मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्यारी छोरी, समाजका दैत्यहरूको संहार गर्न काली बन्नू

शनिबार, २१ जेठ २०७९, १३ : २१
शनिबार, २१ जेठ २०७९

प्यारी छोरी, सफलताको शिखर चुम्दै जाऊ । तिम्रा लागि यही देशमा हजारौँ अवसरका ढोकाहरू खुला छन् । पल, पलका चुनौतीलाई चिर्दै, समस्यालाई पन्छाउँदै प्रगति पथमा लम्कदै आऊ । तिम्री आमाको कोटी कोटी आशीर्वाद पल पलमा जीवन्त बनिरहने छ । हाम्रो समाजमा नारीहरू, हिंस्रक पुरुषको त के कुरा गरौँ, आफ्नै घर परिवारका यौनपिपासु सदस्यहरूबाट समेत असुरक्षित छन् । 

नेपाल प्रहरीका अनुसार यो आर्थिक वर्षमा जबरजस्ती करणी उद्योग, बाल यौनदुराचार लगायत यौन हिंसा गरी ३ हजार ५ सय ८४ घटना दर्ता भएका छन् । प्रत्येक दिन औसतमा ६ जना महिला तथा किशोरी बलात्कृत हुने गरेको देखिन्छ  । दैनिक ३ जनामाथि बलात्कार प्रयास हुन्छ । नारीले यो समाजमा आत्मसम्मान साथ बाँच्न निकै सङ्घर्ष गर्नुपर्दछ । सफलताका सिढी उक्लिन पनि त्यति नै कठिन जंघारहरू पार गर्नु पर्दछ । मलाई दृढ विश्वास छ । मेरी छोरी हटेर होइन, डटेर समाजका दुर्व्यवहारका पर्खाललाई भत्काउँदै अघि बढ्न सक्छ्यौ ।

छोरी, तिमी सबै कुरा बुझ्ने र समाजलाई चिन्ने भइसक्यौँ । तिमीलाई थाहै छ, हाम्रो समाज विविधता बीचको एकतामा सजिएको छ । अनेकन जातजाति, भाषाभाषी, रहनसहन, धर्म, संस्कार र संस्कृतिले आ–आफ्नै पहिचान बोकेका छन् । पितृसत्ता हाबी भएको मेरो समाजमा जातिगत आधारमा कतै मातृसत्ता पनि हाबी भएको देखिन्छ । ब्राह्मण र क्षेत्रीमा महिलाहरूको भन्दा  घरपरिवारमा पुरुषको निर्णय हाबी हुन्छ । तर, यही समाजमा आदिवासी जनजातिहरूहरूमा पुरुषभन्दा महिलाको निर्णय हाबी हुन्छ । 

देशमा व्याप्त बेरोजगारीका कारण हरेक वर्ष युवाशक्ति खाडी मुलुकमा पसिना बगाउन बाध्य छन् । हजारौँ स्वर्णिम सपना बोकेर उडेका युवाहरू बन्द बाकसमा हजारौँ सपनालाई कुल्चिदै लाशसँगै तिलान्जली दिएर फर्किन्छन् । 

देशमा भित्रिएको रेमिट्यान्स पनि अनुत्पादन क्षेत्रमा खर्चिएको छ । देशको अथाह स्रोत र साधनको सही सदुपयोग गरी नेपाली आमाको मुहार हँसाउन तिमी जस्ता निडर, बहादुर युवाशक्तिहरूको खाँचो छ । जसको बुद्धिको प्रयोगले खाडी मुलुकमा पुगेका हजारौँ युवाशक्तिलाई आफ्नै भूमिलाई उर्वर पार्न फर्काउनु छ । देशमा खेर गइरहेको श्रम शक्तिलाई विदेश जानबाट रोकी यही माटोमा सुन फुलाउनु छ । 

छोरी, मैले तिमीलाई यति भनी रहँदा समाजको नकारात्मक पाटोको असरले कहिल्यै पनि कर्तव्य पथबाट विचलित नहुनु  । हजारौँ बाधा अड्चन आउन सक्छन् । तिम्रो प्रगति नचाहनेहरूले हरेक पाइला पाइलामा दुःख दिन सक्छन् । तिमी हजारौँ राम्रो काम गर, तिम्रो एउटा नराम्रो काम  खोजी तिमीलाई तल पार्न बाधक भएर रहेका हुन्छन् । चाहे त्यो शारीरिक, मानसिक तनाव किन नहोस् । अझै पनि महिलालाई हेर्ने दृष्टिकोणमा सकारात्मक किरण आउन सकिरहेको छैन । 

केही यस्ता पनि पात्र यही समाजमा व्याप्त छन्, जसको काम छैन, फुर्सदै फुर्सद छ  । अनि अरुलाई होच्याउने, तल झार्ने, हँसी मजाकमा उडाउने । उदाहरणको रुपमा नबोलीकन आफ्नै काम धन्दामा तल्लीन रहेमा फलानी त कति ठूली भएकी छ, बोल्न पनि गाह्रो होला जस्तै गरी निकै काम गर्ने भएकी छे ।  हो त नि सारै, हिजो आज त बोल्न पनि छोडी । 

कहिलेकाहीँ साथीहरूसँग दिल खोलेर बोलेमा कति उत्ताउली भएकी, जोसँग पनि हाँसेर बोल्दै हिँड्छे भन्ने उपमा पाउँछे । सफा भएर लुगा मिलाएर लगाउँदा उसले त निकै फुर्ती लाउँछे, लुगाको धाक देखाउँछे । दिनका दिन लुगा फेरेर आउँछे हेर त भन्दै कुरा काट्छन् । सादा पोशाकमा आउँदा कति पुरानो लुगा लगाएर आएकी । कार्यालयमा आफ्नै काममा  तल्लीन हुँदा, हेर कति काम गर्ने भएकी पुरस्कार पाउने जस्तै सुनकै तक्मा लगाउने जस्तै । यस्ता पर्दा पछाडि टिका टिप्पणी हुन्छ । 

यसरी सानातिना यावत विषयहरू मन्द विषजस्तै बनेर प्रगति पथमा तगारो बनिरहेका हुन्छन् । आखिर के गरेर  राम्रो मान्ने हो समाजले, थाहा छैन । यौनपिपासु खुलेआम डुक्रिरहेका हुन्छन् । न्यायालयको आभास पीडितले पाउन सक्दैन ।

मेरी छोरी, तिमी कति पनि बिचल्ली नहुनु । लगाउनेहरूले त बिनसित्ति अनेक लाञ्छना लगाउँछन् । एक्लै हिँड्दा, राती अलि अबेर घर फर्किदा, केटा साथीहरूसँग हिँड्दा समेत कस्ती रहेछ छोरी भएर केटा जस्तो निस्फिक्री  भएर हिँड्ने ? हैन हो तिम्री छोरी त राती राती घर आउँछे । कुरा गर्न सुरु हुन्छ । तर, छोरी तिमी कुरौटे संस्कारका पछाडि कत्ति पनि कहिल्यै ध्यान नदिनु । आफ्नो आत्मविश्वास र दृढतामा लागिरहनु । आफ्नो प्रगति पथमा हिँडिरहनु । निडर, साहसी, कर्मठ सफल महिला बनेर आफ्नो नाम सदा स्वर्णिम अक्षरले इतिहासमा लेखाउने कामका लागि तल्लीन हुनु । जीवनमा कहिल्यै हार खाने काम नगर्नु । काममा निरन्तरता, साहस र प्रतिबद्ध रहिरहनु । समाजको मन्द विषहरू तिम्रो प्रगतिको बाधक नबनोस् तिम्रो आमाको सदा सदा आशीर्वाद छ । 

छोरी, तिमी प्रगतिको उचाइ सधैँ बढाइरहनु । आफ्नो मनलाई आनन्दित हुने, सत्य, इमान्दारिता, कर्तव्यनिष्ठा, नैतिकता, इमान्दारितालाई कहिल्यै पनि नभुल्नु  । तिम्री आमाले दिएको संस्कार अरुलाई मान सम्मान गर्नु, प्राणी जगतको भलो हुने कर्म गर्नु । शिस्टाचार, इमान्दारिता र नैतिकता नभुल्नु । कसैलाई पनि नराम्रो नसोच्नु, अरुलाई चित्त दुखाउने काम कहिल्यै नगर्नु । दुःखमा नआत्तिनु । 

पीडितले न्यायका लागि बोल्न खोज्दा सामाजिक र न्यायिक संरचनाले साथ दिँदैन । तिमी सदा न्यायको ज्योति ल्याउन लागिरहनु, जहाँ नारीहरूले आत्मसम्मानका साथ बाँच्न पाउने अधिकारबाट वञ्चित हुन नपरोस् । अन्यायको पर्खाललाई भत्काउन तिमी सदा दुर्गा बनिरहनु । समाजका दैत्यहरूको संहार गर्न काली पनि हुनु । विषालु संस्कारलाई लात हानेर सफलताको उचाइ थप्दै जानु । तिम्रो सफलता स्वर्णिम अक्षरमा लेखिएको हेर्न चाहने तिम्री आमाको सन्देशमूलक पत्र यही विट मार्न चाहन्छु । 

लेखक मानव अधिकारकर्मी हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप