छर्केर गङ्गाजल
ज्योत्स्ना जागृत छन् मुहार मनमा सम्भावना मल्मल ।
३.
उत्साही अनुवांशिकी किरणमा हीरा र मोती बनी
फक्रेका शुभभावना हृदयमा उत्कृष्ट छन् जीवनी
मन्त्रोच्चारण वेदका अमर छन्, शोभा छ हर्षान्वित
मस्केका कवि कल्पनासित बसे, सद्भाव लाभान्वित ।

४.
चोखा अक्षर यानमा समयको उत्साहमा आउँदा 
बोकेका ध्रुव सत्य छन् अचमले ज्ञानी, धनी पाउँदा 
सङ्ला उन्नत चेतना लहरमा बाढी बनी पस्दछन्
काव्योपासनमा पवित्र गरिमा उल्लासले लस्त छन् ।

५.
सौजन्यामृत चाखिने, मृदुलता भर्ने भकारी भरी
राष्ट्रोत्थान छ ध्यानमा अचमको, माधुर्यको चाकरी 
जोडी मस्त, मुहार स्वच्छ सजिला उड्छन् गरी चिर्बिर
ध्यानावस्थित चाखमा विहग छन्, झण्डा उडे फिर्फिर ।

६.
बग्ने सल्ल उमङ्ग, रङ्ग सरिता आमोदमा सल्सल
इच्छापूर्ण गराउने विनोद छन्, झन् मङ्गलै मङ्गल 
फुल्ने पुष्प हजार, लाख थरका बास्ना छरी जङ्गल 
उत्साही मनकामना रसवती हाँस्दै बसिन् झल्मल ।

७.
स्रष्टा सिर्जनशील शक्ति क्षमता औकात संयुक्त छन् ।
सादा जीवन, सोच उच्च, रचना सन्देश उन्मुक्त छन् 
पढ्ने पाठक केन्द्रमा छ विनयी, श्रद्धा रसोद्घाटन 
हो यो प्राकृत प्रेम दिव्य कविको, हल्लिन्छ इन्द्रासन ।

८.
स्वेच्छा स्वप्निल वन्दना हजुरको गर्दैछ झुक्दै कवि
सच्चा सेवक भावना सहृदयी बन्ने गरोस् यो छवि 
काव्योपासन नित्य कर्म कविको जान्दै नजाने पनि
सेवामा जनको समर्पित बनोस् भन्ने भयो जीवनी ।

९.
फल्दा झैँ अब कल्पवृक्ष रसिला खोज्दा मिलेका फल 
रेखाचित्र बनाउँदा रहरले आफैँ बने झल्मल
डाकेको पलमा सुवासित हुँदै आसाममा आउँला
चाहेको शुभ मन्त्रणा रसिकतामा गीत घन्काउँला ।

१०.
झुक्दै पावन प्रेममा हजुरले बत्ती म बाल्ने गरूँ
स्वेच्छामा शुभ भावना सरलता, उत्साह सक्दा भरूँ
होस् काव्योचित प्रार्थना अचमको सन्देश  स्वाभाविक 
ल्याएको मनकामना कलशमा होस् काम मर्यादित ।

११.
आयो बादल पूर्वबाट किन हो सन्देश केके लिई
वर्षा गर्दछ प्रेमसिक्त रसको आरम्भमा गर्जिई
गर्जेको बिजुली छरी भुवनमा सौन्दर्यको माधुरी
पाएँ उत्तम रत्न लाग्छ सुकिली, चाका सँगै माहुरी ।

१२.
आओस् चित्र सफा विचित्र मनका शृङ्गार हेर्दै रचूँ
सक्दासम्म सधैँ सबै जन मिले हाँसी बचाई बचूँ
आहा सौम्य मुहारकी भगवती ढोग्दै छु दुर्गा भनी
लेख्ने कागजमा छ प्रेम सुकिलो, बिन्दास यो जीवनी ।

१३.
देख्दा सुन्दरता समग्र मनमा वाचाल बोल्ने कला 
सेवा सुस्मित चाहना हजुरको सुन्ने छ इच्छा गला 
गाना गुञ्जन प्रेमको हुन गयो, इच्छा उदाए नयाँ 
भन्छ्यौ के भन लौ, मिलाउन छ है खै भेटको योजना ।

१४.
गल्ती छैन कदापि सुन्दर कला कल्लोल उन्मादमा
आएकी वसुधा मुहार हँसिली बस्छ्यौ सदा यादमा
सौजन्योचित शृङ्खला गजबका सौन्दर्य पाएँ घना
कैले भेट कहाँ हुनेछ भनियोस् होस् लौ समालोचना ।

१५.
कसले गर्दछ वाचना अचमका छन् शब्दमा अर्थ के ?
लीलायुक्त सफा उदाहरणमा हो लेख्न नै व्यर्थ के ?
आज्ञा बक्सनु होस् खुला हजुरले गर्ने भएँ पालन 
आँखाभित्र म राख्छु दीप्त प्रतिभा, सौभाग्य सञ्चालन ।

१६.
आत्माको अनुरोधमा सरल होस्, खै भेटको योजना 
गर्ने आपसमा विमर्श सुकिलो होस् लौ समालोचना
गीता ज्ञान फिँजाइने सरल होस् तात्पर्य झन् मार्मिक 
गाढा ध्यान पसोस् खुला हृदयमा सन्तोष होस् धार्मिक ।

१७.
पढ्दा अक्षर एक एक सबमा आफ्नै भयो दर्शन 
इच्छाले म स्वयं उदार मनले आफ्नै गरेँ वर्णन
जस्तो लाग्दछ शब्द, शब्द शुचिता उत्कृष्ट सम्मोहन 
आफैँ दङ्ग बनेर चिम्लन पुगेँ उत्साहमा लोचन ।

१८.
गर्दा पूजन आत्मबाट सुकिलो उत्पन्न प्रज्ञा नव
देखेँ उत्तम प्रेमकुण्ड सुकिलो गाला बनेको तब 
उत्साही मनकामना उभयमा उम्दा जमेका पल
लेखेँ सौम्य कथा मुहार जसरी बन्दै गयो झल्ल ।

१९.
छन् सञ्चारित कामना अचमका औचित्य मिल्ने सब 
सोचेझैँ सुखका मुना लहरिए पूजा छु गर्दै नव
हाँस्छिन् मौलिक चाहना अचमको पाएर थाहा परी
खोल्छिन् बात उमङ्गका गजबले उड्दै रहेकी चरी ।

२०.
बोल्छिन् बात सफा खुला हृदयले आँखा गरी झिम्झिम 
चल्ने मात भुलाउने अचमको पानी छ जो सिम्सिम 
दानी मानव कल्पना सहजमा पार्ने कला पारखी
आऊ बन्न उपाय साथ सजिलो यो काव्यमा सारथि ।
(शार्दूलविक्रीडित छन्द)

मनमैंजु, काठमाडौँ  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप